चितवन, २१ पुस ।
भरतपुर अस्पताल परिसरमा `मेरो पहिलो रक्तदान´ कार्यक्रम गरिएको छ । शुक्रबार मिसन रेड अभियानको आयोजनामा जनस्वास्थ्य कार्यालय चितवनको सहआयोजना र भरतपुर अस्पतालको सहकार्यमा यो कार्यक्रम गरिएको हो ।
यस अभियान अन्तर्गत १७ जनाले पहिलोपटक रक्तदान गरेका छन् । सबै रक्तदाताबाट कुल ४२ पिन्ट रगत संकलन गरिएको आयोजकले जनाएको छ । 
युवाहरुलाई रक्तदानमा प्रेरित गर्नुका साथै विभिन्न संघ-संस्थाहरुलाई यस्ता कार्यक्रम आयोजना गर्न उत्साहित गराउने उद्देश्य सहित यो कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । देशभर देखिएको चरम रक्त अभाव समाधान गर्न उद्देश्यका साथ एसडि फाउन्डेसनले ब्लड डोनर्स सोसाइटी नेपालको सहकार्यमा सुरु गरेको मिसन रेड अभियानले कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रमको उद्घाटन ब्लड ब्याग हस्तान्तरण गरेर गरिएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल, पूर्व सामाजिक विकास मन्त्री विजय सुवेदी, भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. कृष्णप्रसाद पौडेल, जनस्वास्थ्य प्रशासक दिनेश रुपाखेती, नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति हरिप्रसाद पौडेललगायतले रक्तदानको महत्त्वबारे प्रकाश पार्नुभयो ।
जनस्वास्थ्य कार्यालय, भरतपुर अस्पताल, नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाइटी, चितवन उद्योग संघ, भरतपुर महानगर स्काउट, लियो क्लब, जेसिआई, सरल नेपाल, उत्सव मेडिकल सप्लायर्स, किलियर भिजन अप्टिकल हाउस जस्ता संघ-संस्थाहरुको उपस्थितिले कार्यक्रमलाई जीवन्त बनाएको मिसन रेड अभियानका संयोजक अर्जुन अधिकारीले बताउनु भयो ।
यस अभियानले रक्तदान नगरेका युवाहरुलाई उत्प्रेरित गर्दै समाजमा सकारात्मक सन्देश पुर्याएको सहभागीहरुले बताएका छन् ।




