पठन संस्कृति अभियानको चौथो शृङ्खला भानु जयन्ती विषेश

गैंडाकोट, २९ असार ।
पठन संस्कृति अभियानको चौथो शृङ्खलामा आदिकवि भानुभक्त आचार्यलाई स्मरण गरिएको छ ।

महिनाको अन्तिम शनिबार विजय विकास स्रोत केन्द्रको सभाहल गैंडाकोटमा आयोजना गरिँदै आएको यो अभियानको चौथो शृङ्खलाको समयमा २११ औँ भानुजयन्ती परेकाले यो शृङ्खलालाई भानुजयन्ती विशेष बनाइएको कार्यक्रमका संयोजक त्रिलोचन सापकोटाले बताए ।

कार्यक्रममा वरिष्ठ पत्रकार तथा लेखक पुरुषोत्तम दाहाल प्रमुख अतिथि थिए । प्रमुख अतिथि सुवेदीले गाउँशहरमा पुस्तकालय बनाएर पठन संस्कृतिलाई अभियानका रूपमा लैजान सकिने बताए । दाहालले गैंडाकोटमा थालिएको यो अभियानलाई निरन्तरता दिन आग्रह गरे ।

गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति गोविन्दराज विनोदीले नगर पुस्तकालयलाई वृहत् बनाएर पठन संस्कृति अभियानलाई अगाडि बढाउन सकिने बताए । कार्यक्रममा प्रमुख अतिथि दाहालले कवि गोविन्दराज विनोदीलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । कवि विनोदी गत बिहीबार नेपाल सरकारले प्रदान गरेको देवकोटा राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका थिए ।

पठन संस्कृति अभियानको पुस्तक टिप्पणी शृङ्खलामा गोकुल भण्डारीले `बुह्रान´ उपन्यासको चर्चा गरे । महानन्द ढकालले लेखेको यो उपन्यासमा बाँके, बर्दिया र आसपासका थारु जातिको जनजीवनलाई चित्रण गरिएको बताए ।

त्यसैगरी सन्देश घिमिरेले रामलाल जोशीको नयाँ पुस्तक `बाआमा´को चर्चा गरे भने संसार सापकोटाले आनी छोइङ डोल्माको पुस्तक `फूलको आँखामा´ को चर्चा गरे ।

डोलराज पाण्डेले नवराज लम्सालको मदन पुरस्कार प्राप्त कृति `अग्नि´ महाकाव्यको चर्चा गरे । पढ्ने बानीको विकासलाई मोबाईलले छोप्दै गैरहेको अवस्थामा गैंडाकोटमा पठन संस्कृति अभियान थालिएकोमा पाण्डेले खुसी व्यक्त गरे । त्यसैगरी नेपाल जेसीजका पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष एवम् युवा नेता गोकुल सापकोटाले धार्मिक ग्रन्थ `महाभारत´का प्रसङ्गलाई प्रस्तुत गरे । उनले भानुभक्त शीर्षकको कविता पनि सुनाए । त्यस्तै दुधराज मल्ल ठकुरीले `ग्लुकोज गडनेस´ पुस्तकको चर्चा गरे । हाम्रो शरीरमा ग्लुकोजको महत्त्व कति छ र यसले कसरी काम गर्छ भन्ने सन्दर्भ केलाउँदै स्वस्थ रहने उपायबारे मल्लले चर्चा गरे । कार्यक्रममा रामचन्द्र चालिसेले हनुमान चालिसाको व्याख्या गर्दै श्लोकहरु सुनाएका थिए ।

त्यस्तैगरी त्रिवेणी साहित्य प्रतिष्ठानका अध्यक्ष इन्द्रराज पौडेल, मुना धनञ्जय र सिर्जन लम्सालले भानुभक्तका बारेमा लेखिएका कविता प्रस्तुत गरे । कार्यक्रममा चितवन साहित्य परिषद्का अध्यक्ष केदारनाथ खनाल र त्रिवेणी साहित्य प्रतिष्ठानका अध्यक्ष इन्द्रराज पौडेललाई मायाको चिनो प्रदान गरिएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट