चितवनका समालोचक रमेश प्रभातको ‘अलिकति फरक कुरा’ नामक निसमालोचनाको पुस्तक २०८० साल चैतमा प्रकाशित भएको हो । यसमा लामा छोटा गरी सत्ताइसवटा समालोचनात्मक बान्कीका आलेखहरु समेटिएका छन् । यहाँ ती आलेखको सामान्य चर्चा गरिएको छ ।
कृतिको सुरुमा पठन संस्कृतिको कुरा छ । भर्खरै आएको निसमालोचनाको प्रथम शीर्षकले पाठकलाई पढ्न उत्प्रेरित गर्ने अभिमतका साथ रमेश प्रभातले यसको श्रीगणेश गरे । साढे चार पृष्ठको आयतन भएको यो सामग्रीमा सातवटा अनुच्छेदमा सातप्रकारका नयाँ कुरा आएका छन्, जो रोचक र घोचक पनि छन् । नेपाली पठन संस्कृतिमा ह्रास आएको बेला यस्तो सामग्रीले नयाँ ऊर्जा दिन्छ । समीक्षा र समीक्षकमाथिको प्रश्न एकदम जायज छ । आजको समयमा कसैलाई पनि निःशुल्क काममा लगाउनु शोषण हो भन्ने बुझ्नुपर्दछ ।
प्रभातले कविताजस्तो कविता लेख्न सकिन्छ भन्ने कुरालाई पुष्टि गर्नका निमित्त सातवटा उपशीर्षक र साढे तीन पृष्ठको आयतनमा आफ्नो धारणा प्रस्तुत गरेका छन् । कुनै एउटा कविले कविताबारेको वहसजनित कथाका अतिरिक्त कविका कविता सुन्न टिकट लिनुपर्दाको नियतिसँगै केही लोकप्रिय कविका कविताहरू शिखर चुमेको सन्दर्भ पनि यसमा आएका छन् । समग्रमा समकालीन युगचेतनाले भरिपूण्र्या कविता पढिनुपर्दछ र लेखिनुपर्दछ भन्ने प्रभातको निसमालोचकीय निष्कर्ष छ ।
समीक्षकले समाकालीन साहित्यिक चिन्तनसँग केन्द्रित भई आपूmले आफैलाई प्रश्न गर्ने र त्यसको उत्तर खोज्ने कार्यको आरम्भ गरेको अवस्था छ । यहाँ १७ वटा प्रश्न र तिनका उत्तरहरू दिने कार्य भएको छ । जसमा पठनशीलता, विधागत लगाव, समालोचना र समालोचक हुनुको नियति सामाजिक सञ्जालमा आउने क्रिया–प्रतिक्रिया जेष्ठ र कनिष्ठ स्रष्टाहरूको योगदान र मूल्याङ्कन लेखक र पाठकका बिचको अन्तरङ्ग सम्बन्ध, अधिमूल्यन र अवमूल्यन, पत्रपत्रिकामा आउने प्रश्नोत्तर आदिमाथि चिन्तन गर्ने काम भएको छ ।
‘अम्बिकाजी लाइफ माइन्डेड हुनुको फाइदा के होला ?’ यो प्रश्नले धेरै कुरा बोकेको प्रतीत हुन्छ । नितान्त सम्वादात्मक परिघटनाका साथ उनको कृतिमाथिको सतही टिप्पणी पनि रहेको छ । सातवटा उपशीर्षकहरूमा केन्द्रित हुनु, मोबाइल सम्वाद प्रत्यक्ष साक्षात्कार आँबुखैरेनी स्रष्टा समाजको कार्यक्रममा युगलजोडीसँगका आत्मीयतापूर्ण सम्बन्ध हुनु, छोटो भेटमा नै गहन साहित्य चिन्तनलाई चर्चाको मसला बनाउनु, नारीवाद र नारी स्रष्टाबारे सकारात्मक चिन्तन व्यक्त गर्नु, अम्बिकाको कृतिबारे समीक्षकीय टिप्पणी गर्नु, अनुसन्धानलाई प्राध्यापकीय समालोचना भनेर उपेक्षा गर्नेहरूलाई यो शोधमूलक ग्रन्थ भनेर चर्चा गर्नु उनको समीक्षकीय चेतनालाई थप ऊर्जाशील बनाउन प्रेरित गर्नु उनको समीक्षकीय चेतनालाई थप ऊर्जाशील बनाउन प्रेरित गर्नुसम्मका विषयसामग्री यसमा आएका छन् ।
‘एकनारायण सर साँच्चै निसमालोचनाका पाठक बढ्लान् त ?’ डा. एकनारायण पौडेल बौद्धिक व्यक्तित्वका साथ प्राध्यापकीय चरित्र हुन् । उनको २०८० सालमा प्रकाशित निसमालोचना नामक पुस्तकको पाठक प्रतिक्रियापरक समीक्षाका रूपमा रमेश प्रभातले छोटो–मीठो समीक्षा गरेका छन् । पाँचवटा अनुच्छेदात्मक समीक्षकीय सामग्रीका साथ यो रचना आएको छ । प्रभातले पुस्तक समीक्षाको शैलीका साथ समालोचना पढ्ने पाठक अभाव भएको हालको अवस्था, यस कृतिले पाठकको सङ्ख्या बढाउला त ! भन्ने सन्देहका साथ समालोचनाभन्दा निसमालोचना भिन्न हो भनेर यसको पठनशीलता र लोकप्रियताप्रतिको समीक्षकीय टिप्पणीका रूपमा यो लेख आएको छ ।
‘हजार हाइकु’ मा कस्तो संस्कृतिचेत छ प्रकाशजी ? शीर्षक आफैमा प्रश्नात्मक छ । समीक्षक रमेशले साढे आठ पृष्ठको आयतनमा दुवै स्रष्टाको कृतिमाथि सांस्कृतिक चेतनामाथि प्रकाश पार्दै गर्दा सातवटा लामाछोटा अनुच्छेदमा पाण्डे र पौडेलका हाइकुको उदाहरणसहित संस्कृतिचेतलाई खोजिएको छ । रामकुमार पाण्डे र प्रकाश पौडेल ‘माइला’का ५००+५०० मिलाएर हजार हाइकु भनिए पनि केही उद्धरणयोग्य हाइकुको व्याख्या गरिएको छ । यी दुई स्रष्टाको परिचयात्मक स्थिति पनि सङ्केतिक छ । समग्रमा साहित्य र संस्कृतिको सेतुका रूपमा यसलाई लिन सकिन्छ ।
‘तस्बीरहरूको जुलुसले तर्साउँछ घरिघरि !’ यो समीक्षा स्व. द्वारिका नेपालप्रति लक्षित छ । पाँच पृष्ठको आयतन हुनु, पाँचवटा उपशीर्षकहरूमा विवेचनीय सामग्री रहनु, उनीसँग भोगिएका जीवनका झलकहरूका संस्मरण हुनु, कुशल सञ्चारकर्मीको अकाल मृत्युबाट शोकलाई शक्तिमा बदल्ने अभिप्रायसँग उनका कवितामा मृत्युचिन्तन उद्बोधन भएको पाउनु, उनका कविताहरूमा शिक्षक, विद्यार्थी, मृत्यु चिन्तनका साथै जीवनको अस्तित्व र नश्वरतामाथि प्रकाश पार्ने निसमालोचकीय अभिव्यक्ति हुनुमा समीक्षकीय सामग्री केन्द्रित छ ।
प्रभातले ‘प्रकाश दाइ, अब सातौँ बुलेट कहिले पड्किएला हँ ?’ निसमालोचनाको शैलीमा सोध्ने कार्य मात्र भएको छ भने उत्तर त समयको कालखण्डले नै बताउँला । प्रश्नै–प्रश्नले भरिएका छवटा उपशीर्षक र एक सादर सम्बोधनको चिठीजस्तो स्वरूपका साथ जम्मा चार पृष्ठको आयतन छ । सातौँ बुलेटका रूपमा यो कथित गणतन्त्र गनाउने तन्त्रका रूपमा सेतो हात्ती नेपाली जनताले कहिलेसम्म पाल्ने हो ? जतिसक्यो चाँडो यसको अन्त्य भई लोकतान्त्रिक विधिलाई नेपाली जनताले थेग्न सक्ने खालको लोकतान्त्रिक आन्दोलन सातौँ बुलेटको रूपमा पड्किन आवश्यक छ भन्ने सङ्केतका बिच यसको समापन भएको छ ।
‘सपनाको अवयव’का स्रष्टालाई समीक्षकको खुलापत्र यो कवितासङ्ग्रहको समीक्षा हो । २०७७ सालमा प्राप्त सङ्ग्रह २०७९ मा पुगेर समीक्षा लेख्नु र २०८० सालमा प्रकाशनको उज्यालो पाउनु, शैली अनौपचारिक र अभिव्यक्ति निसमीक्षकीय हुनु साढे चार पृष्ठको आयतनका बिच गद्यलयमा लेखिएका ३३ थान कविताका आवश्य उद्धरण राख्नु, कविसँगको शैक्षिक योग्यता र विज्ञानको विषय भएका कारण जीवविज्ञानसँगै भौतिक विज्ञान, समकालीन नेपाली समाजका व्यथा, कथा र संवेदनलाई सरस, सरल तथा संप्रेष्य भाषामा कविता भएको समीक्षकीय मूल्याङ्कन यसमा भएको छ ।
‘मलाई नक्साभित्रको देश चाहिन्छ,’ मा कवि सिर्जन लम्सालको कवितासङ्ग्रहको प्रभाववादी समीक्षा गर्नु, पाँच पृष्ठको आयतनसँगै सातवटा उपशीर्षक हुनु, आख्यानले बजार पाउनु र प्रकाशित भए पनि पाठक सङ्ख्या कम हुँदै गएको चिन्ता व्यक्त गर्नु, प्रारम्भमा कविताप्रतिको चिन्तन र त्यसपश्चात् कविको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्नेे काम गरिएको छ । त्यस्तै कविका कविताहरूमा खरो व्यङ्ग्यचेत प्रकट गर्ने क्रममा एउटै कृतिभित्र कविता, गजल, तानका, हाइकु राखेकोमा प्रश्न उठाइएको छ ।
एल.बी. सर, साँच्चै ‘को हो त्यो मान्छे ?’ लालबहादुर क्षेत्री चितवनको साहित्यमा नयाँ नाम होइन । उनी कथा र कविता लेखेर रहरको सन्तुष्टिमा रमाउने मान्छे हुन् । चार पृष्ठको आयतनका बिच पाँचवटा उपशीर्षकहरूमा कवितासङ्ग्रहको समीक्षा गरिएको छ । कविको व्यक्तित्व परिचय र कवितासङ्ग्रहको संरचनात्मक स्वरूपमाथि प्रकाश पार्ने काम भएको छ । एल.बी. स्टाइलमा व्यक्तित्वको खाकासँगै कृतित्वको सङ्क्षिप्त चर्चा गर्नु, उनको कर्म भारतपछि नेपाल भएको, जन्म पनि नेपालमै भएको हो भारतमा होइन । यसबाहेक आपूm कवि नभई कविता कोर्ने मान्छे भएका कारण कविता कोरिएका हुँदा केही कविताका टुक्रासहित कवितासङ्ग्रहको सापेक्षतामा निसमालोचना गरिएको हो ।
‘कवि दीपक समीप, परिचय र उनका मुक्तकका कुरा’ यस मुक्तकसङ्ग्रहका मुक्तककार कवि दीपक श्रेष्ठ ‘समीप’ साहित्यिक नामबाट ख्याति कमाउनु, नौवटा ससाना र मझौला आयतनका उपशीर्षकहरू रहनु, कवि परिचयमा तीन दशकअघिको पत्रमित्रतामा केन्द्रित साहित्यिक झलक प्रस्तुत गर्नु, केही मुक्तकहरूको दृष्टान्त दिई मुक्तकसङ्ग्रहको समीक्षा गर्नु, मुक्तकमा तुकबन्दी मिले पनि जीवनको तुकबन्दी नमिलेकोमा चिन्ता प्रकट गर्नु, समीक्षक महोदयले मुक्तक समीक्षा गर्दैगर्दा आंशिक रूपमा मुक्तकीय झट्काबारे एउटा लघु आयतनको सैद्धान्तिक सामग्री भएको भए सुनमा सुगन्ध हुन्थ्यो कि ?
परिविक्रमका गजलमा दलनका कुरा यो पनि गजलसङ्ग्रहको समीक्षा हो । किसान प्रेमीको गजलबाट जातीय विभेदको चर्चा गर्नु, साढे पाँच पृष्ठको आयतनका बिच कुनै उपशीर्षक नहुनु, परिविक्रम परियारका गजलको समीक्षा गर्ने क्रममा केही गजलका उद्धरणसहित संवाद प्रश्नोत्तरको शैली अँगाल्नु, जातीय विभेदका अवस्थामाथि प्रकाश पार्नु, दलितले बनाएका सामग्रीहरू पवित्र हुनु र निर्माताचाहिँ छुवाछुत विभेदको सिकार हुनुपर्ने नेपाली समाजको नियतिमाथि प्रकाश पार्नुमा यो समीक्षाशैली निसमालोचनात्मक भए पनि अभिव्यक्ति र पठन संरचना प्रभाववादी बन्न पुगेको अवस्था छ ।
‘आश्रम’का गजलले के भन्न खोजेको हो ? अमला अधिकारीको गजलसङ्ग्रहमा लागेका कुराहरूलाई चारवटा प्रश्नका बिचमा समीक्षा गर्ने प्रयास प्रभातको छ । भारतीय गजलकारको पृष्ठभूमिका बिच प्रणय र अनुरागमा मात्र लेखिने गजल परम्परामा अमलाका गजलहरूले मानवीय विपन्नता, दुःख र संवेदनालाई मार्मिक रूपबाट चित्रण गरेका दृष्टान्त छन् । तीन पृष्ठको आयतनमा गरिएको समीक्षाले स्रष्टालाई उत्साहित बनाएको चिठीको उत्तर दिएको आभास पाइन्छ ।
पोषराज पौडेलको सुक्लागण्डकी महाकाव्य बालबालिकालाई युद्धमैदानमा उतारेर के–कस्तो शासन व्यवस्था ल्याउन खोजिएको हो ? भन्ने यक्षप्रश्नको उत्तरको अपेक्षा छ । सतही रूपमा हेर्दा समीक्षक–समीक्षकको जुहारी त होइन यो सामग्री ? यशोधरासँग आकस्मिक जम्काभेट भएपछि चारवटा उपशीर्षकको साथ यशोधरा राहुल अर्थात् लेखकले संवाद गरी गीतका पङ्क्तिहरूको उद्धरणका साथ नाटकीय समीक्षणको प्रयासमा आफ्नो अध्ययनशील चरित्रको पनि संस्मरणात्मक झलक देखाउने प्रयासका बिच छ पृष्ठको आयतनमा भिन्न शैलीका कृतिलाई समीक्षा गरिएको अवस्था छ ।
कस्ता देखिन्छन् ‘आराधना’ आत्मककथामा रेशमलाल सर ? सात उपशीर्षक, चार पृष्ठको आयतनका बिच वर्तमान समयमा लेखिएको आत्मकथाको बाढी र पाठकको रुचि–अरूचिमाथि पनि टिप्पणी गर्दै रेशमलाल श्रेष्ठको कृतिमाथि समीक्षा गरिएको हो । कृतिको विषयवस्तुसँगै त्यसका सबल र दुर्बल पक्षमाथि पनि समीक्षकीय दृष्टिप्रक्षेपित छ ।
‘एउटा पाठकको पत्र लेखकको नाममा’ राजेन्द्रमान डङ्गोल पैतालामा हिउँ, आँखामा हिमाल नियात्रासंस्मरण पढेपछिको पाठक प्रतिक्रियापरक समीक्षा हो । चार पृष्ठको आयतनमा आधारित छ । यो पनि एकप्रकारको पुस्तक समीक्षा नै हो । नियात्रामा आधारित हिमाल केन्द्रित पुस्तकहरूको नामोच्चारणका साथ उनको लेखनकलाको पनि समीक्षा गरिएको छ ।
–साँच्चै वरिष्ठताको मापन के हो आर.सी. दाजु ?’ यो प्रयोगशील समीक्षा हो । लगभग चार पृष्ठको आयतनमा केन्द्रित आर.सी. रिजाल र आपूmबारेको अनौपचारिक वार्तापरक शैलीमा साहित्यिक तडकभडक र पाखण्डीपनप्रति पनि लेखनलक्षित छ । वरिष्ठ–कनिष्ठका अरिष्टप्रति पनि केही भनिएको भए राम्रो हुन्थ्यो कि ? को वरिष्ठ ? भन्ने हास्यव्यङ्ग्य निबन्धसङ्ग्रहमार्फत समसामयिक साहित्यिक मुद्दा र वहस पनि छेडिएको छ ।
‘आफैँसँग वार्ता गर्नु कति कठिन छ मित्र ?’ पत्रात्मक शैलीबाट विषयको उठान हुनु, सातवटा अनुच्छेदात्मक तथा मझौला आयतनका उपशीर्षक हुनु, कुनै स्रस्टाहस्ते पठाइएको कृति ढिलो पढेर आपूmले आफैसँग साक्षात्कार गर्ने स्वभाव अनुरूप आफैसँग नियात्रासङ्ग्रहको समीक्षासँगै आख्यानको बाढी आएको समयमा निबन्धात्मक कृतिले राम्रो बजार पाउन सकोस् भन्ने शुभेच्छामा यो रचना केन्द्रित छ ।
‘अपहरण’का कथामा प्रवासका कुरा छवटा उपशीर्षक, पाँच पृष्ठको समीक्षकीय आयतनयोजय सामग्रीसँगै बेलायतमा बसोबास गर्ने भरतकुमार श्रेष्ठको कथासङ्ग्रहको समीक्षा यसमा छ । यसमा कथाकार र उनको कृतिपरिचयसँग बहुसङ्ख्यक कथाहरू नेपाली माटोसँग जोडिएका छन् । दुई दशक बाहिर बसेर पनि नेपाली मुटु र माटासँगको भावनात्मक सामीप्यताले भरिपूर्ण कथा लेख्दै गर्दा पट्यारलाग्दो वर्णन शैलीसँग कृतिका शक्ति र सीमालाई केलाउने काम पनि भएको छ ।
‘बुह्रान’का लेखकलाई साधुवाद छ मझला थारुको चिठीबाट विषयको उठान हुनु, पहाडी समुदायमा जन्मे–हुर्केका महानन्द ढकालले बर्दियाको थारु बस्तीमा भए–गरेका समस्याहरूलाई यस उपन्यासमा उठाइएको चर्चासँगै कृतिको विषयलाई वार्ताको शैलीका बिच थारु जातिका जल्दाबल्दा विषय बुह्रानले उठाएकोमा साधुवाद त छ नै, रमेश प्रभातको समीक्षा हुनु तर लेखक कुनै थारु समुदायको मान्छेले कृतज्ञता प्रकट गरेको आभास हुनु यसको नयाँ प्रयोग हो ।
‘कथा पनि खोजेर भेटिने कुरा हो र विक्रमजी ?’ तीन पृष्ठको आयतन, सातवटा अनुच्छेदात्मक उपशीर्षक, वार्ता र कुराकानीको चर्चा–परिचर्चा, आफ्नो संस्मरण विक्रमभक्त जोशीसँगको परिचय, चोभार ब्लुज कथासङ्ग्रहको चर्चाका बिच नेपाली कथा क्षेत्रलाई निकथा बनाउने प्रयासको प्रशंसामा यसको अन्त्य भएको छ ।
हिराजी, जीवनभर हामी कतिवटा ‘दलदल’मा जाकिन्छौँ होला ? हिरा लामाको अनौपचारिक परिचय हुनु, साढे तीन पृष्ठको समीक्षकीय सामग्री रहनु, छवटा अनुच्छेदात्मक उपशीर्षक केन्द्रित समीक्षणयुक्त विषय सामग्री रहनु, दलदल उपन्यासले उठाएका घटना, चरित्र र सामाजिक सोच तथा व्यवहार, प्रणयको विक्षिप्तावस्था, शिक्षित, सचेत र जागरुक उपन्यासको नायक पारिवारिक र मानसिक असन्तुलनको दलदलमा मात्र होइन नेपाली राजनीति र अर्थतन्त्र पनि दलदलमुक्त छैन भन्ने समीक्षकीय निष्कर्ष विद्यमान छ ।
वसन्तजी, यो समाजले मातालाई किन ‘कुमाता’ बनाउँछ ? वसन्त पराजुली चितवनको साहित्य र पत्रकारितामा विगत दुई दशकदेखि चलिआएको नाम हो । उनको कुमाता कथासङ्ग्रहलाई निसमालोचक रमेश प्रभातले आफ्नो पुस्तकभित्र छवटा उपशर्षिक र साढे तीन पृष्ठको आयतनमा सजाएका छन् । सातवटा उपशीर्षकहरूमा समीक्षात्मक सन्दर्भ सङ्ग्रहभित्रका सबै कथाहरूको सारवस्तु, लेखनशिल्पमा पत्रकारिताको जलप देख्नु र लेखकलाई आख्यान कथामात्र नभई उपन्यास लेख्न अभिप्रेरित गर्नुबाट यसका समापन गरिएको छ ।
‘गुमनाम पाठकको पत्र अशोक थापाको नाममा’ चारवटा उपशीर्षक अनुच्छेदात्मक हुनु, चिठी प्राप्त भएपछिको प्रत्युत्तर दिने शैली कायम गर्नु, चर्चा–परिचर्चाका बिच सन्तापको धुन कथासङ्ग्रह प्रकाशित हुनु, आपूmलाई विशेष रूपले मनपराएका कथाका अतिरिक्त तेह्रवटा कथाहरूको वाक्यात्मक रूपले समीक्षा गर्न कथाकारलाई कथा लेखनको शैली–संरचनामा ध्यान दिने आग्रहका साथ यसको अन्त्य भएको छ ।
जब ‘सातो’ले सातो खान थाल्छ यो रमेश प्रभातको निसमालोचना पुस्तकको अन्तिम समीक्षकीय सामग्री हो । आठवटा अनुच्छेदात्मक उपशीर्षकहरू हुन्, साढे चार पृष्ठको समीक्षकीय सामग्री रहनु, नेपाली आख्यान साहित्यमा ‘आख्यान पुरुष’को नामबाट चर्चित ध्रुवचन्द्र गौतमको अठ्ठाइसौँ सन्तानका रूपमा उनी ८० वर्षको उमेरमा पुग्दैगर्दा रत्न पुस्तक भण्डारले प्रकाशन गर्नु, अभिनन्दनग्रन्थको चर्चा गर्नु, सङ्क्षिप्त रूपबाट सातो उपन्यासलाई केलाउँदै यसको शक्ति र सीमामाथि प्रकाश पार्नु, मरेको पात्र, नजन्मेको पात्र र भर्खर जन्मेको पात्र प्रस्तुत गरी शैली र प्रस्तुति राम्रो भए पनि मुद्रा राक्षसको विचलनले सताउनु, नयाँ शैली प्रयोग गरी सातो उपन्यास ल्याएकोमा अझ सशक्त उपन्यास लेखन र शतायु कामनाका साथ समीक्षकीय सामग्रीको समापन भएको छ ।
त्यसो त रमेश प्रभात वर्तमान पुस्ताका प्रविधिमैत्री र उदीयमान समालोचक हुन् तथापि प्रभाववादी समालोचनाबाट अप्रभावित भने छैनन् । यो समालोचना तयार गर्दा ३२ वटा पुस्तकको सहयोग लिइएको अवस्था छ, जसलाई सन्दर्भ सामग्रीसूची भनिएको छ । नेपाली समालोचनामा पनि कतिपय प्राविधिक शब्दवलीहरूले गर्दा अङ्ग्रेजी शब्दहरू आएका छन् । अर्को संस्करण आउँदा तिनलाई नेपालीकरण गर्न सकियोस् । रमेश प्रभातको अर्को समालोचनासङ्ग्रह अझ प्रखर बनेर आउन सकोस् । १३ प्वाइन्टको अक्षर ज्यादै सानो हुने रहेछ, आउँदा दिनमा आक्षरिक स्वरूप बढाइयोस् भन्ने हार्दिक शुभेच्छा प्रकट गर्दै यस गन्थनबाट बिदा लिन्छु ।





