मकवानपुर, ३० असोज ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रहरी दिवस, २०८१ विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । कार्यालय मंगलबार र बुधबार दुई चरणमा विभिन्न कार्यक्रम गरी दिवस मनाएको हो ।
प्रहरी दिवस कार्यक्रममा बागमती प्रदेश मुख्यमन्त्री बहादुरसिंह लामाले प्रदेश सरकारको स्थापनासँगै प्रदेशको शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारीमा प्रदेश प्रहरीले काम गर्दै आइरहेको बताए । यसैगरी बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री सुरज चन्द्र लामिछानेले निलो पोशाकलाई सम्मान गर्दै विभिन्न चुनौतिको सामना, हरेक परिवर्तनको साक्षी, सशस्त्र द्वन्द्व, असहज परिस्थिति, प्राकृतिक विपद्, दुर्घटनामा पनि नागरिक सेवामा समर्पित रहदैं सदैव अग्रपंक्तिमा रहि मुस्कान सहितको सेवा दिँदै अहोरात्र खटिरहने प्रहरी संगठनलाई बागमती प्रदेश सरकारको निरन्तर सहयोग र समन्वय रहि रहने बताए ।
बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कृष्ण हरी शर्माले प्रदेशको शान्ति सु–व्यवस्थालाई मजबुत बनाउने कार्यमा बागमती प्रदेश सरकारबाट सहयोग भइरहेकाे बताए ।
प्रहरी दिवस कार्यक्रमकाे पहिलो दिन मंगलबार श्रद्धाञ्जली कार्यक्रम र मृतक प्रहरीका परिवारलाई सम्मान कार्यक्रम गरी दिवस मनाइएको थियाे । यसैगरी बुधबार विभिन्न विधामा उत्कृष्ट हुने, खेलकुद कार्यक्रममा उत्कृष्ट हुनेहरु र पुर्व प्रहरीलाई पुरस्कृत गरिएको थियो ।
उत्कृष्ट अनुसन्धानकतातर्फ काभ्रेस्थित इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक कृष्ण गिरी, उत्कृष्ट विपद् व्यवस्थापकतर्फ जिल्ला प्रहरी काभ्रेका प्रहरी उपरीक्षक बसुन्धरा खड्का र काभ्रे जिल्लास्थित ईलाका प्रहरी कार्यालय देविटारका प्रहरी हवल्दार शम्भु बोहरा पुरस्कृत भए ।
यसैगरी पुरस्कृत हुनेहरुमा उत्कृष्ट प्रहरी कार्यतर्फ हेटौंडास्थित प्रहरी चौकी रातोमाटेका प्रहरी हवल्दार सुरेन्द्र साह, उत्कृष्ट वाह्य प्रशिक्षकको रुपमा बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौलीका प्रहरी सहायक निरीक्षक कर्ण बहादुर तामाङ र उत्कृष्ट प्राविधिक जिल्ला प्रहरी कार्यालय काभ्रेमा कार्यरत प्रहरी सहायक निरीक्षक नवराज कार्की रहेका छन् ।
यस्तै नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन २०८१ मा जिल्ला प्रहरी कार्यालय सिन्धुलीको नागरिक सहायता कक्षको उत्कृष्ट व्यवस्थापन गर्ने प्रहरी उपरीक्षक गोविन्द राज काफ्ले र सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ स्थित नेपाल प्रहरी संगठनको सेवा प्रवाहलाई सरल, सहज र प्रवाहलाई प्रभावकारी बनाउन पुुर्याएको योगदानको कदर गर्दै रवि आचार्यलाई प्रशंंसा पत्र प्रदान गरिएको छ । सिन्धुलीका पूर्वप्रहरी निरीक्षक राम बहादुर हायू र मकवानपुरका पूर्व प्रहरी सहायक निरीक्षक रामसिंह तामाङलाई कदरपत्रद्वारा सम्मानित गरिएको छ ।
यस्तै बागमती प्रदेश प्रहरीस्तरीय फूटबल, भलिबल, टेवलटेनिस, क्रिकेट, बास्केट बल, डोरीतान र ब्याडमिन्टन प्रतियोगितामा प्रथम तथा द्वितीय हुने प्रहरी कर्मचारीहरुलाई पुरस्कार वितरण गरिएको छ ।
यसैगरी प्रहरी दिवसकाे अवसरमा भएकाे रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन् । उक्त कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कृष्णहरि शर्मासहित ४१ जना पुरुष र ४ महिला कर्मचारीले रक्तदान गरेका हुन् ।





