भरतपुर १३, वैशाख ।
भरतपुर महानगरपालिकाले युवामैत्री स्थानीय शासनका लागि युवाका सवालमा पैरवी कार्यक्रम गरेको छ । युवाहरुलाई लक्षित गर्दै महानगरले युवाका सवालमा देखिएका समस्या, चुनौती र समाधानका उपायहरुमा एक दिने पैरवी कार्यक्रम गरेको हो ।
भरतपुर महानगर युवा सन्जालको समन्वयमा भएको कार्यक्रममा एक सय भन्दा बढी युवाको सहभागिता रहेको थियोे ।
कार्यक्रमका प्रमुख अतिथि नगर उपप्रमुख चित्रसेन अधिकारीले युवाहरुको व्यवस्थापन गर्नु आजको चुनौती भएको टिप्पणी राखे ।
युवाहरू रोजगारीको शिलशिलामा वा उच्च शिक्षा हासिल गर्ने सवालमा दैनिक ठुलो मात्रमा बिदेशीने क्रम बढ्दा देश युवाबिहिन भएकोमा उनले दुख व्यक्त गरे ।
`युवाका मुद्दाहरुलाई समयमा नै किनारा लगाउन सकिएन भने देशले दीर्घकालीन रुपमा यसको असर खेपिरहन पर्ने अवस्था आउँछ´, उपप्रमुख अधिकारीले भने – `यसले देशको समग्र विकासलाई ५० वर्ष पछाडी धकेल्नेछ ।´
नगर उपप्रमुख अधिकारीले राज्यको नीति निर्माण तहमा युवाको समान पहुँच स्थापित गर्नुका साथै स्थानीय तहमा युवामैत्री शासन सञ्चालन गर्न आवश्यक रहेको समेत प्रष्ट पारे ।
उनले युवाको सवालमा स्थानीय सरकार बढी जिम्मेवार भएको पनि प्रष्ट पारे । राज्यका तीनै तहका सरकारले युवामैत्री शासन सञ्चालन गर्न व्यावसायिक योजना बनाउनुपर्नेमा पनि उनले जोड दिए ।
युवा मैत्री स्थानीय शासनसम्बन्धी हालसम्मका उपलब्धि, सिकाइ र भावी कार्यदिशाबारे पनि कार्यक्रममा छलफल भएको छ ।
कार्यक्रममा नेपालमा युवा सम्बन्धि संबैधानिक तथा नीतिगत व्यवस्थाको बारेमा भरतपुर महानगरपालिकाका नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौडेलले कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रम भरतपुर महानगरका प्रमुख प्रशासकिय अधिकृत नरेन्द्रकुमार रानाको अध्यक्षतामा सम्पन्न भएको थियोे ।





