सहरमुखी वर्तमान पुस्ताको प्रवृत्तिप्रति व्यङ्ग्य प्रहार

विषय प्रवेश :

चितवनका कवि गणेश श्रमण (गणेश प्रसाद शर्मा , २०३०) पचासको दशकदेखि चिरपरिचित साहित्यिक नाम हो । चिसाप, अभिव्यञ्जना साहित्य प्रतिष्ठान जस्ता साहित्यिक सङ्घसंस्थासँग संलग्न कवि  श्रमणले  विशेष गरी  कथा र कवितामा कलम चलाएको देखिन्छ। विवशता (२०४९) कविताबाट आफ्नो औपचारिक साहित्यिक यात्रा थालनी गरेका उनका शब्दहरू अविराम यात्रामा (संयुक्त कवितासङ्ग्रह , २०५७ ), शब्दक्रान्ति ( २०६६ ), गुलियो काठमाडौँ (लघु कथासङ्ग्रह, २०७५ ) र आगो लिएर गाउँगाउँमा ( २०८०) कवितासङ्ग्रह प्रकाशित छन् । प्रेरणा, प्रयास, वागीश्वरी, सौदामिनी, अभिव्यञ्जना, चरैवेति आदि साहित्यिक पत्रिकाका सम्पादकको भूमिकामा रही कार्य गरेका उनी चितवन साहित्य परिषद्का उपाध्यक्ष र अभिव्यञ्जना साहित्य प्रतिष्ठानका पूर्व अध्यक्ष पनि हुन् । विभिन्न साहित्यिक पुरस्कारबाट पुरस्कृत उनी कविता चिन्तन यात्रा अभियानमा क्रियाशील छन् । पेसागत रूपमा उनी प्राध्यापन र शिक्षण पेसामा आवद्ध छन् ।

यतिखेर मेरो हातमा यिनै शालीन, नम्र र कोमल स्वभावका कवि गणेश श्रमणको आगो लिएर गाउँ गाउँमा  कविता छ । सर्सर्ती पढिसकेपछि केही प्रतिक्रिया व्यक्त गर्न मन लाग्यो । जम्मा १४६ पृष्ठमा संरचित यस  पुस्तकको प्रकाशन फिनिक्स बुक्स , काठमाडौँले गरेको हो । पुस्तकभित्र ५५ वटा कविता समावेश गरिएका छन् । चार खण्डमा विभाजित कवितामध्ये गाउँका कविता खण्डमा छ कविता, प्रतिपक्ष खण्डमा एक्काईस कविता , प्रकृति खण्डमा बाह्र कविता र …..र अनन्त खण्डमा सोह्र कविता समाविष्ट छन् ।

१. गाउँका कविता :

यस खण्डमा गाउँको विकास, मोटर पुगेपछि, गाउँ छाड्ने मान्छे, घर, गाउँमा जेल हुँदैन र आगो लिएर गाउँ गाउँमा गरी  छओटा गाउँसँग सम्बन्धित कविता छन् । यी कवितामा गाउँ छोडेर सहर भित्रिने सहरमुखी वर्तमान पुस्ताको प्रवृत्तिप्रति व्यङ्ग्य प्रहार गरिएको छ । गाउँमा जन्मेर सहर पस्ने अनि गाउँतिर फर्केर गाउँको विकास हुन सकेन भन्दै खोक्रो चिन्ता देखाउने कथित शिक्षित र सभ्य भनाउँदाहरुलाई गाउँ विकसित हुन गाउँमै बस्नुपर्छ भन्ने सन्देश दिन खोजिएको छ ।

विकासका नाउँमा गाउँमा विकृति बढ्दै गएको र गाउँको प्राकृतिक सौन्दर्य व्युटिपार्लर, पानीपुरी, चटपट, बोर्डिङ र म्यानपावर कम्पनीसँग साटिँदै गएकोमा कवितामा चिन्ता व्यक्त गरिएको छ । गाउँ चेतनशील नभई  कसरी देशको विकास हुन सक्छ र ? गाउँलाई सरक्क एकातिर पन्छाएर कसरी देश जीवित रहन सक्ला ? तसर्थ पूर्ण परिवर्तनको झुल्को गाउँबाट नै झुल्किनुपर्छ भन्ने सन्देश दिने आगो लिएर गाउँ गाउँमा कविता यस  सङ्ग्रहको नामकरण गरिएको  शीर्ष कविता पनि हो । यस कवितामा कविको ग्रामीण जीवनप्रतिको आस्था र मोह यसरी प्रकट भएको छ ।
“… पखेराको न्याउलीले झैँ
बर्सेनि कति अलाप्नु                                                 यो वासन्ती विरह !
…………….
त्यसैले
हिड्नु छ , अब
आगो
लिएर
गाउँ
गाउँमा “
         — (आगो लिएर गाउँ गाउँमा , पृष्ठ – १४)

२. प्रतिपक्ष :
यस खण्डमा अस्तित्व, हल्लिनु, मानौँ , कुरा नमिलेपछि , देश कसलाई चाहिन्छ , विचारहरु, डमी ट्राफिक ,उपदेश , भोक, कट्टु , आउटसाइडरहरु , अँध्यारोमा काम , साहिनवाग , भेटिएको अखबार, कवि र सत्ता, हराएको जुत्ता, बागमतीमा पानी बग्दैन , गोविन्द के. सी. हिडेको बाटो , चोरहरु , ढुङ्गाको मन , बदनाम गरि एक्काईस ओटा कविता छन् । यस खण्डका कविताहरुमा वर्तमान अव्यवस्थित शासन शैलीप्रति असन्तुष्टि , नेताहरुको भ्रष्ट चरित्रको भन्डाफोर , भ्रष्टाचार र आर्थिक अनुशासनहीनताका कारण देशमा व्याप्त विसङ्गतिको चित्रण , ह्रासोन्मुख मानवीय मूल्यमान्यताका कारण जनतामा छाएको चरम निराशाको अभिव्यक्ति , हराउँदै गएको मित्रता , मानवता , शान्ति र विश्वबन्धुत्वको भावना प्रति चिन्ता जस्ता विविध पक्षको चित्रण पाइन्छ ।

विश्वबन्धुत्वको भावना :                                          “झिनो छ , कतै हराइरहेको                                    सद्भाव र्‍यालीको
शान्ति र मित्रताको आव्हान
भाइचाराको नाता
धुमिल धुमिल बनाइँदैछ ।”
               ( साहिनवाग , पृष्ठ – ५१)

भ्रष्ट र अनुशासनहीन शासनसत्ताको चित्रण :
“कसले ल्याएर राखिदिएको हो    
सहरको बिच सडकमा
सिँहदरबारको अग्लो कुर्सीमा बस्ने
सनातनी शासकको जस्तो
अनुहार भएको
यो डमी ट्राफिक
सहरको बिच भागमा
एउटा डमी ट्राफिक छ ।”
          ( डमी ट्राफिक , पृष्ठ – ३६)

“चोरहरुले घर बनाउँदा
जागिर खानु पर्दैन
पेन्सन सक्नु पर्दैन
जग्गा र श्रीमतीको गहना धितो राखी
सञ्चयकोष र बैंक
धाउनु पर्दैन
मात्र चोर्नुपर्छ
……………..
देश
बर्सौंदेखि
यस्तै यस्तै चोरहरुले
चलाइरहेछन् ।
चोरहरुको देशमा “
( चोरहरु पृष्ठ -६८)
स्वास्थ्य क्षेत्रमा देखिएको विकृति र विसङ्गतिको अन्त्यका लागि डा. गोविन्द केसीलाई प्रतीकका रूपमा चित्रण गरिएको कविताको एक अंश:
“म डा. गोविन्द केसी
यतिबेला दुरदराजको यात्रामा छु
…….
म त स्वास्थ्य उपचार सुलभ होस्
गरिबका बाबुनानीले पनि मेडिकल शिक्षा
नि:शुल्क पढ्न पाउन् र
गाउँ गाउँमा पनि स्वास्थ्य सेवा पुगोस् भनी
चिकित्सा शिक्षा सुधारको याचना गर्ने
एक याचक हुँ
दुर्गम भेगमा राज्यको अनुपस्थितिप्रति
सधैं जवाफ खोज्ने एउटा प्रश्नवाचक हुँ।”
               (गोविन्द केसी हिँडेको बाटो , पृष्ठ -६४)
यस खण्डका अन्य कविताहरुमा बाह्य सौन्दर्यभन्दा आन्तरिक सौन्दर्यको महत्तागान , नवीन मान्यता स्थापित हुन  र नवनिर्माण हुन पुरातन मान्यताको पर्खाल भत्कनुपर्छ भन्ने  क्रान्तिकारी सन्देशसमेत पाइन्छ ।

३.प्रकृति :
यस खण्डमा डेरा सर्नेहरु , खोइलाको घर , सौन्दर्य  , साँझ घर फर्कने बजार , मध्यान्तर , आफ्नोपन , मौसम , पर्खनुपर्छ , उड्ने मान्छे , बिरालोले काटेको बाटो, बाँस र तामाको संवाद र बाथरुम हतार गरि जम्मा १२ ओटा कविता समाविष्ट छन् ।

सहरमा जीविकोपार्जनका लागि डेरा गरेर बस्न बाध्य व्यक्तिहरु जो विविध कठिनाइहरु झेल्दै सङ्घर्षपूर्वक कोठा सर्दै सर्दै बाँचेका हुन्छन् तिनीहरूको दयनीय वस्तुस्थितिको चित्रण डेरा सर्नेहरु शीर्षकको कवितामा पाइन्छ भने वर्तमान मान्छेको अस्वस्थ प्रतिस्पर्धालाई खोइलाको घर मा देखाइएको छ । मानवीय साझा संवेदना , सहअनुभूति , एकता र विश्वबन्धुत्वको भावनाका साथ एक भई बाचौँ भन्दै मानवतावादी सौन्दर्यले भरिएको विचार सौन्दर्य कवितामा प्रकट गरिएको छ ।

मध्यान्तर कविताले स्वको खोजी गरेको छ । मौसम कवितामा मानिस र प्रकृतिको  स्वभावमा तादात्म्य सम्बन्ध स्थापित गर्न खोजिएको छ भने कवि कृष्णभूषण बलको सम्मान मा  उनकै चर्चित कविता पर्खनुपर्छ शीर्षकमा लेखिएको कविताले वर्तमानमा उभिएर कविलाई केही प्रश्नहरु गरेको छ । कविलाई कल्पनालोकमा विचरण गर्ने मान्छेका रूपमा चित्रित गरेको छ -उड्ने मान्छे कविताले भने समाजमा  स्थापित केही पुरातन मान्यतामाथि बिरालोले काटेको बाटो कविताले केही प्रश्न उठाएको छ । बाँस र तामाको संवाद कविताले समय , उमेर र अवस्थाअनुरुप मानिस परिवर्तित  हुँदै जीवनका नवीन आयामहरुको बोध गर्दै जाँदो रहेछ भन्ने सन्देश दिएको छ । मान्छेको व्यस्त जीवनशैलीका कारण सधैं हतार हतार दिनचर्या व्यतीत गरिरहेको वर्तमान परिस्थितिलाई बाथरुममा हतार कवितामा देखाइएको छ ।

४…..र अनन्त :
सङ्ग्रहको अन्तिम खण्ड रहेको यसमा बोध , यात्रा , भुलाउनु , किराहरु , निर्वाण , भोग , एकदिन , आत्मा , आज , पानी , जाडो र गर्मी , दु:ख र रक्सी , मृत्यु , जन्ती जाने घाटहरु , बाटो , ईश्वर गरी सोह्र कविता छन् । यस खण्डका कविता मा स्वअस्तित्वबोधी चेतना , मृत्युबोध , निर्वाण , आध्यात्मिकता , आत्मचिन्तन , जीवनबोध , वैयक्तिक आत्माभिव्यक्ति जस्ता प्रवृत्ति भेटिन्छन् । कवि स्वयम् जीवनको प्रौढतातर्फ उन्मुख भएको आभाष यी कवितामा पाउन सकिन्छ।

स्वअस्तित्व बोध :
” खै , जति प्रयास गर्दा पनि
कहाँ लैजान सकियो र आफूलाई
कहाँ रमाउन सकियो र आफूलाई
एकछिनको विस्मृती जस्तो क्षणिक
अनि फेरि आफू हुनुको बोध ।”
                ( बोध , पृष्ठ – ११० )

“…. दिनभरको व्यस्त दौडधुपमा
कहाँ भेट्न सकिन्छ र आफैंले आफैंलाई।”
                 ( यात्रा , पृष्ठ -११२)

मृत्युबोध :
“हरेक पुस्ता
आफूलाई घाट लाने
मानिस जन्माउन
जन्त जाने गर्छ “
          ( जन्ती जाने घाटहरु )

” गाउँले , इष्टमित्र , साथी र छिमेकीहरुको
अचानक भएको निधनमा
दु : खी मन लिएर घाटमा गई
एकमिनेट मौनधारण गरि
विरही भावमा सुनसान मन लिएर
फर्किरहन्छौ तिमी ….”
         ( एकदिन , पृष्ठ -१२४ )

आत्मचिन्तन :
” आत्मा हो गणेश आत्मा
यसको पनि मन छ
मनभन्दा पर आत्मा छ
यसको आत्माले पनि
एउटा शरीर पाएको छ
………..”
       ( आत्मा , पृष्ठ -१२७ )

अन्त्यमा ,
यो पाठक प्रतिक्रिया मात्र हो । कविताको  शल्यक्रिया नभई बाह्य स्थूल निरीक्षण हो । कविताको क्षेत्रमा आफ्नो फरक पहिचान लिएर प्रस्तुत कृतिसहित उपस्थित कवि गणेशलाई यस नवीन कृतिको उच्च सफलताको कामनाका साथ सिर्जनात्मक निरन्तरताको शुभकामना ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट