विकास गर्नेलाई भोट

ध्रुवराज खनाल
रत्ननगर, २० मंसिर ।

प्रतिनिधि सभा र प्रदेश सभाका लागि बिहीबार भोलि निर्वाचन हुँदैछ । निर्वाचनको सबै तयारी पूरा भइसकेको छ । मतदाता पनि प्रतिनिधि छान्न आँतुर छन् । निर्वाचन जितेर विकास गर्ने र जितिसकेपछि पनि आफ्नो ठाँउ आएर समस्या बुझ्ने खालका प्रतिनिधि होस् भन्ने सबैको चाहना छ ।

रत्ननगर १० गोर्खाली टोलका चेतकान्त अर्यालले पनि यस्तै चाहेका छन् । अहिलेसम्म धेरै पटक मतदान गरेपनि सोचेअनुसारका प्रतिनिधि नपाएको अर्यालको अनुभव छ । “पञ्चायतकालदेखि अहिलेसम्म मतदान गर्न छुटाएको छैन”, वि.सं. २००० सालमा जन्मिएका अर्याल भन्छन्, “तर मतदान गर्नु मात्रै जस्तै भएको छ, जनताको चाहना पूरा हुन सकेको छैन ।” आफू किसान भएका कारण किसानको प्रोत्साहन हुने खालका काम निर्वाचित प्रतिनिधिले गर्नेछन् भन्ने उनको चाहना छ । “निर्वाचनका बेला हात जोड्दै भोट माग्न आउँछन्, जितेपछि नाकमुख देखाउँदैनन्”, अर्यालले भने, “किसान त अझ मरेको म¥यै छन्, किसानको हित हुने काम अबका प्रतिनिधिले गर्नेछन् भन्ने आशा छ ।”

२०७२ सालको भूकम्पका कारण गोर्खा बक्राङबाट बसाइँ सरी चितवनको रत्ननगर आएका अर्याल गोर्खामा घर पूर्णरुपमा भत्किदासमेत राहत नपाएकोमा चिन्तित छन् । “भूकम्पले घर भत्काएको २ वर्ष भइसक्यो, राहतको नाममा एक रुपैयाँ पनि पाएको छैन, भोट हाल्न मनखुसी छैन”, अर्याल भन्छन्, “तर मताधिकारको प्रयोग त गर्नै प¥यो ।” आफ्नो समयमा मुलुकले विकासको गति लिन नसकेपनि भावी सन्ततीका लागि भने अब बन्ने सरकारले काम गरोस् भन्ने अर्यालको शुभेच्छा छ ।
खैरहनी–१० कि पूर्णमाया अधिकारीले अबका प्रतिनिधिले महिलाको हकहित र आर्थिक विकासलगायत काम गरोस् भन्ने चाहन्छिन् । “यसअघिका प्रतिनिधिले कामै नगरेको भन्ने होइन”, अधिकारी भन्छिन्, “महिलाले आर्थिक विकासलाई अझ बढी प्राथमिकता दिन अबको प्रतिनिधिले जरुरी छ ।” अधिकारीका अनुसार अबका प्रतिनिधिले महिलाको काम, महिलाको आर्थिक क्रियाकलापमा सहयोग गर्नुपर्छ ।”

महिलाको मात्रै विकास नभई गरिब, पिछडिएको वर्गको कदर पनि अबका प्रतिनिधिले गरुन् भन्ने उनको चाहना छ । चुनावका बेला ठूला कुरा गर्ने तर चुनाव जितिसकेपछि फर्केर प्रतिनिधि नआउने गरेको उनको पनि अनुभव छ । “जनताले दिएको मतको कदर हुनुपर्छ”, अधिकारी भन्छिन्, “चुनाव जितिसकेपछि गाउँफर्केर यहाँका समस्या, सुखदुःखमा साथ दिन अबका प्रतिनिधिको ध्यान जाओस् ।”

रत्ननगरका अर्याल र खैरहनीकी अधिकारीको मात्रै होइन सारा नेपालीको चाहना आफ्नो ठाँउको विकास होस्, सबै क्षेत्रमा सेवा सुविधा पाइयोस्, मुलुक समृद्धितिर अघि बढोस् भन्ने नै छ । नेताहरु घरदैलोमा जाँदा पनि सबै जनताले उही अपेक्षा सुनाएका छन् । नेताहरुले ‘हुन्छ, म गर्छु’ त भनेका छन् । तर, विगतका हाम्रा अनुभवले के सिकाएको छ भने नेताहरु चुनावका बेला जति आश्वासन बाँड्छन्, त्यसको एक तिहाइ पनि काम गर्दैनन् । अर्थात उनीहरु सम्भव नहुने कुरामा पनि हुन्छ भनिदिन्छन् । जनतालाई राष्ट्रिय राजनीति र कुनै वादमा भन्दा पनि स्थानीय विकासमा नै ज्यादा चासो छ । सबैले घरैमा पानी धारो झरेको, आँगनैबाट गाडी गुडेको, टोलमै अस्पताल भएको, जतिखेर पनि झलल बल्ने बिजुली जोडिएको हेर्न चाहेका छन् । त्यसपछि वाद र पार्टी त आफ्नै ठाउँमा छदैछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट