दिनाङ्क : २७ पुस, २०८१
स्थान : भरतपुर, चितवन
आदरणीय आख्यानकार सुमनजी,
हार्दिक अभिवादन ।
खासमा मचाहिँ पढ्न मन गर्ने मान्छे । मन परेको कुरा पढ्छु म । लेखक चिनिनु र नचिनिनुले खासै फरक पार्दैन मलाई । हिजोदेखि त एकअर्कामा हामी भौतिक रुपमा पनि चिनिने भएका छौँ । हो, मैले हिजो मात्र यहाँसँग चिनचान गर्ने अवसर पाएँ । त्योभन्दा अगािड यहाँसँग भौतिक रुपमा चिनचान भएको थिएन । यसअघि फेसबुकको प्रोफाइल हेरेर चिनेको पनि के चिनेको भन्नु ? पहिलो भेट भएर पनि कार्यक्रमको हतारो र भीडभाड भएका कारण खुलेर बोल्नचाहिँ पाइएन । अब अर्को भेटमा बोलौँला नि हुन्न र ?
मैले अगाडि नै भनिसकेँ, म एउटा पाठक । पढेका कुराका बारेमा अन्य पाठकलाई पनि सूचना दिनुपर्छ भन्ने मान्यता छ मेरो । हिजोको अन्तर्संवाद कार्यक्रममा सुरेन्द्र अस्तफल र केशव चालिसेसँ बसेर यहाँको ‘अभ्यन्तर’ कथाकृतिका बारेमा खुलेर बहस गरियो । उक्त बहसमा म यहाँलाई कम बोल्न लगाउन चाहन्थेँ । म पनि रोलाँ बार्थको ‘लेखकीय मृत्य’को पक्षपाती भएकाले त्यसो गर्न चाहेको तर सबैभन्दा बढी त यहाँ नै बोल्नुभयो । त्यो कार्यक्रम नै तपाईंको बारेमा भएकाले त्यसलाई मैले अन्यथा लिएकोचाहिँ छैन ।
मैले कार्यक्रममा जानुअघि नै यहाँको ‘अभ्यन्तर’ कथासङ्ग्रहभित्रका ’‘अन्तर्य’देखि ‘होहल्लाको वृत्तभित्रबाट’ सम्मका अठार वटै कथा सर्सर्ती पढेको थिएँ । मलाई यहाँका अठार वटै कथा पढ्दा छुट्टै मज्जा आएको थियो । यहाँले कथा राख्ने क्रममा पनि शब्दकोशीय क्रम मिलाउन खोज्नुभएको पाएँ । यो नि एउटा प्रयोग हो कि संयोग ? जेहोस्, यहाँको लेखकीय पन मलाई मन पर्यो । फरक फरक विषयलाई प्रस्तुत गर्नसक्ने यहाँको खुबी मलाई झनै राम्रो लाग्यो ।
नारायणी रिसोर्ट गैडाकोटको हलमा लामो बहस चलेर पनि कार्यक्रमका सीमाका कारण केही प्रश्न सोध्न पाइएन अझ भनौँ सकिएन । त्यसैले यो पत्रमा म यहाँ खास गरी तपाईंको कृति ‘अभ्यन्तर’मा केन्द्रित भएर केही प्रश्न सोध्न चाहन्छु । यसको उत्तर कुनै अनलाइन पत्रिकामा लेखे पनि हुन्छ, नभए मेरो मेसेन्जरमा इनबक्स गरिदिए पनि हुन्छ :
१) यहाँलाई सबैभन्दा अहम् सवाल यो हो कि एउटी महिलाले लेख्ने मुख्य विषय महिला मात्रै हो कि समाज ? समाज लेख्दा महिला मात्र आउँछन् कि पुरुष वा तेस्रो लिङ्गी पनि आउँछन् ? यहाँले ‘अभ्यन्तर’ कथासङ्ग्रहमा अठारवटा कथा लेख्दा पनि तेस्रो लिङ्गीका कथा नभेट्नु भएको हो कि वेवास्ता गर्नुभएको हो ?
२) यहाँका कथामा यौन आउन आउन लाग्छ, अनि त्यसपछि एक्कासि पलायन देखिन्छ । उदाहरणका लागि सुरुको कथा ‘अन्तर्य’मा प्रेमका विभिन्न तहको चर्चा गर्ने नायिकाले आफूले छ वर्षसम्म फेसबुक र मेसेन्जरका आधारमा प्रेम गरेको पुरुषलाई पति घरमा नभएको बेलामा घरमा आमन्त्रण गरेकी छ । उनीहरु राजीखुसीले प्रणयमा बाँधिन लागेको बेलामा एक्कासि नायिका सरितामा केले प्रभाव पार्छ पार्छ ऊ आफ्नो प्रेमी विशुलाई एक्लै छोडेर अर्को कोठातिर लाग्छे । यसले उसको मनोरोग देखाउन खोजिएको हो कि तपाईं आफू यौनकथा लेख्नबाट पन्छिनु भएको हो ?
३) यहाँका कथा हेर्दा पात्रको विकासमा अलिक ध्यान नपुगेको हो कि जस्तो लाग्छ मलाई । यहाँको ‘समयको प्रवाह’ भन्ने कथामा पाँचजना इन्जिनियरिङ पढ्दै गरेका युवतीहरुको चर्चा गरिएको छ । त्यसमा पनि मुख्यजस्तो लाग्ने पात्रको नाम सुरुमा ‘अक्रेला’, त्यसपछि ‘अक्रिना’ र धेरै ठाउँमा ‘अक्रिता’ भनेर सम्बोधन गरिएको छ । एक ठाउँमा त ‘आक्रिता’ पनि भनिएको छ । कथाको प्रसङ्ग हेर्दा ती सबै पात्र एकै हुन् भन्ने लाग्छ । यसो हुनुमा मुद्रा राक्षस प्रमुख त होइन होला ? लेखकले पात्रलाई जे भनेर सम्बोधन गर्न पनि पाइने नियम बनेको हो र ?
४) यहाँका अधिकांश नारी पात्रहरु सहरिया परिवेश र बौद्धिक खालका छन् । ‘सोचिसकेपछि उसले’ कथाकी ऊ पात्रचाहिँ ग्रामीण परिवेशको र पतिलाई उच्च शिक्षाका लागिकाठमाडौँ पठाएर घर धानेर बसेकी छ । उसमा त कम बौद्धिकता छ कि भनेको त ऊ झन् विद्रोही खालकी पो निस्की त । त्यसो भए सुमनजी, के आजको महिलामा बौद्धिकताको तह बढेकै हो त ?
५) मलाई यहाँको सामाजिक कथाभन्दा पनि विज्ञानकथा राम्रो लाग्यो । यहाँका ‘क्लोन’, ‘वाहक’ र ‘समयको प्रवाह’ विज्ञान र प्रविधिलाई केन्द्रमा राखेर लेखिएका कथा हुन् । तिनमा पनि ‘वाहक’चाहिँ विज्ञानसँगै मानवीय स्वभाव र पारिस्थितिक प्रणालीको वरिपरि घुमेको पाएँ । म यहाँनेर एउटा नबुझेको कुरा सोध्न चाहन्छु, यहाँको विज्ञान कथामा विज्ञान कम समाज बढी आएको हो र ? अनि उक्त सङ्ग्रहभित्रकै सबैभन्दा लाममो कथा ‘क्लोन’लाई अलिक बढी सन्दर्भहरु दिएर अझै लामो बनाउन सकिन्थेन र भन्या ?
६) यहाँको ‘क्लोन’ कथा हेर्दा मानव अधिकारका कुरा पनि देखियो । मानवीय भावना, चाहना र भित्री इच्छा तथा आकाङ्क्षाहरु पनि उठाइएको पाइयो । क्लोन भनेको मासुको थुप्रो मात्र हो र ? कि कसैको शरीरबाट एउटा कोष लिएर त्यसबाट त्यस्तै अर्को शरीरको विकास गरिनु हो ? यदि त्यस्तो हुने हो भने वैज्ञानिकहरुद्वारा उसलाई ब्रोइलर कुखुरालाई जस्तो व्यवहार गरिनु उपयुक्त हो त ?
७) यहाँको ध्यान पर्यावरणीय कथामा पनि गएको पाएँ । यहाँको ‘वाहक’ र ‘गङ्गा दिदी मुसुक्क हाँछिन्’ पर्यावरणीय चेतका कथा हुन् । ‘गङ्गा दिदी मुसुक्क हाँछिन्’ कथामा स्वैरकल्पनाको सुन्दर प्रयोग पाएँ । त्यसरी बाग्मती नदीले मानवीय रुप धारण गरेर आफ्नो समस्या बताएपछि त झन् त्यसको समाधानका लागि लाग्नुपर्नेमा त्यत्तिको बौद्धिक खालको म पात्र मर्निङ वाकमा बाग्मती छेउतिर जानै तर्सिनु पर्ने थियो र भन्या ?
८) सुमनजी, तपाईं त राजनीतिमा पनि निकै सक्रियतापूर्वक लागेको व्यक्ति । तर पनि राजनीतिक विषयमा किन कलम नचलाउनुभएको ? भन्छन् नि सर्पका खुट्टा सर्पले नै देख्छ, राजनीतिका कमजोरीलाई अन्य लेखकले भन्दा तपाईंले पक्कै बढी आत्मसात् गर्नुभएको छ । कि त्यसलाई अर्को सङ्ग्रहमा ल्याउने विचार छ ? के ‘रुपभित्रको रुप’ कथा त्यसको पूर्व सङ्केत हो ?
९) सुमनजी, तपाईंसँगको पहिलो भेटमा तपाईंका बारेमा राम्ररी बुझ्न र मज्जासँग खुल्न पनि पाइएन । तपाईं नेपाली भाषाको शिक्षकचाहिँ पक्कै होइन भन्ने कुरा कृति पढ्दा लाग्यो । कृतिभित्रका भाषिक कसर मसरलाई किन सम्पादन नगराउनुभएको ? एउटा साक्ष्य : “डाक्टर लन्च खान बाहिरिने वाला थियो । तर आफ्नो कुर्सीबाट उठेका थिएनन् ।” (पृष्ठ ४६) जे भए पनि एउट शिक्षकबाट यस्तो व्याकरिण त्रुटि कसरी भयो ? के यसलाई मुद्रा राक्षस भनेर उम्कन मिल्छ ?
१०) हुन त यो ननसेन्स प्रश्न हो भन्ने मलाई थाहा छ, तर पनि मनले सोध भनेर कर गरेपछि सोधिहेरेको हुँ, त्यो ‘होफफुल क्याफेमा एउटा साँझ’ कथाको मुख्य पात्र लेखक निरु हितैषी कतै सुमन वर्षा नै होइन ? विषय वा प्रसङ्गले अर्को अर्थ लागेमा क्षमा चाहन्छु म ।
११) मैले बहसका क्रममा डा. केशव चालिसेलाई सोधेको प्रश्नको सही जवाफ पाउन सकिनँ, किनकि उनी आख्यानकार नभएर समालोचक हुन् । यहाँ म तपाईंलाई नै सोध्न चाहन्छु, तपाई पहिला उपन्यास लेखेर पछि कथामा आएको लेखक हुनुहुन्छ । मेरो सवाल यो हो कि कुनै घटनालाई चित्रण गर्दा फुर्सद लिएर विस्तारमा जान सकियो भने उपन्यास र हतारमा टुङ्ग्याइयो भने कथा बन्छ हो ?
१२) कसैले मलाई सुमन वर्षाको ‘अभ्यन्तर’भित्रको सबैभन्दा उत्कृष्ट कथा कुन हो भनेर सोध्यो भने बिना हिचकिचाहट भन्छु, ‘होहल्लाको वृत्तबाट’ । यसमा यहाँको सारा इफोर्ट लागेको पाएँ मैले । अरु सत्रवटा कथामा यस्तो इफोर्ट किन लगाउन सक्नुभएन हँ ?
करिब दुई घन्टाको बहसमा पनि नसुल्झिए पछि मेरा यी एक दर्जन प्रश्नहरु जन्मिएका हुन् । यी प्रश्नहरु एउटा सचेत लेखकलाई सामान्य पाठकका तर्फबाट हुन्, यसमा कुनै प्राज्ञिक बहस नखोज्नुहोला है । प्राज्ञिक बहस गर्न परे फेरि कुनै अर्को मञ्चमा आमने सामने भएर बसौँला है । हुन त यी कुराहरु च्याटमा लेखेको भए पनि हुने हो । फेरि च्याटको कुरा गर्दा यहाँका सरिता र सौरभी पात्रलाई सम्झन पुग्छु । कतै त्यस्ता पुरुष पात्र पनि हुन्छन् कि ? त्यसैले मैले च्याट गरिनँ । लामै पत्र लेखेँ, किनकि म पत्रमित्रताबाट साहित्यमा प्रवेश गरेको व्यक्ति हुँ । सायद यस्तो भाग्यमानी अन्तिम पुस्ता पनि हुँ । यहाँ थप गन्थन गर्दिनँ म । बाँकी केही भएमा अर्को पत्रमा कोरौँला । यो पत्र पढेर तपाईं मसँग रिसाउनु त भएन नि ? रिसाउनु स्वास्थ्यका लागि हानिकारक छ । अहिलेलाई यत्तिकैमा कलम रोक्छु ल ।
उही तपाईंको सिरियस पाठक
रमेश प्रभात ।





