विनोदबाबु रिजाल
चितवन, १७ मंसिर ।
एकमात्र पुत्र गुमाएपछि पीडामा छटपटिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो चुनावी क्षेत्र चितवन–३ को टाउको दुखाई बनेको माडीमा आइतबार प्रस्तुत भए ।
माडीमा तेस्रो पटक सार्वजनिक सभामा उपस्थित भएका उनी अरुबेला जस्तो तनाव र अँध्यारो अनुहारमा देखिएनन् । अनुहारले त बताइरहेकै थियो उनी आज एकदम खुसी छन् भनेर, उनी आफैले भने, “जिन्दगीमा सबैभन्दा खुसी लागेको दिन हो आज ।”

खुसीको कारण
२०६२ सालमा माडीको मुख्य बजार बसन्तपुरबाट ५ सय मिटर पर बाँदरमुढेमा सर्वसाधारण यात्रु चढेको यात्रुबसमा बसमा बम हानेर पड्काएको थियो माओवादीले । १० वर्षे युद्धकालको सबैभन्दा ठूलो गल्तीका रुपमा यसलाई नै लिइन्छ । यही घटनाले प्रचण्डलाई सधैं तनाव दिइरहन्थ्यो । उनलृे पटक–पटक यसका पीडितलाई राहत दिने घोषणा गरे । कतिपय कार्यक्रम पनि ल्याए । तर, पीडितलाई कुनै सम्बोधन भएको थिएन ।

उनी माडी झर्दा घटना पीडितलाई पुलिस र वाईसीएल लगाएर घरमै थुन्नुपर्ने अवस्था आएको थियो । केही दिनअघि बाँदरझुला जाँदा सबै पीडितको घरमा पहिल्यै पुलिस र वाईसीएल खटाएका थिए । यसपालि पनि यही घटनाका कारण माडीको भोट घट्ने ठूलो डर थियो ।
आइतबार माडी जाँदा उनलाई पुष्पगुच्छा नै दिएर स्वागत गर्न तयार भए तिनै घटना पीडित । उनीहरुले ‘पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई स्वागत छ’ लेखिएको व्यानर नै टाँगेर दाहाललाई स्वागत गरे ।

त्यसपछि तीनबुँदे सहमतिपत्रमा हस्ताक्षर गरे । “मेरो जिन्दगीको सबैभन्दा खुसीको दिन हो आज”, सम्बोधनका क्रममा दाहालले भने, “बाँदरमुढे घटना जनयुद्धकालको सबैभन्दा ठूलो गल्ती थियो, यसका पीडितले नै मलाई स्वागत गर्नुभयो, तपाईंहरुको राहतका लागि भएका सहमति कार्याृन्वयन गरेरै छाड्नेछु ।”

यो भनिरहँदा उनी भक्कानिए । “बाँदरमुढे घटना हुँदा म परिवारसँगै रोल्पा थिएँ । घटना सुनेपछि साह्रै दुःखी भएँ, त्यो साँझ खाना खान सकिनँ र सुत्न पनि सकिनँ”, उनी निकै भावुक भएर भने, “मलाई जहिल्यै यो निकै दुःखदायी घटनाले भावुक बनाइरहन्छ ।”

उनले बाँदरमुढे घटना भएलगत्तै आफूले वक्तव्य निकालेर गल्ती स्वीकारेको प्रसंग निकाल्दै बीचमा राहतका लागि धेरै प्रयास गरेपनि पीडितमाथि राजनीति गर्नेहरुले सफल हुन नदिएको बताए । “तपाईंहरुको उपचारका लागि, रोजगारीका लागि, परिपुरणका लागि सिंगो सरकार आउनेवाला छ”, उनले पीडित परिवारलाई आश्वासन दिदैं भने, “यतिबेला केपी ओली र प्रचण्डले बोल्नु भनेको पूरै सरकारले बोल्ने जस्तै हो ।”
खुसीको कारण अर्को पनि
दाहाल खुसी हुनुको अर्को कारण पनि थियो । कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का महामन्त्री तथा बहालवाला राज्यमन्त्री नै आएर वाम गठबन्धनका लागि भोट मागे । दाहालको प्रतिद्वन्द्वी विक्रम पाण्डे राप्रपा प्रजातान्त्रिककै उपाध्यक्ष हुन् । तर, त्यही पार्टीका महत्वपूर्ण हस्ती महामन्त्री रेशम लामा नै गठबन्धनलाई भोट माग्न उनकै क्षेत्रमा पुगे । उनले भने, “विक्रम पाण्डे ‘बाँदरको पुच्छर लौरो न हतियार’ भनेजस्तै हुन्”, उनले भने, “अब ठेकेृदारहरुबाट देश निर्माण सम्भव छैन, अब वाम गठबन्धनले मात्रै देश विकास गर्न सक्छ ।”

यो घटनाले पनि प्रचण्डलाई ठूलो राहत दिएको छ । सुरुमा कमजोर संगठन लिएर चितवन–३ छिरेका उनको भरोस एमालेका मतदाता नै थिए । तर, उनले पाण्डेका भरोसा गरेका व्यक्तिहरुलाई एकपछि अर्को गरी आफूतिरै तान्दै गएपछि बलियो भएको महसुस गरेका छन् । यसअघि उनले पाण्डेको पार्टी राप्रपा प्रजातान्त्रिकका जिल्ला अध्यक्ष बद्री तिमल्सिनालाई माडीकै सभामार्फत माओवादी छिराएका थिए ।





