नवलपुर, ५ जेठ ।
कावासोती नगरपालिका वडा नम्बर १२ ले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । कावासोती १२ र १३ मा रहेका ६ वटा सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी र वडाका जनप्रतिनिधिबीच शैक्षिक सुधारका लागि शुक्रबार अन्तरक्रिया गरिएको हो ।
वडाको शैक्षिक सुधारका लागि सरोकारवाला बीच छलफल गरि आगामी आर्थिक वर्षको निति तथा योजना निर्माणका साथै शैक्षिक सुधारमा वडा कार्यालयले खेल्नुपर्ने भुमिकाका बारेमा जानकारी प्राप्त गर्नका कार्यक्रम गरिएको कावासोती १२ का वडा अध्यक्ष ध्रुव खनालले जानकारी दिए । समग्र शिक्षा प्रणालीको विकासको लागि वडा कार्यालय निरन्तर लागिरहेको साथै बालबालिकाहरुको चौतर्फी विकास, बालमैत्री सिकाई र सक्षम बालबालिका निर्माणको लागि निरन्तर अभियानमा रहेको उनले बताए । छिमेकी वडामा रहेका विद्यालयका शिक्षकहरुलाई समेत अन्तरक्रियामा सहभागी गराइएको थियो ।
कावासोती वडा नम्बर १२ का वडा अध्यक्ष ध्रुव खनालको अध्यक्षता भएको कार्यक्रममा कावासोती नगरपालिकाका सामाजिक विकास समितिका संयोजक तथा कावासोती १७ का वडा अध्यक्ष चुडामणि थनेतको प्रमुख आतिथ्यतामा रहेको थियो । उक्त कार्यक्रममा कावासोती ७ का वडा अध्यक्ष गोविन्द महतो, कावासोती १० का वडा अध्यक्ष टेकनारायण महतो, कावासोती १३ का वडा अध्यक्ष लालबहादुर गुरुङ, नगर शिक्षा अधिकृत राजन पाण्डे, कावासोती नगरपालिकाका स्रोत शिक्षक तिर्थ कँडेल, कावासोती १२ का वडा सदस्यहरुलगायत कावासोती १२ र १३ मा रहेका ६ वटा विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो ।
कावासोती १२ र १३ मा रहेका विद्यालयहरु शान्ति निकुञ्ज माध्यमिक विद्यालय, सन्तुदेवी राष्ट्रिय आधारभूत विद्यालय, राजरत्न आधारभूत विद्यालय, कालिका आधारभूत विद्यालय, शान्ति आधारभूत विद्यालय र पिठौली आधारभूत विद्यालयका शिक्षकहरुबीच छिमेकी विद्यालयका राम्रा कुराहरु, आफ्नो विद्यालयका राम्रा कुराहरु, विद्यालयको शैक्षिक सुधारका लागि नगर र वडाबाट गर्नुपर्ने कार्यहरुको बारेमा छ्लफल गरिएको हो ।
दुवै वडालाई समेटेर कार्यक्रम गर्दा शैक्षिक सुधारका लागि धैरै काम गर्न आवश्यक रहेको र सामुहिक रुपमा काम गर्दा शैक्षिक सुधारका सहज हुने कावासोती नगरपालिका सामाजिक विकास समितिका संयोजक चुरामणी थनेतले बताए । वडामा आगामी वर्षका लागि तयार गर्ने बजेटका लागि कार्यक्रमले सहयोग गर्ने उहाँले बताए । शैक्षिक सुधारका लागि धेरै नै काम गर्नुपर्ने रहेको तर नगर तथा वडाको सिमित स्रोत साधनले गर्दा समस्या रहेको उनको भनाई छ । निरन्तर रुपमा वडाका जनप्रतिनिधिहरु र शिक्षकको बीच छ्लफल हुँदा शैक्षिक गुणस्तरका लागि सहज हुने भएकाले यस्ता कार्यक्रमलाई अन्य वडाले पनि सिको गर्नुपर्ने बताए ।
माथिल्लो तहमा अध्यापन गर्ने शिक्षकले आफ्नो विद्यालयको तल्लो तहमा पढाउने शिक्षकसँग अन्तरक्रिया र प्रशिक्षण गर्नुपर्ने कावासोती नगरपालिकाका नगर शिक्षा अधिकृत राजन पाण्डेले बताए । शैक्षिक गुणस्तरका लागि सामुदायिक विद्यालयहरूमा अभिभावकको भरोसा रहेको र सरोकारवाला सबैले शैक्षिक सुधारका लागि प्रयास गर्नुपर्ने उनले बताए । अघिल्लो वर्ष भन्दा यस शैक्षिक सत्रमा गुणस्तर वृद्धि भएमात्र तालिमको उपलब्धि हुने उनले बताए ।
शान्ति निकुञ्ज माध्यमिक विद्यालयको समन्वयमा भएको कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक विष्णुलाल श्रेष्ठले स्वागत गरेका थिए । सो कार्यक्रमको सहजीकरण शान्ति निकुञ्ज माध्यमिक विद्यालयका शिक्षक पशुपति भट्टराईले गरेका थिए ।





