२९ वटै वडाका वडासदस्यलाई कानुनी सचेतना तालिम

भरतपुर, ९ वैशाख ।
भरतपुर महानगरपालिकाले कानुनी सचेतना तालिम दिन शुरु गरेको छ । आफ्ना प्रत्येक वडाका नागरिकहरुलाई वडा सदस्यहरुमार्फत न्यायको पहुँच, न्याय सम्पादन र न्यायिक अधिकारका सवालमा सबल र सक्षम बनाउने उदेश्यले महानगरपालिकाले २९ वटै वडाका वडासदस्यहरुलाई कानुनी सचेतना तालिम दिन शुरु गरेको हो ।

तालिमलाई दुई चरणमा विभाजन गरी तालिम दिन शुरु गरिएको  छ । वडा नम्बर १ देखि १५ सम्मका वडा सदस्यहरुलाई आइतबार पहिलो दिन र १६ देखि २९ सम्मका वडा सदस्यहरुलाई सोमबार तालिम दिइने कानुनी मामिला शाखाका प्रमुख सुरजराज पौडेलले जानकारी दिए ।

तालिम उद्वघाटन गर्दै नगर उपप्रमुख चित्रसेन अधिकारीले महानगरपालिकाले न्यायमा पहुँच महङ्गो छैन भन्ने मान्यता स्थापित गरेको धारणा राखे । `न्याय मरेको छैन र मर्न दिइने पनि छैन भन्नका लागि यस्ता खालका तालिम अर्थपूर्ण हुनेछन् ।´, उनले भने ।

महानगरको न्यायिक समिति संयोजक समेत रहेका अधिकारीले स्थानीय सरकारको क्षेत्राधिकारभित्रका विवादलाई मेलमिलापका माध्यमबाट व्यवस्थापन गर्न सकिने तथ्य पनि स्थापित भएको धारणा राखे ।

‘स्थानीय सरकारलाई दिएका न्यायिक निरुपणका अधिकार हामीले वडा तहमा लगेका छौँ । वडा तहमा रहेको मेलमिलाप केन्द्रले यी अधिकारहरुको प्रयोग गरिरहेका छन् ।´ उनले भने ।

स्थानीय विवाद निरुपणका लागि न्यायिक समितिसँगै मेलमिलापकर्ताको संयुक्त प्रयास हुनु आवश्यक भएको उपप्रमुख अधिकारीको भनाइ छ । ‘ठाउँ, भूगोल, सामाजिक तथा सांस्कृतिक अवस्थाअनुसार विवादका प्रकृति फरक हुन सक्छन् । विवादका प्रकृति फरक भए पनि मेलमिलाप गराउने पद्धति साझा हुन सक्छ ।´, उनले भने – `विवादलाई सिर्जना भएकै विन्दुमा निरुपण गर्न वडास्तरीय संयन्त्रभन्दा अर्को प्रभावकारी संयन्त्र नभएको उल्लेख गर्दै हाम्रो महानगरपालिका वडामै विवाद समाधान गर्ने सम्भवत पहिलो पालिका हो । यसकारण केन्द्रमा र जिल्ला अदालतमा कम मुद्दा पुग्ने गरेका छन् । न्यायिक विकेन्द्रीकरणको यो नमूना योग्य कदम हो ।´

‘प्राकृतिक न्यायको सिद्धान्त, विवाद समाधानमा स्वच्छ सुनुवाईको सिद्धान्त, न्याय ढिला हुनु हुँदैन र हतारमा अङ्ग नपुगी पनि गर्नु हुँदैन र ढिलो न्याय दिनु न्याय नदिनु सरह हो ।´, उनको तर्क छ ।

आइतबारको तालिममा भरतपुर महानगरपालिकाका उपनिर्देशक जगन्नाथ अर्यालले स्थानीय तहका जनप्रतिनिधिहरुको सेवा सुविधाका सम्बन्धमा प्रशिक्षण दिए । त्यस्तै शाखा अधिकृत राजन सापकोटाले वडा सदस्यहरुको काम,कर्तव्य र अधिकारका सम्बन्धमा प्रशिक्षण दिए । अर्का प्रशिक्षण मेलमिलाप बिज्ञ बन्धुराज पौडेलले स्थानीय जनप्रतिनिधिहरुको न्याय सम्पादन सम्बन्धी व्यवस्था, महानगरका कानुनी सल्लाहकार गोपीलाल देवकोटाले कानुनको परिचय, समसामयिक कानुनहरुको बारेमा जानकारी र जनप्रतिनिधिहरुको आचारसंहिताका सम्बन्धमा प्रशिक्षण दिए ।

उद्वघाटन कार्यक्रममा कार्यपालिका सदस्य गोपाल दराइ, विष्णुबहादुर भुजेल, सामान्य प्रशासन शाखा प्रमुख उपेन्द्रराज पौड्याललगायतको सहभागिता रहेको थियोे ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट