चितवन, १८ मंसिर ।
नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबार बाँदरमुढे घटना पीडितका लागि जनाएको ३ बुँदे प्रतिबद्धतामा सहमत नरहेको बाँदरमुढे घटना पीडित संघर्ष समितिले जनाएको छ । २९ जना पीडितले स्वीकार गरेको बुँदामा समितिका सबै पदाधिकारी तथा सदस्यको विमति रहेको समितिका उपाध्यक्ष कृष्ण अधिकारीले जनाए ।

“हाम्रो पहिलो माग भनेको घटनाका दोषीलाई कारबाही गरी हामीलाई न्याय दिलाउनुपर्छ भन्ने हो”, उनले भने, “त्यो नहुँदा अरु जस्तो सहमति भएपनि मानिन्न ।” यसअघि आइतबार नै विज्ञप्ति जारी गरी अध्यक्ष मुक्ति न्यौपानेले ‘केही व्यक्तिलाई प्रलोभनमा पारी गरेको सहमति मान्य नभएको’ बताएका थिए ।

सोमबार उनकै निवासमा पुगेका सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपाध्यक्ष अधिकारीले पनि अदालतबाट दिइएको न्याय नै वास्तविक न्याय हुने भन्दै त्यसबाहेक बुँदाले नपुग्ने बताए ।
सो सहमतिमा घटनामा ज्यान गुमाएकाको परिवारमध्ये काम गर्न सक्नेलाई रोजगारीको व्यवस्था गर्ने र नसक्नेलाई जीवनवृत्ति गर्ने, घाइतेहरुको औषधि औषधोपचार गर्ने तथा रोजगारीको व्यवस्था गर्ने र घटनास्थल बाँदरमुढेमा दश विघा क्षेत्रमा स्मारक सग्रंहालय र चिडिया घर निर्माण गर्ने उल्लेख छ । “यी बुँदामा हाम्रो आपत्ति होइन”, अधिकारीले भने, “मुख्य कुरा दोषीमाथि कारबाही गरी हामीलाई न्याय दिइनुपर्छ भन्ने हो ।”
‘माओवादी अध्यक्षले माफी माग्नुभएको छ, अब मिलेर जाऔं भन्नुभएको छ नि’ भन्ने जिज्ञासामा अधिकारीले भने, “न्याय नै हराइसकेपछि अरु राहतले केही काम गर्दैन ।”
तर, घटना पीडितहरुको तर्फबाट हस्ताक्षरकर्ताहरु भने अब सधैं यही पाराले नहुने भन्दै प्रचण्डले जनाएको सहमतिमा विश्वास गरेर अघि बढ्नुपर्ने बताउँछन् । २९ जनामध्ये एक हस्ताक्षरकर्ता विकास लामिछानेले पटक–पटक आश्वासन पाएपनि वास्तविक राहतका लागि काम नभएको तर यसपालि भने प्रचण्डबाट सहमति कार्यान्वयनको अपेक्षा गरेको बताए । “हामीले स्वतस्फूर्त सबैलाई आह्वान ग¥यौं”, उनले भने, “विश्वासको आधारमा सहमति जनाएका हौं, विमति जनाउनेहरु आएनन् ।”

सहमति कार्यान्वयनको लागि माओवादी केन्द्रबाट ३ जना, पीडितको तर्फबाट ३ जना र माडी नगरपालिकाको तर्फबाट १ जना सम्मिलित समिति बनाइने सहमतिसमेत आइतबार नै भएको छ । त्यसलाई माडी नगरपालिकाका मेयर ठाकुर ढकालले पढेर सुनाए ।
चुनावी सभाकालागी माडी पुगेका प्रचण्डलाई बाँदरमुढे घटनाका पीडितले पुष्पगुच्छाले स्वागतसमेत गरेका थिए । प्रचण्डले पनि माडीमा भएको सभामा सम्बोधन गर्दै सहमतिले आफूलाई जिन्दगीको सबैभन्दा बढी खुसी दिएको प्रतिक्रिया दिएका थिए ।
के हो विमति ? हेर्नुस् भिडियो





