पठन संस्कार अभियान जीवित छ : सुवेदी

गैंडाकोट, २६ जेठ ।
पठन संस्कृति अभियानको तेस्रो शृङ्खला शनिबार गैंडाकोटमा गरिएको छ । विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडको आयोजनामा गैंडाकोटस्थित विजय विकास स्रोत केन्द्रको सभाहलमा कार्यक्रम गरिएको हो ।

तेस्रो शृङ्खलामा प्राडा अभि सुवेदी प्रमुख अतिथि रहेका थिए । प्रमुख अतिथि सुवेदीले अभियानले सङ्कलन गरेर राखेका किताबलाई अनावरण गर्दै कार्यक्रम उद्घाटन गरे । कवि, निबन्धकार, नाटककार, अनुवादक तथा समालोचक, प्राध्यापक डा. सुवेदीले नेपालमा किताबको पठन संस्कार जीवित छ भन्ने यो अभियानले प्रष्ट पारेको बताए । उनले किताबको शक्ति नसकिएको तर्क गर्दै कर्म गर्ने गैँडाकोटबासीको यो अभियानले खुसी र आश्चर्य बनाएको बताए ।

अन्यत्र यस्तो अभियानबारे थाहा नभएको उल्लेख गर्दै उनले यस्ता अभियान सञ्चालन होस् भन्ने कामना गरे । पुस्तक धरापमा परेको हो त ? भन्ने प्रसङ्ग जोड्दै उनले प्रकाशकले यस्तो अवस्थामा पनि पुस्तक निरन्तर प्रकाशन गर्नु र गैँडाकोटमा पठन संस्कृति अभियान सञ्चालन गर्नु राम्रो रहेको बताए ।

सुवेदीले लेखक निरन्तर छ की पाठक निरन्तर छ भन्ने कुरा महत्त्वपूर्ण रहेको बताए । उनले भने – `लेखकले मैले लेखेको छु पाठकले पढ्नुपर्छ भन्ने मान्यता राख्छन्, तर त्यो लेखकको निरङ्कुशता हो ।´ पाठकलाई समावेश गरी लेखिएका किताब सफल हुने र पाठकलाई नहोच्याइकन लेख्नुपर्नेमा उनले जोड दिए ।

नेपाली र अंग्रेजी साहित्यका अथक साधक, अध्येता र उत्प्रेरक व्यक्तित्व प्राध्यापक डा. सुवेदीले इन्टरनेटपछि किताब पुस्तकालयको अवस्था खस्केको नभइ इन्टरनेटले सहज भएको तर किताबको अस्तित्व समाप्त नभएको तर्क गरे ।

विजय विकास स्रोत केन्द्रका अध्यक्ष कृष्णप्रसाद सापकोटाले स्वागत मन्तव्य राखेका थिए । अध्यक्ष सापकोटाले प्रमुख अतिथि सुवेदीका बारेमा चर्चा पनि गरे ।

तेस्रो शृङ्खलामा सहभागी पुस्तक पारखीले समीक्षात्मक टिप्पणी राखेका थिए । सुरुवातमा तिलक पन्थीले पाठकीय धारणा राखे । उनले रोबर्ट कियासाकीको बेस्टसेलर कृति `धनी बुवा गरिब बुवा´को बारेमा टिप्पणी राखेका थिए ।

त्यसैगरी संसार सापकोटाले `मारिखोलाको ढुङ्गा´ कृतिको बारेमा पाठकीय टिप्पणी राखे । जेबी दर्लामीको हालै प्रकाशित मारीखोलाको ढुङ्गामा सशस्त्र जनयुद्धको व्याख्या गरिएको छ । पुस्तक माथि टिप्पणी राख्दै सापकोटाले जनयुद्ध र लोकतन्त्रको महत्व बारे चर्चा गरे ।

त्यसैगरी जस्मिन खनालले रोबिन शर्माको अङ्ग्रेजी पुस्तक `हु विल क्राइ व्हेन यु डाइ´को चर्चा गरिन् । अर्का पाठक शंकर आचार्यले लीलबहादुर क्षेत्रीको `बसाइँ´ उपन्यास र डाक्टर भेषबहादुर थापाको पुस्तक `राष्ट्र परराष्ट्र´ को बारेमा पाठकीय धारणा राखे ।

प्राध्यापक विष्णु पन्थीले उमाकान्त पौडेलको `बुद्धकालीन समाज´ पुस्तकका बारेमा चर्चा गरिन् । पन्थीले उदय अधिकारीको पुस्तक `प्रश्न´को पनि चर्चा गरिन् ।

त्यसैगरी अध्येता उदय अधिकारीले `कार्पेट टाँगिएको आकाश´ पुस्तकका बारेमा चर्चा गरे । यो पुस्तक अभि सुवेदीको पहिलो निबन्धसङ्ग्रह हो । त्यसैगरी बेलबहादुर दराइले भगवान कोइरालाको आत्मकथा `हृदय´को चर्चा गरे । सञ्चारकर्मी पवित्रा पराजुलीले `प्रकृति : सहअस्तित्वको खोजी´को चर्चा गरिन् । यो पुस्तकमा २७ जनाका वन तथा वातावरणसम्बन्धी लेखहरू छन् ।
त्यसैगरी अन्तिम सहभागीका रूपमा कवि सरस्वती तिमिल्सिनाले पत्रकार पुरुषोत्तम दाहालको `कालपात्र´ उपन्यासको चर्चा गरिन् । राजनीतिमा लागेका महिलालाई विभिन्न कोणबाट छेडछाड गरेर उपन्यास बनाइएको तिमिल्सिनाले बनाइन् । कार्यक्रमको अन्त्यमा केशव सापकोटाले तिलकप्रसाद सापकोटाको डायरी `यात्रा निरन्तर´को चर्चा गर्दै तिलकप्रसाद सापकोटाको सामाजिक र राजनीतिक योगदानको प्रसंशा गरेका थिए ।

कार्यक्रमलाई विजय एफएमका अध्यक्ष त्रिलोचन सापकोटाले सहजीकरण गरेका थिए । उनले यो अभियानलाई कावासोती र पाल्पाको रामपुरमा पनि छिट्टै नै गर्न लागिएको जानकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट