आठ जना स्रष्टालाई गैंडाकोटमा सम्मान

गैंडाकोट, १६ असार ।
गैँडाकोटमा विभिन्न विधाका आठ जना स्रष्टालाई सम्मान गरिएको छ । त्रिवेणी साहित्य प्रतिष्ठानको ३५औँ स्थापना दिवसका अवसरमा शनिबार आठ जना स्रष्टालाई नगदसहित सम्मान गरिएको हो ।

प्रतिष्ठानले ‘त्रिवेणी धर्मटीका काव्य पुरस्कार’बाट डाक्टर गीता त्रिपाठी, ‘त्रिवेणी रामचन्द्र अन्नपूर्ण हरिमाया नाट्य पुरस्कार’बाट गोपी सापकोटा, ‘त्रिवेणी प्राडा होमनाथ भगवती कला वाङ्मय पुरस्कार’बाट रमेश श्रेष्ठ, ‘त्रिवेणी कविवर तीर्थराज स्मृति पुरस्कार’बाट मनोज भण्डारीलाई सम्मान गरेको हो ।

यस्तै, ‘त्रिवेणी पण्डित नीलकण्ठ काव्य पुरस्कार’बाट प्रकाश चापागाईँ, ‘त्रिवेणी रामहरि श्रेष्ठ कला पुरस्कार’बाट बरुणबाबु घिमिरे, ‘त्रिवेणी गोविन्द भीम कलाश्री पुरस्कार’बाट मुकेश मल्ल तथा ‘त्रिवेणी इन्द्रराज काव्य पुरस्कार’बाट प्रभा भट्टराईलाई सम्मान गरिएको छ । त्रिवेणी धर्मटीका काव्य पुरस्कारको राशि रु २० हजार तथा अरु पुरस्कारको राशि जनही रु १५ हजार रुपैयाँ रहेको प्रतिष्ठानका उपाध्यक्ष भीम शर्माले जानकारी दिए ।

स्रष्टा सम्मान तथा पुरस्कार अर्पण कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव धनप्रसाद सुवेदीले आफूहरूले भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम गर्दै आएको बताए । “हाम्रा भाषा, साहित्य, कला, संस्कृति रहेमा हाम्रो पनि प्रतिष्ठा र गौरव रहन्छ । त्यसैले यिनको संरक्षण र संवर्द्धनका लागि प्रज्ञा प्रतिष्ठानसहित सबैको सामूहिक भूमिका आवश्यक छ”, उनले भने । पालिकाले ध्यान नदिए स्थानीय भाषा, साहित्य, कला, संस्कृति लोप हुने भन्दै सुवेदीले सहकार्य र समन्वयका साथ संरक्षणका काम गर्न आफूहरू तयार रहेको बताए ।

कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य अमर न्यौपानेले स्थानीयस्तरमा रहेका सङ्घसंस्थाले कला र साहित्य संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएका बताए । त्रिवेणी साहित्य प्रतिष्ठानका अध्यक्ष इन्द्रराज पौडेलले स्रष्टाहरूको सम्मानका लागि अक्षयकोष स्थापना गरिएको र त्यसबाट प्रतिष्ठानले बर्सेनि पुरस्कार वितरण गर्दै आएको बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट