भरतपुर, २४ जेठ ।
भरतपुरस्थित सिजी ल्याण्डमार्कमा रहेको सिनेप्लेक्स सिनेमा हल क्युएफएक्स सिनेमाको व्यवस्थापनमा सञ्चालनमा आएको छ । शुक्रबारदेखि सिनेप्लेक्स हल क्युएफएक्सको व्यवस्थापनमा सञ्चालनमा आएको हो ।
भरतपुरमा पत्रकार सम्मेलनमार्फत क्युएफएक्सले पहिलोपटक काठमाडौं बाहिर एउटै शहरमा दुई वटा सिनेमा हललाई आफ्नो व्यवस्थापनमा लिएको जनाएको छ । यसअघि क्युएफएक्सले चितवनको जलमा हल आफ्नो व्यवस्थापनमा सञ्चालन गरिरहेको छ ।
यस्तै क्युएफएक्सले चितवनको सिजी प्लेक्ससँगै पोखरास्थित ट्रेड मलको पोखरा सिनेप्लेक्सको हलपनि आफ्नो व्यवस्थापनमा सञ्चालनमा ल्याएको जनाएको छ ।
सुविधा सम्पन्न हलहरुमा सिनेमा हेर्ने स्थानीय दर्शकहरुको आफ्नो रोजाइको चलचित्र हेर्ने चाहाना पूरा गर्ने क्युएफएक्सका सञ्चालक भाष्कर ढुंगानाले बताए । उनले यस हलमा आरामदायी सिट, आधुनिक प्रोजेक्सन र साउण्डसिष्टम तथा टु डि र थ्रि डि स्क्रीन सहित दर्शकले सिनेमा हेर्न पाउने जानकारी दिए । ‘यहाँ स्तरिय खाना, दर्शकले पाउने सेवा र कर्मचारीको व्यवहारले सिनेमा प्रेमीहरुको मन जित्नेछ,उनले भने – `बुधबार र बिहीबार टिकट दरमा बिशेष छुटको व्यवस्था समेत गरिएको छ ।’ क्युएफएक्सले चितवनमा क्युफएफक्स सिनेमा मोबाइल एपबाट अनलाइन टिकटको समेत व्यवस्था गरेको ढुंगानाले बताए ।
नेपालमा सुविधासम्पन्न सिनेमा हल स्थापनासँगै चलचित्र क्षेत्रको विकास समेत भएको ढुंगानाको भनाई छ । ‘नेपालमा विगतका दिनमा सिनेमाले दुई करोड आम्दानी पनि मुस्किलले गर्दथे अहिले २२ करोड सम्म एउटै चलचित्रले आम्दानी गरेका छन्उ´, उनले भने – `यसमा सिनेमा हलको महत्वपूर्ण भूमिका छ ।’
सिनेप्लेक्स हलका सञ्चालक गणेश श्रेष्ठले क्युफएएक्ससँगको सहकार्यले सिनेमा हल थप व्यवस्थित हुने बताए । उनले दर्शकको सेवा सुविधा प्रदान गर्नका लागि सहकार्य गरेर अघि बढेको समेत बताए ।
देशभर क्युफएएक्स सिनेमाको पर्दा संख्या ४० र हल संख्या १७ पुगेको क्युएफएक्स सिनेमाका जनरल म्यानेजर तृप्ती गिरीले बताए । उनले २३ वर्ष अघि स्थापना भएको क्युएफएक्सले विदेशी ब्राण्डसँग प्रतिस्पर्धा गरेर यहाँसम्म आएको बताए । चितवन र पोखरामा दुई हल थपिएसँगै काठमाडौं बाहिर क्युएफएक्सको हलसंख्या १० पुगेको छ ।




