
मुलुक संघीय प्रणालीमा गएपछि भइरहेको ऐतिहासिक प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको दोस्रो चरणको मतदान भोलि मंसिर २१ गते बिहीबार हुँदैछ । मंसिर १० गते भएका ३२ बाहेक बाँकी ४५ जिल्लामा भोलि बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान गरिनेछ । यो चुनावपछि मुलुक पूर्ण व्यवहारिकरुपमै संघीय ढाँचामा जाँदैछ । तर, प्रत्येक निर्वाचनमा हुने फरक–फरक मतदान प्रक्रियाले गर्दा मतदातामा समस्या पर्ने गरेको छ । यो निर्वाचनमा कसरी मतदान गर्ने त भनेर निर्वाचन आयोगले विभिन्न माध्यमको प्रयोग गरी जानकारी दिएको दिएकै छ । तैपनि मतदाता सबैले यो जानिसकेका छैनन् । त्यसैको कारण सधैंको निर्वाचनमा जस्तै यसपालि पनि कतिपय मत बदर हुनसक्ने सम्भावना छ । त्यसलाई टार्न सबैले एकचोटि मात्रै सिकेर जान आवश्यक छ ।

यो पटकको निर्वाचनमा मतदाताले संघीय प्रतिनिधि सभा एवं प्रदेश सभा सदस्य छान्न भोट खसाल्नुपर्ने हुन्छ । मतदाताले बहुमतीय प्रणालीबाट निर्वाचित हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि मतदान गर्नुपर्छ । बहुमतीय प्रणालीबाट प्रतिनिधि सभा र प्रदेश सभा सदस्यलाई मतदान गर्न छुट्टाछुट्टै रंगका दुई मतपत्र हुनेछन् । यसैगरी समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा र प्रदेश सभाका लागि रातो रङको एउटै मतपत्रमा दलहरुको चुनाव चिह्नमा मतदान गर्नुपर्नेछ । माथिल्लो खण्डमा प्रतिनिधि सभाका लागि समानुपातिक उम्मेदवारका पक्षमा मत संकेत गर्नुपर्छ भने दोस्रो खण्डमा प्रदेश सभाका समानुपातिक उम्मेदवारको पक्षमा मतदान गर्नुपर्छ । मत खसाल्ने बेलामा मतदाताले सबैभन्दा पहिले हरियो रंगको मतपत्र पाउनेछन् । हरियो मतपत्र पहिलो हुने निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधि सभा सदस्य चयनका लागि हो । मतपत्रमा भएमध्ये कुनै एउटा निर्वाचन चिह्नमा मात्र मतदाताले स्वस्तिक चिह्न लगाउनुपर्नेछ । त्यसपछि निर्वाचन अधिकृतले दोस्रो मतपत्र कालो रंगको दिनेछन् । यो मतपत्र बहुमतीय प्रणालीबाट प्रदेश सभा सदस्य चयन गर्नका लागि हुनेछ । यो मतपत्रमा भएका भएमध्ये एउटा निर्वाचन चिह्नमा मात्र मतदाताले स्वस्तिक चिह्न लगाउनुपर्नेछ । अन्तिममा मतदाताले रातो रङको मतपत्र पाउनेछन् । यो मतपत्र प्रतिनिधि सभा तथा प्रदेश सभा समानुपातिक प्रणाली निर्वाचित हुनेहरुका लागि हो । यसमा राजनीतिक दलको एउटा मात्र चुनाव चिह्नमा स्वस्तिक चिह्न लगाउनुपर्नेछ ।


यदि मतसंकेत गर्दा वा स्वस्तिक छाप लगाउदा मतदान अधिकृतको दस्तखत नभएको मतपत्रबाट मतदान गरेमा, औंठा छाप लगाइ वा तोकिएको छापबाहेक अरु चिह्न वा छाप लगाइ मत दिएमा, मतसंकेत चिह्न नबुझिने गरी लतपतिएको वा च्यातिएमा, उम्मेदवारको निर्वाचन चिह्न रहेको कोठामा मत संकेत नगरी अन्यत्र मत संकेत गरेमा, एकभन्दा बढी निर्वाचन चिह्न भएका कोठामा छुट्टाछुट्टै मत संकेत गरेमा, एकभन्दा बढी उम्मेदवारको निर्वाचन चिह्न भएको कोठामा मत संकेतको चिह्न पर्नेगरी मत संकेत गरेमा, कुनैपनि उम्मेदवारको निर्वाचन चिह्नमा मत संकेत नगरेमा, निर्वाचन आयोगद्वारा तोकिएको मतपत्र बाहेक अन्य मतपत्रद्धारा मतदान गरेमा, मतपेटिका भन्दा बाहिर राखेमा र जाली मतपत्र वा आयोगले बदर हुने भनी तोकेको मतपत्र फेला परेमा मत बदुर हुनेछ । नयाँ संविधानका अनुसार २७५ सदस्यीय हुने केन्द्रीय प्रतिनिधि सभामा १६५ जना प्रत्यक्ष निर्वाचित हुनेछन् भने ११० जना समानुपातिक प्रतिनिधित्वबाट चयन हुनेछन् । ५५० सदस्यीय प्रदेश सभामा भने ३३० जना प्रत्यक्ष निर्वाचन प्रणाली र २२० सदस्य समानुपातिक प्रतिनिधित्वका आधारमा चयन हुनेछन् । अमूल्य मत सक्षम र इमानदार नेता चुन्नमा प्रयोग गर्न सकौं । यसमा नै हाम्रो निर्वाचनको सफलता जोडिएको छ ।





