मकवानपुर, ७ असार ।
मकवानपुर प्रहरीले २ करोड ७१ लाख मुल्य बराबरको भेप (इलेक्ट्रिक चुरोट) सहित ५ जनालाई नियन्त्रणमा लिएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त प्रयासमा ५ जनालाई भेप र भेपको फ्लेवरसहित नियन्त्रणमा लिएको मकवानपुर प्रहरी उपरीक्षक सीताराम रिजालले बताए ।
मकवानपुर हेटौंडा उप महानगरपालिका वडा नम्बर ११ थानाभर्याङस्थित सडक खण्डमा काठमाडौँबाट हेटौंडा हुँदै भारतको दिल्लीतर्फ जाँदै गरेको ना ६ ख ७१६३ नम्बरको यात्रुबाहक बसबाट भेप र मानिसहरु नियान्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
बसको पेसेन्जर बस्ने सिट माथि सिलिङको भागमा फल्स बटम बनाई सो भित्र भन्सार छली चोरी पैठारी गरी ल्याईएको अन्दाजी मुल्य २ करोड ७१ लाख २१ हजार, ७८० रुपैयाँ मुल्य बराबरको ५८ कार्टुन भेप तथा भेपको फ्लेवरहरू फेला परेको रिजालले जानकारी दिए ।
सामान ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले बस चालक दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर २ बस्ने वर्ष ३७ को सलाम मोक्तान, सह चालक उदयपुर जिल्ला कटारी नगरपालिका वडा नम्बर ११ बस्ने वर्ष २७ को प्रबिन्द्र राना, नुवाकोट जिल्ला दुप्चेश्वर गाउँपालिका वडा नम्बर ७ बस्ने बर्ष ३९ को ईन्द्रबहादुर दर्जी, दुप्चेश्वर ७ कै वर्ष ३० को सन्तोष भुसाल र धनकुटा जिल्ला बेलारा नगरपालिका वडा नम्बर १६ बस्ने वर्ष २९ को राज कुमार हिमाङलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले प्रारम्भिक अनुसन्धानबाट केही तथ्यहरु खुलेको समेत दाबी गरेको छ । उल्लेखित समानहरु काठमाण्डौको बालाजु बसपार्क भन्दा माथि भत्केको पुलको एरियाको रमाईलो डांडाबाट लोड गरेको, बसमा फल्स सिलिङ पहिलेदेखि नै रहेको, बस नेपाल दिल्ली चल्ने आधिकारिक बस नभएको, बस केहि व्यक्तीहरुले भाडामा लिई एक महिनाको लागि नेपाल, भारत र अन्य देशका यात्रुहरुलाई भारत घुमाउने भनि नेपाल स्थित भारतीय एम्बेसीबाट ५ असार २०८१ मा रोड पर्मिट लिईएको पाइएको प्रहरी उपरीक्षक रिजालले बताए ।
यसैगरी पक्राउ परेका व्यक्तीहरु मध्ये केहि व्यक्तीले पहिले पनि पटकपटक यस्ता किसिमको भन्सार छलिका अबैध सामानहरु ल्याउने लैजाने गरेको समेत खुल्न आएको रिजालले बताए ।





