भरतपुर, ३ माघ ।
चितवनमा बुधबार भएको सवारी दुर्घटनाबाट मोटसाइकल चालकको मृत्य भएको छ । चितवनको भरतपुर महानगरपालिका वडा नं ४ अद्वैत चोकमा मोटरसाइकललाई बोलेरो जीपले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा गोरखाको लखन गाउँपालिका वडा नं ३ का ५८ वर्षीय यमबहादुर आले रहेका छन् ।
विशाल चोकबाट धर्मचोकतर्फ जाँदै गरेको ना. ५ च ९४८ नम्बरको बलेरोले दिउँसो साढे २ बजेको समयतिर आनन्दचोकबाट बाह्रघरेतर्फ जाँदै गरेको ना. ४९ प २९३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
घाइते भएका आलेलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएको थियो । आलेको उपचारको क्रममा सवा ३ बजे मृत्यु भएको वागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
बोलेरो चालक दिव्यनगर बस्ने ३४ वर्षीय गणेश भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।




