‘दर्ज्यु संलाप’ कुमारी लामाद्वारा संरचित निबन्धसंग्रह हो । धादिङको धुनिवेसी नगरपालिका अन्तर्गत पर्ने खोकेकामीटारमा जन्मेर काठमाडौँलाई कर्मथलो बनाउँदै आएकी कुमारी लामा त्रिभुवन विश्वविद्यालय अन्तर्गत पद्मकन्या क्याम्पसमा अंग्र्रेजी विषय प्राध्यापन गर्छिन् । यसका अलावा उनी विभिन्न साहित्यिक संघसंस्थाहरूमा सम्बन्धित रहेर गहन भूमिका निर्वाह गर्ने व्यक्तित्व पनि हुन् । समालोचना र निबन्ध विधामा कलम चलाउने उनका तीनओटा कृतिहरू प्रकाशित छन् ।
साठीको दशकको शुरुवातबाटै विभिन्न पत्रपत्रिकाका माध्यमबाट निबन्धका क्षेत्रमा देखा परेकी लामाले वि सं २०७१ मा उज्यालो अन्धकार निबन्धसंग्रह प्रकाशन गरेकी थिइन् । दर्ज्यु संलाप (२०८१) उनको दोस्रो निबन्धसंग्रह हो । दुखी, गरिव र पछाडि परेको वर्गको हकहितको संरक्षणका निम्ति कलम चलाउँदै आएकी लामाको यस कृतिमा स्वजातीय अस्तित्वबोध गर्दै जातीय पहिचानका निम्ति आवाज बुलन्द गरिएको छ ।
उनका निबन्धहरूले मानवताको पक्षपोषण गरेका छन् । उनले समाजमा देखिएको विभेदलाई औँल्याउँदै त्यसका विरुद्धमा प्रतिरोधी स्वर उरालेकी छन् । पर्यावरण सम्बन्धी चेतना ,स्थानीयतातर्फको पक्षधरता ,प्राचीनताप्रतिको मोह भेटिने उनका निबन्धहरू विद्रोहचेतनाले भरिपूर्ण छन् । उनका निबन्धहरूले वर्तमान समयको स्वरलाई मुखरित गरेका छन् । यसका साथसाथै यस कृतिका निबन्धहरूमा मानवीय जीवनका विविध पक्षहरूलाई समेटिएको छ । यो आलेख ‘दर्ज्यु संलाप’ कृतिमा देखिने जीवनबोध र जीवनसम्बन्धी चिन्तनमा केन्द्रित रहने छ ।
दर्ज्यु भनेको झण्डा हो ,संलाप भनेको कुराकानी । झण्डा कुनै निश्चित समुदायको अस्तित्व अथवा गौरवको प्रतीक हो । दर्ज्यु तामाङ समुदायको एक सांस्कृतिक विम्ब हो ।यसले स्वजातीय अस्तित्वको हुङ्कार गरेको छ । समग्रमा दज्र्यु संलाप भन्नाले झण्डसँगको कुराकानी भन्ने बुझिन्छ । कलमका माध्यमबाट जातीय पहिचानको लडाईँमा होमिएकी लामाले यस कृतिको नाम ‘दज्र्यु संलाप’ जुराउनु सान्दर्भिक देखिन्छ । समग्र कृति तामाङ समुदायको सेरोफेरोमा घुमेको छ । उनले परम्परादेखि थिचिँदै र मिचिँदै आएको तामाङ समुदायको अस्तित्वरक्षाका निम्ति विद्रोहको आगो ओकलेकी छन् । यसैले यस कृतिको शीर्षक सार्थक देखिन्छ यस कृतिका निबन्धहरूमा लेखकले जीवनजगत्सम्बन्धी निजात्मक अनुभूतिहरू ओकलेकी छन् ।
सुख/दुःख केवल अनुभूति
उनका विचारमा मान्छेको जीवनको उद्देश्य सुख प्राप्ति हुन्छ । मानिस सुखमात्र भोग्न चाहन्छ । ऊ दुःखबाट टाढा नै रहन खोज्छ। तर मानिसको जीवनमा दुःखको ठूलो महत्त्व रहेको हुन्छ । दुःखले मानिसलाई धेरै कुरा सिकाउँछ । दुःख नै दुःखको अग्निमा खारिएको मानिस सही अर्थमा मानिस हुन्छ । बरू सुखले मानिसलाई बिगार्छ । सुखमात्र भोगेको मानिस अपूर्ण र अव्यावहारिक हुन्छ । दुःख र सुख मानव जीवनका दुई पाटा हुन् भन्ने कुरालाई आत्मसात गर्दै जीवनमा आइपर्ने दुःखलाई पनि सहज रूपमा स्वीकार गर्नुपर्छ भन्ने लेखकको विचार छ । उनी भन्छिन् “दुःखले चेत खुलाउँछ ,सुखले केवल तृष्णाद्वार” (घराख्यानःपृष्ठ २९) ।
उनी भन्छिन्, “सुख दुःख भन्नु पनि हेराइ वा दृष्टिकोण मात्र रहेछ । एउटै विषय वा परिस्थितिलाई कसैले सुखका रूपमा लिन्छन् भने कसैले दुःखका रूपमा । त्यसैले सुख दुःख भन्ने पनि आफ्नो मनमै निर्भर रहन्छ । मान्नेले मानिदिए पो दुःख, नत्र कहाँ टिक्छ त्यसको पाइन ? केवल शब्दकोशलाई भारी । कटेराको बास छ, कमजोर ज्यान र धर्मरिँदो खुट्टो छ र पनि दुःख लाग्दैन उनलाई । कत्रो साहस ! दुःख पीडाको छिटासम्मले नछोएका सग्ला शरीरहरू यहाँ कोकोहोलो गर्छन् ।” (दर्ज्यु संलाप पृष्ठ ३३ःघराख्यान)
त्यतिमात्र होइन एउटै व्यक्ति वा स्थान कसैका निम्ति घृणाको वस्तु वा पात्र बन्छ भने कसैका निम्ति श्रद्धा ,आस्था र प्रेमको वस्तु वा पात्र बन्छ । काठमाडौँ उपत्यकालाई विदेशीहरूले साँघुरा बाटा भएको एउटा फोहोर ठाउँका रूपमा लिन्छन् तर लेखकका निम्ति त्यो ठाउँ विशेष बन्छ । यसरी हेर्दा मान्छेको हेराइले नै संसारको स्वरूप निर्धारण गर्दोरहेछ । उनी भन्छिन् ,”आ–आफ्नो हेराइ र परिस्थितिअनुसार कति फरक बनिदिने रहेछ । विदेशीहरूको नजरमा फोहोर र साँघुरो देखिने यहाँका बाटा मेरानिम्ति भने निकै चौडा र शानदार थिए ।” (ऐ. पृ ३७ को लिग्राम संवाद)
मानवीय स्वभाव
मान्छेको प्रवृत्ति पनि अचम्मको हुन्छ । मानिस आफूसँग रहेको महत्त्वपूर्ण कुरालाई अनदेखा गर्छ र त्योभन्दा कमसल कुराको निम्ति दौडिरहन्छ । मानिस अरूको साथ खोज्छ तर साथमा कोही भए ऊबाट स्वतन्त्र हुन खोज्छ । अझ भनौँ समीप भएको मान्छेको बैगुनमात्र देख्छ मान्छे । मान्छेलाई आफन्तको सकारात्मक पक्ष देख्न ऊबाट टाढा हुनैपर्ने रहेछ । जब ऊ आफ्नो साथबाट छुटिसक्छ अनि मात्र मान्छेले आफन्तका राम्रा गुणहरूलाई झल्झल सम्झिरहन्छ । आमा साथमा हुँदा झर्को मानिरहेकी लेखक आमा जानेवित्तिकै उनलाई एकाकीपनले गाँज्न थाल्छ ।
जीवनकालभरि नानदिदीका सुख दुःखमा साथ दिन नसकेकी लेखक उनी सधैँका निम्ति यो संसारलाई छोडेर गएपछि पश्चात्तापको आगोमा जल्न पुग्छिन् । उनी भन्छिन्, “हातबाट छुटिसकेपछि मात्र अनमोल लाग्नेरहेछ समय, नफर्किने गरी गएपछि मात्र महत्त्वपूर्ण लाग्ने रहेछन् सम्बन्धहरू । प्यारो लाग्ने रहेछन् नजिकका आफन्तहरू ।” (ऐ. पृष२०७ःभुईँ कुहिरो र कान्छी तामाङको एक्लो यात्रा )
जीवनको क्षणिकता
लेखकले जीवनको क्षणभङ्गुरतालाई गहिरोसँग बोध गरेकी छन् । हिजोसम्म हट्टाकट्टा जस्तो लाग्ने नानदिदीको शरीर अस्पतालको शैयामा लडिरहेको देख्दा उनलाई यस्तो महसुस भएको हो । “अचानकै फुस्किजाने श्वासको लय पछ्याउनुपर्ने मान्छेको जिन्दगी उखुमै त के रहेछ र ! लय छुट्यो कि खत्तम लाने नै पो के रहेछ र मान्छेले आफ्नो साथमा !” (दज्र्यु संलापः२०१, भुईँ कुहिरो र कान्छी तामाङको एक्लो यात्रा)
यही जीवनको क्षणभंगुरतालाई आत्मसात गर्दै चार्वाकले भोलिको पर्वाह नगरी जिन्दगीलाई आजै भोग्न, ऋण गरेर भए पनि घिउ पिउन सुझाएका छन् । उनी लेख्छिन्, धेरै केरवाकहरूले ‘यो जिन्दगीलाई जसरी बिताइदिए पनि भो’ भन्छन् । आजै बाँचौँ भोलिको के भर पनि भनिभ्याउँछन् । यद्यपि यही रटानपटानमाझ सबैले भोलिकै बारे सोची जीवन काटिदिन्छन् । बरा जिन्दगी ।
मानिसका इच्छा आकांक्षाहरू असीमित छन् । तिनै इच्छा आकाङ्क्षाहरू पूरा गर्ने होडबाजीमा आज मानिस दौडिरहेको छ । यसरी दौडँदा दौडँदा मानिसले वर्तमान जिउन नै बिर्सिदिन्छ । तिनै इच्छा आकाङ्क्षाहरूको भारीलाई घिसार्दा घिसार्दा मानिसको जीवन दुःखमय हुने कुराको स्वीकारोक्ति लेखकको छ ।“ हामीलाई हाम्रै आकाङ्क्षाले जिउँदै मारिरहेको छ पत्तै नदिई । (ऐ, पृष्ठ २९ःघराख्यान)
ज्ञानसम्बन्धी धारणा
यो प्रकृति ,यो जीवनजगत् , यो संसार ज्ञानको अनन्त भण्डार हो । यहाँको ज्ञान जाने जानिसक्नु छैन । आज सत्य मानेको कुरा भोलि असत्य ठहरिन सक्छ । मानिसले आफ्नो अध्ययन, खोज, अनुसन्धानबाट जे जति ज्ञान आर्जन गरेको छ त्यो अधुरो छ, अपुरो छ । यो प्रकृति तथा जीवन जगतको रहस्य अनन्त छ । मानिसले लामो अध्ययन, चिन्तन मनन गरेर लेखेका किताबहरू ज्ञानका स्रोत हुन् । तर ती किताबहरू पढेर मात्र समग्र जीवन बुझ्न सकिँदैन ।
पढेरभन्दा परेर बुझिन्छ भन्ने उखान पनि हाम्रो समाजमा प्रचलित छ । भोगाइबाट पाएको ज्ञान अविस्मरणीय हुन्छ । समाज बुझ्न समाजमा बसेर त्यहाँका मानिसहरूसँग सङ्गत गर्नुपर्छ, व्यवहार गर्नुपर्छ, अनुभूतिहरू सँगाल्नुपर्छ भन्ने अनुभव लेखकको छ । सधैँ केही न केही अध्ययन मनन र चिन्तनमा डुबिरहने समाज परिवर्तनका निम्ति कलमरूपी हतियार लिएर खरो रूपमा उत्रने लेखक आफ्नी फुपूलाई नजिकबाट बुझ्न नसकेको दुखानुभूति यसरी व्यक्त गर्छिन् । “म घोत्लिई बस्छु जीवन र मृत्युसम्बन्धी अनेकन पुस्तकहरूमा तर मैले कहिल्यै पढ्न भ्याइनँ नजिकैकी जीवन्त पुस्तक नानदिदीलाई ।“ ( भुईँ कुहिरो र कान्छी तामाङको एक्लो यात्रा,ऐ पृ२०७)





