चितवन, २० माघ ।
भरतपुर अस्पतालले क्युआर कोडबाट रिपोर्ट हेर्न र प्रिन्ट गर्न सकिने व्यवस्था सुरु गरेको छ ।
बिरामीको सहजताका लागि अस्पतालले क्युआर कोडबाट रिपोर्ट हेर्न र प्रिन्ट गर्न सकिने व्यवस्था गत बुधबारदेखि सुरु गरेको हो । विभिन्न रोगको नमूना परीक्षण गर्न दिएका बिरामीले आफ्नो रिपोर्ट क्युआर कोडबाट हेर्न सक्ने अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट प्राडा कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
अस्पतालले क्युआर कोड स्क्यान गरी रिपोर्ट प्रिन्ट गर्न मिल्ने एक वटा मेसिन पनि राखेको छ । स्मार्ट फोन प्रयोगकर्ताले आफ्नो मोबाइलबाट स्क्यान गरेर पनि रिपोर्ट हेर्न सक्ने उनले बताए ।
मेसु पौडेलले भने, ‘ल्याबको बिलिङ गर्दा क्युआर कोडसँगै आउँछ । पहिले बार कोड थियो । यो कोर्ड स्क्यान गरेपछि मोबाइलमा पनि हेर्न सकिन्छ र, अस्पतालमा भएको मेसिनबाट रिपोर्ट लिन सकिन्छ ।’
यो व्यवस्था लागू भएपछि अस्पतालमा बिरामीको भीडभाड कम हुने उनको अपेक्षा छ । अस्पताललाई विस्तारै पेपरलेस बनाउनका लागि पनि यो सेवा सुरु गरिएको उनले बताए ।
भरतपुर अस्पतालमा हाल दैनिक करिब दुई हजार बिरामीले ओपिडी सेवा लिने गर्छन् । सार्वजनिक बिदाका दिन पनि अस्पतालले ओपिडी सेवालाई निरन्तरता दिने गरेको छ ।





