विनोदबाबु रिजाल
माडी (चितवन), १७ मंसिर ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिदै गर्दा प्रचारप्रसारको समय सकिनुअघि वाम गठबन्धनका नेताद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको माडीमा संयुक्त चुनावी सभा गरेका छन् ।
निर्वाचनका लागि सोमबार १८ गते राति १२ बजेबाट मौनअवधि सुरु हुँदैछ । त्यसपछि प्रचारका सबै गतिविधिमाथि प्रतिबन्ध लाग्ने भएकाले प्रचण्डको उम्मेदवारी रहेको चुनाव क्षेत्रमा अन्तिम धक्का दिएका हुन् ।

माडीको बसन्तपुर चौरमा आयोजना गरिएको सभा उनीहरु दुवैले अँगालो हालेर भने, “देशको जिम्मा हामीलाई भयो, लोकतन्त्र हामी दिन्छौं, विकासको जिम्मा पनि हामीलाई दिनोस् ।”
हेलिकप्टर चढी माडी झरेका ओलीले प्रचण्डभन्दा अघि सम्बोधन गर्दै प्रचण्डले गरेका सबै वाचा पूरा गर्ने आश्वासन दिए । “प्रचण्डजीले माडीलाई मणि बनाउँछु भन्नुभएको छ, त्यसमा मेरो पूरै साथ रहनेछ ।” पछि प्रचण्डले पनि थपे, “ओलीजीले पनि साथ दिन्छु भनेको सुनिहाल्नुभयो, उहाँले बोल्नु भनेको अबको सरकारले बोल्नुजस्तै हो, त्यसैले अब माडीमा पूरै सरकार लाग्नेवाला छ ।”

ओलीले भारतीय नाकाबन्दीको बेला देशैभरलाई इन्धन पु¥याएको भन्दै माडीको प्रशंसा गरे । “नाकाबन्दीमा पूरै देशलाई पालेको हामीलाई थाहा छ”, उनले भने, “माडीको क्षमता हामीले बुझेका छौं, यसलाई झिलिमिलि बनाउने जिम्मा हाम्रो भयो ।” ओलीको ढाडसबाट प्रचण्ड पनि खुसी भए । उनले भने, “अब वामपन्थीको बलियो सरकार बन्दैछ, देशमा विकासको लहर आउनेछ ।”
भाषण सकेर जानुअघि ओलीले प्रचण्डसँग दह्रो गरी हात मिलाए । दह्रै गरी अँगालो हाले । दुवैले हात उठाएर सर्वसाधारणलाई अभिभावदन गरे ।





