गैंडाकोटका मेयर अधिकारीद्वारा सूर्यभक्त पतनादेवी स्मृति वाङमय पुरस्कार स्थापना

गैंडाकोट, ५ असोज ।
गैंडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले आफ्ना बुबाआमाको स्मृतिमा सूर्यभक्त पतनादेवी स्मृति वाङमय पुरस्कार स्थापनाको घोषणा गरेका छन् ।

साहित्य र पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान गर्ने स्रष्टालाई प्रत्येक वर्ष मंसिर २० गते प्रदान गर्नेगरी पुरस्कारको स्थापना भएको छ । मूल कोष ५ लाख रहेको पुरस्कार हरेक वर्ष ३३,३३३- रुपैयाँ राशि र सम्मानपत्रले पत्रकारिता र साहित्यमा विशिष्ट योगदान गरेबापत एकजनालाई प्रदान गरिनेछ ।

पुरस्कार दाता तथा कार्यक्रमका प्रमुख अतिथि मेयर मदनभक्त अधिकारीले कार्यक्रममा आफ्नो मन्तव्य राख्दै यो पुरस्कार रकम त्रिवेणी साहित्य प्रतिष्ठानमा निहित हुने भएकाले स्वविवेक प्रयोग गरी असली स्रष्टालाई प्रदान गर्न आग्रह गरे । मेयर अधिकारीले आफ्ना बुबा-आमाले सदैव सामाजिक सेवामा तल्लीन रहनुपर्ने शिक्षा दिनुभएकाले यो पुरस्कार कोषको निर्माण गरेको बताए ।

कार्यक्रममा विशेष अतिथिका रुपमा साहित्यकार एवं पत्रकार गोविन्दराज विनोदी, साहित्यकार गोपी सापकोटा, भीम शर्मा, विष्णुमाया पन्थी, भूमि पौडेल, मुक्तिनाथ न्यौपाने, भूमिका गैरे तिमिल्सिना, सूजन अधिकारीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम त्रिवेणी साहित्य प्रतिष्ठानका अध्यक्ष इन्द्रराज पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो ।

पुरस्कार घोषणा कार्यक्रमलाई त्रिवेणी साहित्य प्रतिष्ठानका सचिव रामहरि शर्माले सहजीकरण गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट