चितवनमा आचारसंहिता उल्लंघन कम छः आयोग

विप्लव काफ्ले/कायाकैरन
भरतपुर,१७ मंसिर ।

चुनावी प्रचारप्रसारका लागि दलहरुले सार्वजनिकस्थलमा पार्टीको झण्डा, तुल टाँगेका दृश्य प्रशस्तै देखिन्छन् । घरदैलो अभियानका क्रममा ठूल्ठूला स्पीकर घन्काउँदै चुनावी अभियान भएको पाइन्छ । तर, निर्वाचन आयोगले चितवनमा आचारसंहिता उल्लंघन धेरै कम भएको निष्र्कष निकालेको छ । शनिबार निर्वाचन आयोगका आयोगका आयुक्तसहितको टोलीले स्थानीय अधिकारी, निर्वाचन अधिकारी, सुरक्षा निकायसँग छलफल गरेर सो निष्कर्ष सुनाएको हो ।
“चितवनमा आचारसंहिता उल्लंघन धेरै कम छ, सुरक्षाको व्यवस्था पनि आश्वस्त हुने खालकै महसुस गरेका छौँ”, निर्वाचन आयोगका आयुक्त ईला शर्माले भनिन्, “अन्य जिल्लाको तुलनामा चितवनमा आचारसंहिता पालना राम्रो छ ।” निर्वाचन आयुक्त शर्मा र सुधीरकुमार साहसहितको टोली शनिबारमात्रै तीन जिल्लाको वस्तुस्थिति बुझेर चितवन आइपुगेको हो । “व्यवस्थापन पक्ष र सुरक्षा व्यवस्था पनि ठीक छ”, उनले भनिन्, “निर्वाचनमा खटिएका कर्मचारी निष्पक्ष हुनुपर्छ, उनीहरुको निष्पक्षता जनतामाझ देखिनुपर्छ ।” उनले मताधिकारलाई कर्तव्यका रुपमा उपयोग गर्न अनुरोधसमेत गरेकी छन् । उनले भनिन्, “जसले मतदान गर्दैन, उसलाई सिकायत गर्ने अधिकार हुँदैन ।”
अर्का निर्वाचन आयुक्त सुधीरकुमार साहले निर्वाचन आयोगले आफ्नो क्षमता र संयन्त्रको प्रयोग गरेर सकेसम्म आचारसंहिता पालना गराउन कटिबद्ध रहेको बताए । “बहुदल यताका निर्वाचन नियालौँ, त्यसको तुलनामा अहिले निर्वाचन आचारसंहिता पालना कति बढी गुणात्मक वृद्धि भएको छ, त्यसलाई पनि महसुस गर्नुस्, तुलना गर्नुस्”, उनले भने, “हामी आचारसंहिता पालना गर्न सबै पक्ष जिम्मेवार बन्न आग्रह गर्छौँ ।” उनले आचारसंहिता पालना गराउन, उल्लंघन हुन नदिन केन्द्र, जिल्लामा रहेका विभिन्न संयन्त्र थप क्रियाशिल बन्नुपर्ने बताए । “एक हातले ताली बज्दैन, आचारसंहिताको पुस्तक तयार छ”, उनले भने, “दल, नागरिक समाज, मिडिया सबैको परामर्शबाटै आचारसंहिता बनेको छ, सबै जिम्मेवार बनेर पालना गरौँ ।”
उनले देशक केही भागमा अपराधिक गतिविधिका घटना भएको भन्दै सुरक्षा अधिकारीको ध्यानाकर्षण गराएका थिए । “निर्वाचनका बेला भएका यस्ता घटनाको मुख्य कारण देशमा अझै द्वन्द्वको अवशेष बाँकी छ”, उनले भने, “सानो समूहले संविधान स्वीकार नगर्ने र निर्वाचन नचाहने गतिविधिमा संलग्न छ, यसलाई सुरक्षा निकायले नियन्त्रण गर्न सक्छन् भन्ने विश्वास छ ।” उनले निर्वाचन व्यवस्थापनको तयारी, सुरक्षा प्रत्याभूतिको तयारी अवस्थाबारे बुझ्न आयोगबाट टोली चितवन आइपुगेको थियो ।
“मंसिर १० गते सम्पन्न निर्वाचन ज्यादै शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको थियो”, साहले भने, “त्यो अवस्था मंसीर २१ गतेको निर्वाचनमा पनि बनाउनुपर्छ ।” उनले एक फरक प्रसंगमा मन्त्रीपरिषदले गरेको निर्णयबारे आयोगको ध्यानाकर्षण भएको बताए । “हामीले सो सम्बन्धमा के निर्णय भएको हो, निर्णय गर्नुपर्ने आधार के हो भनेर स्पष्ट खुलाएर पठाउन भनेर निर्देशन दिइसकेका छौँ”, उनले भने, “सो सम्बन्धमा जवाफ आइसकेपछि आवश्यक कारबाही प्रक्रिया अघि बढ्छ ।”
निर्वाचन आयोगबाट अनुगमनका लागि आएको टोलीका प्रमुख सहन्यायाधिवक्ता उद्धवप्रसाद पुडासैनीले आचारसंहिता विपरितका गतिविधि फेला पारेको बताए । आयोगका तर्फबाट अनुगमन गर्न दुई जना सहचिव सहितको टोलीले ८ गतेबाट जिल्लामा खटिएको थियो । “साउण्डसिष्टम बजाउने, माइकिङ गर्दै चुनाव प्रसार गर्ने काम भइरहेका छन्”, उनले भने, “हामीले सुरुमा सार्वजनिक स्थानमा राखिएका झण्डा हटाउने काम गरेका छौँ”, उनले भने, “जथाभावी माइकिङ गर्ने, ध्वनीप्रदूषण गर्दै हिड्ने सवारीलाई त्यस्ता गतिविधि नदोहो¥याउन सचेत गराएका छौँ ।”
यस्तै केन्द्रीय अनुगमन टोलीका संयोजक रामकृष्ण सुवेदीले अनुमतिविनै चुनावी प्रसारमा प्रयोग भएका सवारी नियन्त्रणमा लिइने बताए । “वाल पेन्टिङ, चुनावी टिसर्ट, टोपीको प्रयोग विगतमा जस्तो छैन”, उनले भने, “आचारसंहिताका गतिविधि रोक्न हामी सक्रिय भएर लागेका छौँ, जनस्तरबाट पनि खवरदारी आवश्यक छ ।” उनले आचारसंहिताविपरीत सञ्चालनमा रहेका सवारीसाधनहरु उच्च निगरानीमा राखिएको बताए । सवारीसाधन मार्फत माइकिङ गर्ने, चुनावीसभा बाहेक लाउडस्पिकर प्रयोग गर्न नपाइने प्रावधान छ । चितवनका मुख्य सडक खण्डकै चोक, चौतारा, प्रतिक्षालय चुनावी प्रचारका सामाग्रीले रंगिएका छन् ।
मतगणना गर्दा तारजाली हुँदैन ः मुख्यनिर्वाचन अधिकृत
चितवनका मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले मतणना स्थलमा मतपत्र सुरक्षाका लागि तारजालीको प्रयोग नगर्ने दावी गरेका छन् । उनले पटक–पटक मतपत्र च्यातिने अवस्था आएपनि तारजालीको प्रयोग गर्ने पक्षमा आफू नरहेको बताए ।
नेपाल पत्रकार महासंघले भरतपुरमा आयोजना गरेको ‘निर्वाचनमा पत्रकारको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै शर्माले राम्रो राजनीतिक संस्कार विकास गर्नका लागि तारजाली प्रयोग नगर्ने रणनीति अवलम्बन गरिने बताए ।
“वैशाखमा त्यो प्रयोग ग¥यौँ, निरन्तर प्रयोग गरिरहनुपर्छ भन्ने छैन”, उनले भने, “अदालतबाट आदेश गरेर पठाएर कैदी कारागारमा बसेको जस्तो दृश्य बनाउन हुँदैन भन्ने हाम्रो भनाइ हो, बरु मतगणनालाई सुरक्षित बनाउन अन्य विकल्प सोच्न सकिन्छ ।”
उनले न्यायपालिका र मिडियाकर्मीको सुझावलाई आधार बनाएर निर्णय गरिने बताए । स्थानीय तह निर्वाचनका बेला चितवनको छवि बिग्रेकाले यसपालि छवि सुधार्न लागिपर्ने बताए । स्वच्छ निर्वाचन संस्कृतिको विकास गरिने बताए । मतगणना स्थल चितवन माविलाई तोकिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट