धार्मिक अन्धविश्वास चिरेर चरैवेति

पेज टर्नर प्रा.लि.ले जीवन जीवन्तद्वारा रचित ‘चरैवेति’ उपन्यास प्रकाशन गरेको छ । धार्मिक/सामाजिक उपन्यास चरैवेति पठनीय मात्रै होइन, संग्रहणीय पनि छ । सुन्दर चित्रसहितको आवरण रहेको एवं २४३ पृष्ठको आयाममा संरचित यो उपन्यासमा कुनै भूमिका छैन । छ भने केवल सर्जकको सरगम छ । पुस्तकको अन्त्यमा एकोम बाइबल पाठशाला ललितपुरका संयोजक किरण सिंजाली मगरद्वारा ‘इसाई समाजको वास्तविक चित्र’ शीर्षकमा लेखिएको शुभकामना मन्तव्य छ । आवरणको पछिल्लो भागमा प्रकाशकको तर्फबाट अत्यनतै सुन्दर भाषामा लेखिएको एक अनुच्छेद छ ।

विभिन्न साहित्यिक पत्रिका र जर्नल समेतको सम्पादन गरिसकेका जीवन जीवन्तले यसअघि अधिआख्यान ः सिद्धान्त र विश्लेषण (२०६९), उत्तरआधुनिक साहित्य ः सिद्धान्त र विश्लेषण (सहलेखन–२०६९), सैद्धान्तिक आधार ः प्रायोगिक विश्लेषण (२०७५) र उपन्यास विमर्श (२०८०) समालोचनासंग्रह पाठकसामु पस्किसकेका छन् । चरैवेति उपन्यास (२०८०) जीवन्तको पहिलो औपन्यासिक कृति हो । त्यसो त उनी कविता पनि लेख्छन् । यस मानेमा उनी कवि पनि हुन् ।

चरैवेति उपन्यासमा धेरै पात्र छन् । मुख्य पात्रचाहिँ म पात्र नै हो । यसमा म पात्रका बुबा, आमा, दुई दिदी, एउटी बहिनी, अकबरे बडी बा, कोल्भटे काका, माइला काका, साहिँला काका, कान्छा काका, कोल्भटेनी काकी, हजुरबुवा, हजुरआमा, बुहारीहरु, भान्दाइ, ठूले राई, माइला विश्वकर्मा, ठूले राईको बा, ठूले राईकी आमा, साधु सुन्दरसिंह, डिआर थुलुङ, साम्लिङे बुढा÷बुढी, साम्लिङे जेठा÷माइला, धामी कान्छा, घिमिरे भाइ, घिमिरेनी, आइते तामाङ, छ थरे कान्छा, चौकीदार जेठा÷माइला÷साहिँला, चौकीदार साहिँलाकी श्रीमती, पण्डित बाजे, चौलागाइँ दाजुभाइ, कारबारी, मोटा मगर, सोम, प्रहरी हवल्दार÷असई÷सई÷इन्स्पेक्टर, पास्टर, मास्टर काइँला, पोकले दर्जी पनि छन् । उपन्यास सर्जकले यिनै पात्रहरुलाई खेलाउँदै, कतै यिनीहरुसँगै संवाद गर्दै÷गराउँदै, कतै यिनै पात्रहरुबिच झगडाको अगुल्टो झोसाउँदै, कतै पानी छम्कँदै, कतै ज्ञानगुनका कुराहरु साटासाट गर्न लगाउँदै अन्धविश्वासलाई चिरेर अगाडि बढ्नुका साथै शाश्वत सत्य र दिव्य ज्ञानको खोजी तथा अन्वेषणमा जुटेका छन् । यस अर्थमा चरैवेति उपन्यासको नाम सार्थक देखिन आएको छ ।

यस उपन्यासमा म पात्रको बुवाले आफ्ना दुई छोरी बिरामी हुँदा परम्परादेखि चलिआएको चलन देवीदेवतालाई सम्झेर भाकल गरी थानी माई तथा आफ्नै घरको कोठामा रहेका आफ्नै कुलदेवताको नित्य पूजाआजा गर्छन् । यति गर्दागर्दै पनि कलिला मुनाजस्ता दुई छोरीलाई कालले चटक्क चुँडेर लगेपछि दिक्क भई उनले आफ्नो घरमा रहेका कुलदेवता नै फालिदिन्छन् । यो विषयलाई लिएर उनको परिवारमा उनी र उनका भाइहरुबिच आन्तरिक विद्वेष तथा विग्रह हुन्छ । यही विद्वेषको कारण उनी पहाडको थातथलो छोडी आफ्नो जहान पपिरवार लिएर मधेश झर्छन् । मधेशमा रहँदा बस्दा उनको संगत इसाई धर्मका विश्वासीहरुसँग हुन्छ । उनीहरुको कुरा सुनेर उनी इसाई धर्मतिर लहसिन्छन् र तिनै विश्वासीहरुले अवलम्बन गरेको बाटोको अनुसरण गर्न पुग्दछन् ।

सुरुमा उनी निरक्षर हुन्छन् । मधेशमा रहँदा बस्दा मास्टर काइँलाको संगतले लेखपढ गर्न जान्ने भएपछि स्वाध्ययनबाट उनलाई बाइबलका विरोधाभाषी कुराहरुको ज्ञात हुन्छ । जसबाट उनको इसाई धर्मप्रतिको आकर्षण विकर्षणमा परिणत हुन पुग्छ । त्यति नै बेला पहाड घरमा उनको बुवाको देहावसान भएकोले काजक्रिया गर्नका लागि उनी पहाड जान्छन् । त्यस्तो शोकको बेलामा पनि उनको कान्छो भाइले बाइबले भएर बुवाको चोखो कर्म अर्थात् पितृ कर्म बिटुल्याउन आएको भनी उनलाई आरोप लगाउँछ । उनका माइला र साइँला भाइले कान्छो भाइलाई आफ्ना दाजुलाई यस्तो नगर्नका लागि सम्झाउँछन् । उनले अर्थात् म पात्रको बुवाले आफूले बाइबलप्रतिको विश्वास त्यागेको कुरामा सबैलाई विश्वस्त पार्छन् । भाइहरुको धर्म र संस्कृतिप्रतिको अन्धभक्तिलाई विभिन्न तर्कसंगत कुरा गरेर सम्झाईबुझाई गरी उदाङ्गो पारिदिन्छन् । उनको पूरै कुरा सुनिसकेपछि उनीहरुको दिमागमा घाम झुल्कन्छ । त्यसपछि उनीहरुबिचको आपसी मनमुटाव र अज्ञानताको अँध्यारो हटेर जान्छ । भाइभाइबिचको आपसी सद्भाव र समझदारी कायम भई मेलमिलाप हुन्छ ।

तेह्र दिनको काम सकिएपछि उनी जीवनको लक्ष्य प्राप्तिको लागि ज्ञान तथा प्राकृतिक धर्मको खोजीमा ‘चक्षु–चक्र’ मा जाने भनी घर छोडेर निस्कन्छन् । उपन्यासमा चक्षुको अर्थ हेराई तथा दृष्टिकोण र चक्रको अर्थ घुम्नु तथा गतिशील हुनु हो भनी बताइएको छ ।

उपन्यासमा उल्लेख गरिएका सबै कुरा यो लेखमा अटाउन सम्भव छैन । त्यसैले उपन्यासका विशेषता र उपलब्धिहरुलाई निम्न बमोजिम सूत्रबद्ध गर्न सकिन्छ ः

– उपन्यासमा ठाउँठाउँमा बहुतै सुन्दर ढंगबाट प्रकृतिको चित्रण गरिएको छ । पढ्दै जाँदा पाठक सोही ठाउँमा पुगेको अनुभव गर्छ ।

– उपन्यासमा बालमनोविज्ञान छ ।

– समाजमा प्रचलित छुवाछुत तथा छोइछिटो प्रथाको विरोध गरिएको छ ।

– उपन्यासमा भूत लाग्ने, बोक्सी लाग्ने, कुल देवताले दुःख दिने, जोखाना हेर्ने÷हेराउने, भाले÷बोका मन्सिने, भाकल बुझाउने र घरमा कोही बिरामी भएमा धामी÷झाँक्री बोलाउने जस्ता हाम्रो समाजमा व्याप्त कुरीति तथा कुसंस्कारको विरोध तथा भत्र्सना गरिएको छ ।

– उपन्यासमा क्रिश्चियन धर्मको वास्तविक चित्र छ । धर्मशास्त्र, विज्ञान र प्राकृतिक नियमबारे अद्भूत खोजी तथा अन्वेषण छ ।

– उपन्यासमा लिम्बुु जातिको इतिहास खोतल्ने प्रयास गरिएको छ ।

– कलाबिनाको कला वास्तविक कला बन्न नसक्ने र कला जहाँसुकै आवश्यक पर्ने भनी कलाको महत्व र उपयोगिताबारे प्रकाश पारिएको छ ।

– हाम्रो समाजमा प्रचलनमा रहेका कुरीति र कुसंस्कारको जरो उखेल्नु पर्ने, जातिप्रथा, अशिक्षा जस्ता रोगको उन्मुलन हुनुपर्ने जस्ता महत्वपूर्ण कुरा एकातिर छ भने अर्कोतिर अन्य कुनै धर्ममा सानोठूलो जात नभएको र हाम्रो हिन्दू धर्ममा मात्रै जातिप्रथा कलंकको रुपमा रहिरहेको उल्लेख गरिएको छ । यस किसिमको जातिभेदको कारण तल्लो जातका भनिएकाहरुमा हीन भावना उत्पन्न भई धर्मान्तरणको लागि प्रेरित भएको कुरा पनि उल्लेख गरिएको छ ।

– परिश्रम, लगाव र साधना भए नसोचेको उपलब्धि पनि हासिल गर्न सकिन्छ भन्ने सन्देश पनि छ उपन्यासमा ।

– यस उपन्यासमा बाइबललाई विरोधाभाषले भरिपूर्ण दस्तावेजको रुपमा प्रस्तुत गरिएको छ ।

– पूर्वीय ज्ञान र दर्शन पश्चिमी ज्ञान र दर्शनभन्दा उन्नत छ र यसको महत्ता बढी छ तर पास्चर, पुरोहित तथा पादरीहरुले धर्मशास्त्रको आफू अनुकूल व्याख्या गर्नाले धमएमा विकृति र विसंगति मौलाएको हुँदा त्यस्ता विकृति र विसंगतिको मूलोच्छेदन गरी कमी कमजोरीहरु सच्याउँदै जानु पर्ने सन्देश उपन्यासमा छ ।

– विज्ञान र धर्म के हो ? भन्ने कुरा बडो सुन्दर ढंगले व्याख्या गरिएको छ । प्रकृतिभन्दा ठूलो शक्ति केही नभएको, विज्ञान प्राकृतिक नियमको खोजी भएको र धर्म समग्र जगतको कल्याण भएको कुरा उपन्यासमा छ । प्रकृतिको नियमलाई बुझेर तदनुरुप मानवको स्वभाव र व्यवहारमा परिवर्तन गर्नुपर्ने सन्देश पनि छ उपन्यासमा । यस उपन्यासले जीवन र जगतलाई हेर्ने दृष्टिकोण सम्यक र उदात्त हुनुपर्ने शिक्षा पनि दिएको छ ।

– उपन्यासको भाषा, शैली स्तरीय र बोधगम्य छ । पढ्दै जाँदा सललल बग्ने किसिमको छ । ठाउँठाउँमा लोकमा प्रचलित उखानटुक्काहरुको प्रयोग गरिएको छ । जस्तै ः थाकेको बेला पाकेको केरा, बाँदरलाई भ¥याङ आदि । यसले उपन्यासमा मिठास र रोचकता थपेको छ ।

– यस उपन्यासमा भरपुर जीवन दर्शन छ । सुन्दर ढंगले इसाई धर्मको शल्यक्रिया गरिएको छ ।

– प्रकृति गतिशील छ । हामी यही प्रकृतिको उपज हुनुको नाताले गतिशील हुनुपर्छ । हाम्रो विचार र दृष्टिकोणको दायरा फराकिलो हुनुपर्छ । प्राप्त उपलब्धिमा सन्तोष मानेर बस्नु हुँदैन । अग्रगामी सोच र चिन्तन लिएर निरन्तर अगाडि बढ्नुपर्छ भन्ने यस उपन्यासको मूल सन्देश छ ।

– यस उपन्यासले पहाडको पुख्र्यौली थलो छोडेर मधेश तथा तराईतिर झर्ने आमनेपालीको कथा, व्यथा बोकेको छ ।

– उपन्यासको पेज नम्बर ७१ देखि २३७ सम्म म पात्रको बुवाले लेखेको डायरीमा भएका कुरा उपन्यासकारल आफ्नै परिमार्जित भाषा, शैलीमा लेखेका छन् । उक्त डायरी सामान्य लेखपढ मात्र गर्न जान्ने व्यक्तिले लेखेको हुँदा यसको भाषाचाहिँ जनसाधारणले गाउँघरमा बोल्ने जनजिब्रोको स्थानीय भाषामा लेखेको भए उपन्यासको रुपरेखा अर्कै हुने थियो । त्यसको प्रभावकारिता अझै बढ्ने थियो ।

– २४३ पेज पूरै डायरीको शैलीमा लेखिएको छ भने बाँकी पेज प्रचलित शैलीमा नै शीर्षक दिएर लेखिएको छ । यस अर्थमा उपन्यासको शैलीमा नवीनता छ ।

यो संसारमा सीमारहित केही र कोही पनि छैन । अतः यो उपन्यास पनि अछुतो रहने कुरै भएन । कतैकतै मुद्राराक्षसले गर्दा वाक्य गठन नमिलेको देखिन्छ । हुन त यो सर्जकको गल्ती नभई टंकण गर्नेको गल्ती हुन पनि सक्छ । मलाई लाग्छ, यो असावधानी पुस्तक प्रकाशकको हतारोमा अन्तिममा सर्जक स्वयंबाट प्रुफरिडिङ तथा पुनर्पठन नभएर पनि होला । प्रायसः यस्ता त्रुटिहरु सबैजसो सर्जकका कृतिमा देख्न पाइन्छ । यस उपन्यासका सर्जकले अब उप्रान्त लेखिने कृतिहरुमा सावधानी अपनाउनु पर्ने देखिन्छ ।

उपन्यासमा केही पंक्तिहरु सुन्दररुपमा आएका छन् । जस्तै ः

– डाँडामाथिको शिरमा श्रीपेच लगाउँदै घाम झुल्किन्थ्यो ।

– अँगेनाका दाउराहरु मसँग रिसाएका थिए ।

– पहाडी चिसोभित्रको गतिशीलता र तराईको तातोभित्रको शिथिलता खोलाको नियतिमा विपर्यास भेट्टाएँ ।

– समुद्र मनको गहिराईमा विचारको ज्वारभाटा बेजोडसँग चलिरहेको छ ।

– बिहान उज्यालोको मुना पाउलिँदै थियो ।

– अचानक मेरा गालामा बिजुली चम्कियो ।

– मेरो मनमा कौतुहलताको मदानीले उत्सुकताको दही मथ्न थाल्यो तर समाधानको नौनी लाग्नै सक्दैनथ्यो ।

यी र यस्ता वाक्यहरु उपन्यासमा बग्रेल्ती छन्, जसलाई पढ्दा सुन्दर कविताका पंक्ति पढिरहेको आभाष हुन्छ । सर्जक जीवन जीवन्तको लेखनीको निरन्तरताको कामना । आगामी दिनहरुमा योभन्दा सुन्दर र उम्दा कृतिहरु पढ्न पाइयोस् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट