भरतपुर, २० माघ ।
नारायणी नमुना माध्यमिक विद्यालय भरतपुरमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीलाई बालपत्रिका मुना उपलब्ध गराइएको छ । भरतपुरस्थित एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसेसका रिजनल म्यानेजर किरण पौडेल नरहरिको जन्मदिनका अवसरमा विद्यार्थीहरुलाई मुना उपलब्ध गराइएको छ ।

विद्यार्थीहरूमा पढ्ने बानीको विकास गर्न मुनालगायतका पत्रिका उपयोगी हुने देखेर मुना वितरण गर्ने सोच बनाएको पौडेलले बताउनुभयो । `म पनि यहि स्कुलको विद्यार्थी हुँ, कक्षा १ देखि १० सम्म यहीँ पढेको हुँ । २०५१ सालमा यहीँबाट एसएलसी पनि पास गरेँ´, पौडेलले भन्नुभयो – `म आफू पनि सानो छँदा मुना पढ्थेँ, अहिले यो पत्रिका तपाईंहरुको लागि उपयोगी हुने उद्देश्यले उपलब्ध गराएको हुँ ।´
सम्पूर्ण किताब नारायणगढले विद्यार्थीहरूलाई अध्ययनशील बनाउन विभिन्न व्यक्तिका जन्मदिन तथा अन्य विशेष समारोहमा मुना, युवामञ्च, मधुपर्कलगायतका पत्रिका, किताब वितरण गर्दै आइरहेको छ । त्यसैगरी एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसेस र अङ्कुरम् एकेडेमीसँगको सहकार्यमा `म पनि पढ्छु´ कार्यक्रम सञ्चालन गरिरहेको छ ।
मुना वितरण कार्यक्रममा सहभागी हुनुभएका पत्रकार विनोदबाबु रिजालले मुनालगायतका पत्रपत्रिका विद्यार्थीका लागि उपयोगी हुने बताउनुभयो । `मुनालगायतका पत्रपत्रिका नियमितरूपमा पढ्ने बानी बसाल्दा सबैखाले परीक्षामा आफूलाई सहज तरिकाले प्रस्तुत गराउन सकिन्छ । पढ्ने बानीले सहज जीवनयापन गर्न सकिन्छ´, रिजालले भन्नुभयो ।
त्यसैगरी पठन संस्कृति प्रबर्द्धनका अभियन्ता लेखराम सापकोटाले अतिरिक्त किताब पढेर विद्यार्थीलाई सिर्जनशील बन्न आग्रह गर्नुभयो । विद्यार्थीको माझमा बसेर मुना वितरण गर्दै जन्मदिन मनाउन पाउँदा खुसी लागेको प्रतिक्रिया दिँदै पौडेलले भन्नुभयो – `एक्सपर्टले विद्यार्थीहरूको शैक्षिक उन्नयनका लागि आगामी दिनमा पनि थप रचनात्मक कामहरु गर्दै जानेछ ।´





