भरतपुर, ९ असार ।
संस्थागत विद्यालय अर्गनाइजेशन (आइ.एस्.ओ.) चितवनको आयोजना र मिलन इङ्ग्लिस सेकेन्डरी स्कूल, भरतपुर–१८ को सह–आयोजनामा “कृषि उत्पादनमा बढ्दो विषादीको प्रयोग न्यूनीकरणमा विद्यार्थीको भूमिका” शीर्षकमा अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा एभरेष्ट एकेडेमी भरतपुर–२२ की छात्रा प्रकृति सापकोटा प्रथम, न्यू भिजन एकेडेमी भरतपुर–१९ की छात्रा जयन्ती लम्साल द्वितीय, उषा इङ्ग्लिस बोर्डिड्ड स्कूल भरतपुर–१५ की छात्रा आयुषा गुरुङ तृतीय र ज्ञानज्योति इङ्ग्लिस स्कूल, भरतपुर १४ की छात्रा सुरुना गुरुङले सान्त्वना स्थान हासिल गरे ।
संस्थागत विद्यालय अर्गनाइजेसन चितवनका अध्यक्ष वेदनिधि अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि प्याब्सन चितवनका उपाध्यक्ष भानुभक्त अर्याल रहेका थिए । सह–आयोजक मिलन इङ्ग्लिस सेकेन्डरी स्कूलका प्रिन्सिपल किर्तिनिधि अर्यालले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको निर्णायकमा शैक्षिक व्यक्तित्वहरु श्रीप्रसाद ढुङ्गाना र अरुणविलाश अधिकारी थिए ।
प्रमुख अतिथि प्याब्सन चितवनका उपाध्यक्ष भानुभक्त अर्यालले आइ.एस्.ओ. चितवनले गर्दै आएका विभिन्न अतिरिक्त क्रियाकलापहरुले विद्यार्थीहरुको अन्तर्निहित प्रतिभाको प्रष्फुटनमा सहयोग पुग्ने बताए । कार्यक्रममा संस्थागत विद्यालय अर्गनाइजेशनका सदस्य विद्यालयहरुको पूर्ण सहभागिता रहेको थियो ।





