भूपिनको थाप्लोमाथि ताकिएको त्यो लौरो

“कवि नभएको भए
मेरो आत्माको एउटा बन्द ढोका
जीवनभरि कहिल्यै खुल्ने थिएन
मेरो आँखा हजारौं सपनाहरू जेल बस्ने
पागलखाना बन्ने थियो
मेरो हृदयमा प्रेमको धून यसरी बज्ने थिएन
मेरो खुट्टामा यात्राको यति लामो नदी बग्ने थिएन ।”
– भूपिन, ‘कवि नभएको भए’

आरम्भमा कविकुनाको धूमिल प्रसङ्ग

वि.सं. २०६३ मा नेपालमा लोकतन्त्र आएपछि देशमा धेरै कुरा पविर्तन भयो, जस्तो कि लुकीलुकी हिँड्नुपर्नेहरू झन्डावाल गाडी चढ्ने भए, जस्तो कि लुकीलुकी पिउनुपर्नेहरूले खुलेरै पिउन पाए, त्यस्तै दश वर्षसम्म गर्न नमिल्ने कामहरू पनि सहज भए । हो, त्यसपछि हामी चितवनका केही थान कविहरूले त यहाँ कविकुना नै बनायौँ । शुक्रबार र शनिबार हामी प्रायः जम्मा हुन्थ्यौँ त्यहाँ । त्यतिबेला नियमितजसो जम्मा हुनेहरूमा भूपिन व्याकुल, प्रसन्न घिमिरे, सुमनराज श्रेष्ठ, ईश्वर कँडेल र म थियौँ । अरु साथीहरू जस्तो कि सुरेन्द्र अस्तफल, गणेश श्रमण आदिचाहिँ आक्कलझुक्कल देखापर्थे त्यो जमातमा । बरु मकवानपुरबाट चितवन आउँदा नछुट्ने साथी थियो निमेष निखिल । हामीले त्यहाँ देशभित्रका अन्य सहरका र देशबाहिर दार्जिलिङतिरका मनोज बोगटी, राजा पुनियानीसम्मलाई पनि स्वागत गरेका थियौँ । अहिले सम्झिँदा लाग्छ ती दिन साँच्चै गज्जबका थिए ।

यहाँ म कवि भूपिनलाई भूपिन व्याकुल नै भनिरहेछु, त्यतिबेला ऊ त्यही नामले पत्रपत्रिकामा फुटकर रचना छपाउँथ्यो र बोलाएको ठाउँमा जान्थ्यो पनि । यहाँनेर म कविकुनाको कुरा गर्दै थिएँ । हो, हामी साँझको बसाइमा छोयला, भटमास, तारेको आलु र चिउरासँग प्रायः कोदोमार्का लोकल नै चलाउँथ्यौँ त्यतिबेला । त्यसलाई हामी अर्गानिक बसाइ भन्ने गर्थ्यौँ । त्यसो त हाम्रो आम्दानी पनि त्यति थिएन । हल्का पिएपछि प्रायः कविताकै कुरा गर्थ्यौँ हामी । आफूले पढेका कुरा र लेख्दै गरेका कुरा पनि सुनाउथ्यौँ त्यहाँ । ती यादहरूले नोस्टाल्जिक बनाउँछन् अझै पनि ।

कविकुनालाई साक्षी राखेर यहाँ मैले कवि भूपिनसँग सम्बन्धित प्रसङ्ग उठाउन लागेको छु । त्यसैले यत्तिचाहिँ भन्नु उपयुक्त होला कि ? (अरुहरूसँग सम्बन्धित प्रसङ्ग पनि मेसो मिले उठाउँदै जाऊँला नि, के फरक पर्छ र ? हैन त पाठकवृन्द ?) कवि भूपिन व्याकुलको ‘कवि कुनाको अँध्यारो चेपबाट’ शीर्षकको कविता त्यही समयको प्रतिफल हो । हेरौँ त्यसका केही पङ्क्ति :

“कविहरू
आखिर हामीले नै
उपचार गर्ने हो बिरामी कविता
कविताका घाउहरू ड्रेसिङ गरेर
हामीले नै खुवाउने हो
समयले लेखिदिएको ओखती
हामीले नै दिने हो सिरिन्ज
हामीले नै बनाउने हो कवितालाई स्वस्थ ।
– – –
कोही न कोही नमातीकन
कोही न कोही हल्का उत्ताउलो नभईकन
कोही न कोही अलिकति अराजक नबनीकन
आएको छैन कहीँ कतै मुक्ति
झुस पलाएको समयको ढोका खोल्न ।”
(कवि कुनाको अँध्यारो चेपबाट)

सामान्यतया आफूले कहिल्यै नपिउने आम मान्छेले ठानेजस्तो सोमरस पिउनु सधैँ खराब काम होइन । त्यसो त पिउनु मात्नु मात्र हुँदै होइन, आफूलाई अरुसँग अभिव्यक्त गर्नसक्ने बनाउनु पनि हो । अरुले जे ठानून् मलाई मतलब छैन, मात्रा मिलाएर पिउनुलाई मचाहिँ राम्रै मान्छु । पाठकवृन्द तपाईंचाहिँ के भन्नुहुन्छ हँ ? कविकुनाको सन्दर्भलाई उल्लेख गर्नुपर्दा त्यो समयलाई उपयोग गरी अन्य साथीहरूले के के लेखे ? यहाँ त्यो बताउन्नँ म । त्यसको फेहरिस्त तयार पार्न थालेँ भने पक्कै सूची लामो र बोरिङ खालको हुन्छ भन्ने ठहर छ मेरो ।

लौरो नै किन उठाउन पर्‍यो त ?

घटना २०६५ साल हिउँदको हो । जाडोको एक साँझ सायद पुसतिर हुनुपर्छ, हामी कविकुनामा जमेर बसेका थियौँ । पेटभित्र पस्दा चिसो र पसिसकेपछि तातो गराउने पेयपदार्थ अलिअलि हामी सबैको पेटमा पसिसकेको थियो । त्यतिबेलासम्म भूपिन व्याकुलको दोस्रो कृति बजारमा आइसकेको थिएन । जसले जति भन्दा पनि उसले सुन्ने कान लगाइरहेको थिएन ।

त्यसो त भूपिन व्याकुल सारै चिसो मान्छे । छिटै तात्नै नजान्ने । उसको पोखरा बसाइका क्रममा वि.सं. २०५३ मा ‘क्षतिग्रस्त पृथ्वी र मूल सडक’ नामक कवितासङ्ग्रह निस्केको थियो । आजीविकाका क्रममा ऊ २०६० सालदेखि चितवन बस्न थालेको हो । २०६५ सालसम्म पनि ऊ किताब निकाल्ने कुरामा आनाकानी गर्दै थियो । उसलाई किताब निकाल्न कसैगरी दबाब त दिनै थियो । जसले जे भने पनि ‘हस्’ भनेर सुनेको नसुन्यै गर्ने उसको नानीदेखि लागेको बानी कहाँ छुट्थ्यो र ?

सानो गाँठीको मान्छे म, थोरै पिएको भए पनि मलाई हल्का मात लाग्न थालिसकेको थियो । मैले जनयुद्धकै शैलीमा उसलाई एक्कासि भनेँ, “अबको एक वर्षभित्र पनि तेरो कविताको किताब निस्केन भने तेरो टाउकामा भाटैभाटाले हानेर भाटे कार्वाही गर्छु म ।” त्यतिबेला ऊ केही बोलेन । मेरो कुरालाई मनमनै सिरियस्ली लिएछ उसले । नभन्दै अर्को वर्ष उसको ‘हजार वर्षको निद्रा’ छापिएर आयो । कृति मात्र आएन, हाम्रो धम्कीको प्रतिव्युत्तर पनि आयो । त्यसले कम्ता खुसी बनाएन हामी कविकुनाका स्थायी बासिन्दाहरूलाई ।

मान्छेलाई उक्साउनुको हद

त्यतिबेला दसवर्से जनयुद्धको भूमरीबाट देशले भर्खर उन्मुक्तिको स्वाश फेर्न थालेको थियो । हामीलाई जनयुद्धले सिकाएका शब्दहरू कण्ठस्थ थिए । हो, त्यतिबेला ‘भाटे कार्वाही, जन कार्वाही, श्रमशिविर’ जस्ता पदावली हामी प्रत्येकको बोलीमा आइहाल्थ्यो । अनि भाटा हान्ने कुरा भूपिनमाथि पनि लागू भयो । नसाको सिर्जनात्मक प्रयोग जो गर्नु थियो, गरियो । हामी सबै मिलेर उक्सायौँ भूपिनलाई । एक वर्षभित्र कृति ननिकाले उसको थाप्लोमा भाटा हान्ने निर्णय सुनाइयो त्यो माहोलमा । उसले त्यसलाई सिरियस्ली लियो, अझ भनौँ, ऊ साँच्चै उक्सियो र ब्युँझियो ‘हजार वर्षको निद्रा’बाट ।

जानीफकारहरू भन्छन्, माया जीवनका लागि महत्वपूर्ण खुराक हो । मचाहिँ भन्छु माया मात्र होइन, हामीलाई जीवनमा उक्साउने साथी पनि चाहिँदो रहेछ । माया गरेर थर्काउने साथी त झनै चहिने रहेछ । त्यतिबेला कविकुनाको अँध्यारो पाटोमा बसेर हामीले त्यसरी नथर्काएको भए भूपिन अझै हजार वर्ष निद्रामै पो हुन्थ्यो कि ? मचाहिँ अझै कन्फ्युज्ड छु ।

अनि त्यसपछि

यात्रा मानव जीवनको अनिवार्य तत्व हो । मान्छे यात्रामा अगाडि बढिसकेपछि पछाडि फर्केर हेरिराख्नु नपर्ने रहेछ भन्ने कुरा कवि भूपिनलाई हेर्दा प्रस्ट हुन्छ । ‘हजार वर्षको निद्रा’बाट ब्युझेपछि उसले ‘सुप्लाको हवाइजहाज’ उडायो । त्यति मात्र होइन, ‘चौबिस रिल’मा आफ्नो जीवन कहानी पनि सुनाउन भ्यायो । आफ्नो मात्र नभएर ‘मैदारो’मा नदीनको कहानी पनि सुनाउन भ्यायो । यतिबेला दुनियाँलाई ऊ ‘भूपिनका कविता’ सुनाउँदै हिँडेको छ । ऊ जे गर्छ परफेक्ट तरिकाले गर्छ ।
पाठकवृन्द, मान्छेलाई निद्रा त्याग्न सजिलो छैन । त्यसो भए भूपिनले चाहिँ हजार वर्षको निद्रा त्यति सजिलै कसरी त्याग्यो त ? हेरौँ उसको कवितात्मक स्वीकारोक्ति :

“पुस्तकका चिसा पृष्ठहरूभित्र
पुतलीहरू च्यापिएझैँ
म च्यापिएको छु
दर्शनका बोझिला किताबहरूका बीचमा
र मस्त निदाएको छु जीवनभरि
ब्युँझने सपना देखेर !

ब्युँझन चाहन्छु अब म
हजारौँ वर्षको गाढा निद्राबाट !”
(हजार वर्षको निद्रा)

कविताको शक्ति भनेकै जीवनलाई मार्गनिर्देश गर्नु हो । माथिको कवितांशमा वर्णित कवि भूपिनका विचारमा विभिन्न दर्शनले हामीलाई गहिरो निद्रामा सुताएको कुरा गरेको बुझिन्छ । दुःखबाट मुक्त गर्ने सपना बाँडेर स्वयम् गौतम बुद्धले पनि हामीलाई हजारौँ वर्षको गहिरो निद्रामा सुताएको आरोप छ कवि भूपिनको । ऊ त्यो निद्राबाट आफैँ ब्युँझन चाहन्छ र ब्युँझन्छ पनि । निद्राबाट ब्युँझेको केही समयपछि भूपिनले सुप्लाको हवाइजहाज कसरी उडायो त ? हेरौँ उसको कथन :

“म पर्खिरहेछु ती कल्पनाप्रेमीहरू
जो सुप्लाको हवाइजहाज चढेर
खेतहरूमा पुग्छन्
कारखानाहरूमा पुग्छन्
अस्पतालहरूमा पुग्छन्
कुनै मानिसले पहिल्याउन नसकेका
अँध्यारोका जराहरू काट्न
धारिला बन्चराहरू लिएर जङ्गल पुग्छन्
कल्पनामै सही
एउटा बैँसालु देशको चित्र मनमा सजाएर
देशदेशान्तर पुग्छन् ।”
(सुप्लाको हवाईजहाज)

साँच्ची, कविले कविता शून्यमा लेख्नै सक्तैन । कविले कविता लेख्नका लागि पनि केही न केही सन्दर्भ चाहिन्छ । भूपिनले माथिको कविता देवराज नाम गरेका एक जना गुरुलाई सम्बोधन गरेर लेखेको कुरा सिङ्गो कविता पढेपछि बुझिन्छ । खासमा त्यति मात्र होइन यो कविता । सुप्लाको हवाइजहाज बनाएर लैजाँदा गुरु रिसाउनु मात्र पनि होइन यो कविताको सार । यसले त सबैलाई सपना देख्न सिकाएको छ । आजका पुस्तामा त्यो सपना हराएकोमा चिन्ता व्यक्त गरिएको छ । कल्पनामै सही एउटा बैँसालु देशको चित्र उतारिएको छ । त्यसैले उडान कविको ध्येय हो ।

हो, यतिबेला नेपाली साहित्यमा भूपिनको उडान लोभलाग्दो छ । पारसमणि भएको छ ऊ । साँच्चै भूपिन यतिबेला नेपाली साहित्यमा मिस्टर परफेक्ट भएको छ । उसका कविता, निबन्ध र आख्यान नेपाली साहित्यका पाठकले निकै रुचि लिएर पढिदिएका छन् । यस्तो लेख्नुका पछाडि कतै ऊभित्र लुकेर बसेको भयले त काम गरेको छैन कतै ? त्यो दिन उसको थाप्लोमा लौरो बजार्ने कुरा नउठेको भए आजसम्म ऊ हामीजस्तै फुटकर रचनामै रमाएर पो बस्थ्यो कि ? ऊ चोरलाई यसरी खुल्ला आमन्त्रण दिने हैसियतमा हुन्थेन कि ?

“चोर्नु किमार्थ राम्रो काम होइन
तर, म यो देशमा
किताब चोरको व्यग्र प्रतीक्षामा छु ।”
(चोरको प्रतीक्षा)

चोरीजस्तो आपराधिक क्रियाकलापलाई पनि यसरी आकर्षक तरिकाले कवितामा उन्ने सिप उसले त्यसै त सिकेन होला । कविता सामान्य कुराकानी हुँदै होइन । सामान्य कुरालाई पनि असामान्य तरिकाले भन्न सक्ने खुबी नै कवि भूपिनका कवितात्मक सिद्धि हुन् । ऊ अरु कविजस्तो एकै खाले कवितामा रमाउँदैन । त्यति हुँदाहुँदै पनि विद्रोह उसको मूल स्वर हो । ऊ आफ्ना मनभरि भएको विचारको आतङ्कलाई विद्रोहात्मक तबरले कवितामा यसरी पोख्छ :

“देशैभरि चलिरहेको त बेसारको आतङ्क
अब म
बेसारको झ्याङमा आगो झोसेर
विचारको खेतमा पानी हाल्न जान्छु ।”
(बेसार)

साँच्चै म भन्छु, “हु नोज द्याट चोर ? हु नोज द्याट बेसार ?” पाठकवृन्द, अब हामीले त्यो चोरलाई कहाँ भेट्ने ? त्यो बेसार खोज्न कहाँ जाने ? भूपिनको खोपडीमा, उसको कविताका हरफमा या यो भ्रष्ट समाजमा ? जेहोस्, ऊ आफू मात्र होइन हामीलाई पनि तरङ्गित गराउन सक्छ । यही त हो नि एउटा कविको शक्ति भनेको ! तपाईंलाई तरङ्गित पारेन र भन्या ?

साँच्चै, त्यो लौरो कहाँ पर्‍यो होला ?

वि.सं. २०७२ को विनाशकारी महाभूकम्पले चितवनमा थुप्रै मनहरू ढले पनि घरचाहिँ त्यति ढलेनन्, बरु कोभिड–१९ ले धेरैलाई कहिल्यै नउठ्ने गरी ढलायो । धेरैलाई बेरोजगार बनायो, तितरबितर बनायो । यतिबेला त्यो कविकुना कता छ ? त्यसका सञ्चालक कता छन् ? हिजोआज हामी आफ्नै पाराले केही न केही लेखिरहेका छौँ, केही न केही त पढिरहेका छौँ । नेपाली साहित्यलाई गतिलो कृति दिन नसके पनि हामी अझै केही न केही गरिरहेका छौँ । हामीबिच सुन्ने र सुनाउने माहौल छैन । हो, यतिबेला हामीबिच संवादहीनता बढ्दो छ ।

कविकुनामा जम्मा हुने साथीहरू पनि आ–आफ्नै गुँडमा गुडुल्किरहेका होलान् । म पनि आफ्नै गुँडको एउटा अँध्यारो कुनामा डिम लाइट बालेर ल्यापटपमा व्यस्त छु । यतिखेर मलाई निकै सकसक लागेको कुरा छ, साँच्ची कविकुनाको त्यो लौरो धमिराले खायो कि अझै कतै सुरक्षित छ कुन्नि ? यतिबेला चितवनमा त्यो लौरो देखाउनुपर्ने को को होलान् हँ ? यसको हिसाबकिताब कसले गरिदिने ?

पाठकवृन्द, मेरो यो गनगन पढेपछि तपाईंलाई कस्तो लाग्यो ? बोर लागे गाली गर्नुहोला है, म गालीसँग पटक्कै रिसाउँदिन क्यारे । ठिकै लाग्यो भने तपाईं र म मिलेर कविकुनाको हिसाबकिताब गर्दै गरौँला है ! हामी फेसबुकमा साथी त पक्कै छौँ होला नि ? छैनौँ भने पनि यहाँलाई लागेको कुरा मलाई मेसेन्जरमा इन्बक्स गर्न नभुल्नुहोला । रात छिप्पिन लागेकाले मचाहिँ ल्यापटप बन्द गर्नतर्फ लाग्छु । भोलि फेरि बिहान बिहानै चक डस्टरमा जोतिनु त छँदै छ । नत्र जीवन चल्दैन । हामीजस्ता कलममा विश्वास गर्नेहरूले लेखैरै बाँच्ने दिन छिट्टै आओस् । भबतु सब्ब मङ्गलम् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट