भरतपुर, ३१ जेठ ।
आर्थिक वर्ष ०८१/०८२ को पूर्वसन्ध्यामा भरतपुर महानगरपालिकाले अर्थबिज्ञ र निजी क्षेत्रसँग छलफल तथा अन्तरक्रिया गरेको छ ।
महानगरपालिकाले आर्थिक वर्ष ०८१/०८२ का
लागि राजश्व संकलनका सम्बन्धमा नीजि क्षेत्र र अर्थ बिज्ञहरुसँग छलफल गरेको हो । महानगरपालिकाले बिहीबार यहाँका नीजि क्षेत्र तथा बिज्ञहरुसँग आर्थिक वर्ष ०८१/०८२ का लागि राजश्व संकलनका सम्बन्धमा कस्तो अवधारणा अपनाउन सकिन्छ भनेर छलफलको आयोजना गरेको जनाएको छ ।
प्राध्यापक डाक्टर अच्युत वाग्लेले बैज्ञानिक कर संकलनका लागि असल नीति आवश्यक रहेकोे बताए । `जहाँ असल नीति स्पष्ट हुन्छ त्यहाँको राजश्व सकलन कार्यले तीव्रता पाउँछ´ वाग्लेले भने – `भरतपुर महानगरपालिकाले असल नीति बनाएर राजश्व संकलन गर्न सक्छ र त्यसको सिको देशका अन्य महानगर र पालिकाहरुले गर्नेछन् ।´ राजश्व नीति बनाउँदा साना तथा मझौला व्यवसाय तथा उद्योगहरुलाई समेटेर लैजानुपर्ने धारणा उनको थियोे । त्यसका लागि नियमित बजार अनुगमन निकै प्रभावकारी हुने उनले बताए ।
छलफलमा महानगरको राजश्व व्यवस्थापन महाशाखा प्रमुख जगन्नाथ अर्यालले आर्थिक वर्ष ०८१/०८२ को महानगरपालिकाको आन्तरिक राजश्व नीतिका सम्बन्धमा कार्यपत्र प्रस्तुत गरे ।
कार्यक्रमका अध्यक्ष नगर उपप्रमुख चित्रसेन अधिकारीले कर संकलन कार्यलाई मर्यादित र व्यवस्थित बनाएर लैजानुपर्ने धारणा राखे । `कर अरुको लागि नभइ आफ्नै लागि हो भन्ने सोचका साथ यो अभियानमा लाग्न सबैमा आग्रह गर्दछु ।´ नगर उपप्रमुखले भने – `यो अभियान मात्र नभइ महानगरको महान अभियान हो । यो महाअभियानमा लाग्न सबै नगरबासीहरुलाई अपिल समेत गर्दछु ।´
महानगरले सम्पत्ति कर सम्बन्धी नीति, घरबहाल कर सम्बन्धी नीति, व्यवसाय कर सम्बन्धी नीति, बहाल बिटौरी शुल्क सम्बन्धी नीति र पार्किङ सम्बन्धी नीति कार्यान्वयनमा ल्याउने तयारी गरेको छ । त्यस्तैगरी राजश्व नीति अन्तरगत करदाता शिक्षा अभियान, कर उत्प्रेरणा र करदाता मैत्री राजश्व प्रशासनको व्यवस्था, आन्तरिक राजश्वको लक्ष्यलाई समयमै प्राप्त गर्न राजश्व सुधार कार्ययोजना तर्जुमा तथा करदाताको लगतलाई अद्यावधिक गर्दै अभिलेख प्रणालीलाई व्यवस्थित बनाउने लक्ष्यका साथ अगाडि बढिरहेको छ ।
कार्यक्रममा भरतपुर महानगरपालिका- १ का वडा अध्यक्ष केशव महर्जन, वडा नम्बर ३ का अध्यक्ष विकास थापा, वडा नम्बर २२ का अध्यक्ष विष्णुराज महतो, कार्यपालिका सदस्य सुकमाया परियार, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठ, चितवन च्याम्बर अफ कमर्शका अध्यक्ष गोपाल भट्टराई, चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवाल, योजना तथा अनुगमन महाशाखा प्रमुख ओमप्रसाद पाण्डेलगायत अन्य कर्मचारीहरुको सहभागिता रहेको थियोे ।
भरतपुर महानगरपालिकाले आगामी दिनमा विषयगत बिज्ञहरुसँग छलफल गरेर राजश्व संकलन कार्यलाई थप प्रभावकारी बनाउने लक्ष्य समेत लिएको छ ।





