भरतपुर, २० मंसिर ।
बिहीबार हुन लागेको दोस्रो चरणको निर्वाचनका लागि चितवनमा तयारी तीव्र बनेको छ । जिल्लामा रहेका तीन क्षेत्रको १६१ मतदानस्थलको ४०८ केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक मतदान अधिकृत, कार्यलय सहयोगी आआफ्नो मतदान केन्द्रमा पुगेका छन् ।
कर्मचारी, मतपत्र, परिचयपत्र लगायतका निर्वाचन सामग्री पुगिसकेका छन् । निर्वाचनका लागि सुरक्षा व्यवस्था पनि मजबुत बनाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सुरक्षाका दृष्टिले पनि जिल्लाको सुरक्षालाई चुस्त बनाउँदै लगिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपक थापाले जानकारी दिए । उनका अनुसार मतदान केन्द्रको संवेदनशीलताका आधारमा १२ देखि ४९ जनासम्म सुरक्षाकर्मी परिचालन गरिएको छ । समग्र जिल्लाको सुरक्षाका लागि आवश्यकताअनुसार सुरक्षाकर्मी परिचालन गरिएको र संवेदनशील स्थानमा थप मद्दतसमेत तयारी अवस्थामा राखिएको उनले बताए ।
जिल्लामा रहेका मतदान केन्द्रमध्ये ५२ वटा मतदान केन्द्र अति संवेदनशील केन्द्रका रूपमा राखी विशेष सुरक्षा व्यवस्था गरिएको छ । जिल्लामा उच्च तहका नेतृत्वको प्रतिस्पर्धा भएकाले सुरक्षा व्यवस्थालाई अझै मजबुत बनाउनका लागि चारवटा तालिमप्राप्त कुकुरसहित दैनिक २५ जनाको टोलीले ‘डग स्मिकिङ’समेत सुरु गरेको थापाले बताए । दैनिक सात ठाउँमा र आवश्यकताअनुसार उम्मेदवारको घर तथा मतदानस्थलमा कुकुरको प्रयोग गरिने उनले जानकारी दिए । सुरक्षा व्यवस्था बलियो बनाउनका लागि प्रहरी नायब उपरीक्षक र प्रहरी निरीक्षकको नेतृत्वमा २५ मोबाइल टोली, सशस्त्र प्रहरी बलको ६० वटा मोबाइल टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धानका कर्मचारी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल र बाह्य घेरामा नेपाली सेनाले सुरक्षा दिने व्यवस्था मिलाइएको छ । जिल्लालाई १२ भागमा विभाजन गरी सादा पोसाकमा प्रहरी परिचालनसमेत गरिएको छ । निर्वाचनलाई लक्षित गरी नेपाली सेना र सशस्त्र प्रहरीले तीन निर्वाचन क्षेत्रमा बेस बनाएर सुरक्षा दिइरहेको छ । आवश्यकताअनुसार अझै थप गर्दै लगिने थापाले बताए । मौन अवधिमा हुन सक्ने घटना नियन्त्रणका लागि १५ वटा टोलीसमेत खटाइसकिएको छ ।





