जन्मदिनमा पुष्पलाल स्मृति पुस्तकालयलाई पुस्तक सहयोग

मकवानपुर, ११ मङ्सिर ।
मकवानपुर हेटौँडाका एक जना व्यक्तिले आफ्नाे जन्मदिनकाे अवसरमा पुस्तकालयलाई पुस्तक सहयोग गरेका छन् । हेटौंडा १८ थातथलो भई हाल हेटौँडा–८ निवासी बेलप्रसाद खतिवडाले जन्मदिनको अवसरमा पुष्पलाल स्मृति पुस्तकालयलाई पुस्तक सहयोग गरेका हुन् ।

हेटौंडा–५ स्थित पुस्तकालयमै पुगेर खतिवडाले ७ हजार ५ सय रुपैयाँ बराबरको ११ थान पुस्तक हस्तान्तरण गरे । उक्त पुस्तकालय साहित्य संगम मकवानपुरले व्यवस्थापन गर्दै आएको छ । संगम अध्यक्ष डीबी बर्तौला र सचिव तथा पुस्तकालय व्यवस्थापन समितिका संयोजक मनोज पोखरेललाई खतिवडा दम्पत्तिले पुस्तक हस्तान्तरण गरेका थिए । जन्मदिनलाई अवसरकाे रुपमा सदुपयोग गर्दै समुदायले पनि लाभ लिन सक्ने भएकाेले पुस्तकालयलाई पुस्तक सहयोग गरिएकाे खतिवडाले बताए । संगम अध्यक्ष बर्तौलाले पुस्तकालयलाई नयाँ पुस्तक भएकाेले पाठकले लाभ लिन सक्ने बताए ।

खतिवडाले हालै सार्वजनिक भएका पुस्तकहरु सुधीर शर्माको ‘हिमालपारिको हुरी’, भिक्षु, ‘व्यापार र विद्रोह’, भेषबहादुर थापाको ‘राष्ट्र परराष्ट्र’, गोविन्द कुसुमको ‘भृकुटी’, भानु बोखिमको ‘गोधुली गीत’, शैलेन्द्र अधिकारीको ‘अर्हत्’, सागर गैरेको ‘मोहर’, रमेश भुषालको ‘छालबाटो’, रमेश सायनको ‘अन्तर’, डा. श्रीधर खनालको ‘शावर्णी’, घनश्याम खड्काको ‘निर्वाण’ पुस्तकालयलाई हस्तान्तरण गर्नुभएको हो ।

हेटौंडा उपमहानगरपालिकाले स्थापना गरी साहित्य संगम मकवानपुरकाे व्यवस्थापनमा सञ्चालन हुँदै आएको पुष्पलाल स्मृति पुस्तकालय दैनिक बिहान १० बजेदेखि साँझ साढे ५ बजेसम्म खुल्ने गरेको छ । दैनिक समाचारपत्र,आवधिक पत्रिकासहित विभिन्न शीर्षकका पुस्तक रहेको पुस्तकालयकाे २ सय भन्दा बढी सदस्य रहेकाे पोखरेलले जानकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट