धु्रवराज खनाल,कायाकैरन
रत्ननगर,१७ मंसिर ।
पूर्व अर्थमन्त्री एवं प्रतिनिधि सभा निर्वाचनका लागि चितवन क्षेत्र नम्बर १ का उम्मेदवार सुरेन्द्र पाण्डेले मुलुकमा आर्थिक विकासका लागि नयाँ ढंगबाट अध्ययन गर्नुपर्ने बताएका छन् । नेपाल राष्ट्रिय वाणिज्य संघ रत्ननगर र नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन रत्ननगरले शनिबार संयुक्तरुपमा आयोजना गरेको ‘रत्ननगरको आर्थिक विकासमा उम्मेदवारको प्रतिबद्धता’ विषयक अन्तरक्रिया कार्यक्रममा पूर्व अर्थमन्त्री पाण्डेले यस्तो बताएका हुन् ।
“किताब पढेर मात्रै विकास हुँदैन”, एमाले स्थायी कमिटी सदस्यसमेत रहेका उम्मेदवार पाण्डेले भने, “सम्बन्धित क्षेत्रको अध्ययन गरी योजना बनाएर काम गरे मात्रै छोटो समयमा मुलुकको विकास हुन्छ ।” नेता पाण्डेले पदका लागि भाग पु¥याउने नीति छाड्नुपर्ने समेत बताए । “जुन क्षेत्रको काम गर्नुछ, त्यही विषय जानेको प्रतिनिधि छान्नुपर्छ”, नेता पाण्डेले भने, “विकासका लागि पालो पु¥याउन प्रतिनिधि छान्ने नीति परिवर्तन गर्न आवश्यक छ ।”
भ्रष्टाचारका कारण देशको विकास हुन नसकेको सहभागीको प्रश्नमा पाण्डेले भ्रष्टाचार न्यूनीकरण ठूलो कुरा नभएको टिप्पणी गरे । “भ्रष्टाचार मुलुकमा जगडिएर बसेको छ”, पाण्डेले भने, “यसको नियन्त्रणका लागि नोटको कारोबार बन्द गरे ८० प्रतिशत भ्रष्टाचार न्यूनीकरण हुन्छ ।” विकास निर्माणको कामका लागि लामो समय लाग्ने गरेको प्रसंगमा नेता पाण्डेले कम समयमा बढी पैसा दिएर काम सम्पन्न गर्न सके त्यसको प्रतिफल छिट्टै हासिल हुने बताए ।
मुलुकको तीव्र आर्थिक विकासका लागि वामपन्थी सरकारको विकल्प नभएको दावी उनले गरे । उम्मेदवार पाण्डेले अबको पाँच वर्षभित्र रत्ननगरको विकासका लागि टाँडी शक्तिखोर हुँदै हुग्दीसम्मको सडक, सौराहामा अन्तर्राष्ट्रियस्तरको सभाहल निर्माण, टिकौलीमा रंगशाला निर्माण प्रक्रिया पुनः अघि बढाउने, बुढी गण्डकीको पानी टेनलमार्फत ल्याएर पूर्वी चितवनमा सिंचाईको व्यवस्था गर्ने प्रतिबद्धता जनाए ।
सोही कार्यक्रममा बोल्दै चितवन क्षेत्र नम्बर १ प्रदेश सभा (ख) का उम्मेदवार कृष्णप्रसाद खनालले दृष्टिकोणसहितको नेतृत्वले मात्रै देशको विकास हुने आंैल्याए । “हामी विकास–विकास मात्रै भन्छौं”, उम्मेदवार खनालले भने, “विकासका लागि दृष्टिकोण भएको नेतृत्व चाहिन्छ, त्यसका लागि वाम गठबन्धनलाई जिताउनुपर्छ ।” एमाले केन्द्रीय सदस्यसमेत रहेका खनालले रत्ननगरको विकासका लागि हालको रत्ननगर बकुलहर अस्पतालमा विज्ञसहितको सेवासुविधा उपलब्ध गराउने, पूर्वी चितवनमा बाल अस्पताल निर्माण गर्ने, कयर खोलामा स्थायी तटबन्ध गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत रहेका नेपाल राष्ट्रिय वाणिज्य संघका केन्द्रीय पार्षद गोपाल कर्माचार्यले अबको सरकारले आयात प्रतिस्थापन गर्ने गरी व्यवसायीको पक्षमा नीति बनाउनुपर्ने बताए । नेपाल राष्ट्रिय वाणिज्य संघ रत्ननगरका अध्यक्ष नीरज श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका अध्यक्ष पुरु खनालले दीगो विकासका लागि वाम गठबन्धनले जित्नुपर्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा व्यवसायीहरु वीरञ्जना घिमिरे, शिवलाल श्रेष्ठ, ईश्वरी अर्याललगायत उद्योगी व्यवसायीले कर नीति, निर्वाचनमा महिला सहभागिता, भ्रष्टाचार नियन्त्रण, कृषिको विकास आदि विषयमा जिज्ञासा राखेका थिए ।





