मकवानपुर, ७ माघ ।
मकवानपुर प्रहरीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भइ फरार रहेका १३ जना प्रतिवादीलाई एकै दिन पक्राउ गरेको छ ।
अफिम मुद्दामा जिल्ला अदालत मकवानपुरले १५ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना तोकी फरार रहेकाे धादिङ गजुरीका ३० वर्षीय अनिल लामा भन्ने केशरबहादुर तामाङलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडा बजारबाट पक्राउ गरेको छ ।
यसैगरी मकवानपुरको वकैया गाउँपालिका—१० का एक महिलासहित ८ जनालाई कुटपिट मुद्दामा अदालतबाट दोषी ठहर भएपछि फरार रहेकामा प्रहरीले पक्राउ गरी अदालतमा बुझाएको छ । फरार रहेका ८ जनालाई जनही ९ सय ३० रुपैयाँ जरिवाना तोकिएको थियो ।
यसैगरी कुटपिटबाट गर्भपतन भएको अदालतले ठहर भइ जनही २ सय रुपैयाँ जरिवाना गरे पश्चात् फरार रहेका मकवानपुर गढीका ३ जना महिलालाई प्रहरीले पक्राउ गरी असुलीको लागि अदालतमा पेस गरेको थियो ।
यस्तै चेक अनादर मुद्दामा ५ सय रुपैंया जरिवाना ताेकिएका हेटौंडा १६ का १ जना प्रतिवादीलाई प्रहरी पक्राउ गरेकाे छ । पक्राउ परेका व्यक्तिलाई मकवानपुर जिल्ला अदालत बुझाइएकाे प्रहरीले जनाएकाे छ ।





