गैँडाकोटदेखि सोलु–सल्यानसम्मको यात्रासंस्मरण

हाम्रो उपनिषद्ले हामीलाई ’चरैवेति चरैवेति’ अर्थात् ’हिँडिरहू हिँडिरहू’ भनेर उपदेश दिन्छ तर हामी नयाँ नयाँ ठाउँमा हिँडिरहन र त्यहाँबाट नयाँ नयाँ शिक्षा लिन अग्रसर हुँदैनौँ । प्रकृतिद्वारा वरदान प्रदत्त यति सुन्दर देश नेपाल विश्वमा नभएरै होला दिनप्रतिदिन नेपालको सुन्दरता हेर्न र आस्वादन गर्न हजारौँ विदेशी पर्यटकहरू नेपाल आउने र महिनौँ नेपालमै बिताउने गर्छन् तर हामीले भने आफूलाई व्यस्त रहेको बहानामा केही दिन फुर्सद निकालेर देशका कुनाकाप्चा अनि पहाडका टाकुराहरूमा आफ्ना पाइला चाल्ने सोच बनाउन सक्तैनौँ । मैले पनि आफ्ना पचास वसन्त पार गरिसक्ता यस्तो सोच बनाउनै सकिनँ तर पचास वसन्त पार गरेपछि भने मलाई आफ्नै छोरीको प्रेरणाले आन्तरिक पर्यटक बनेर देशका कुनाकन्दरा घुम्न पाए र देख्न पाए हुन्थ्यो भन्ने हुटहुटी जाग्न थाल्यो । त्यसैको फलस्वरूप फुर्सद मिल्दा र स्वास्थ्यले साथ दिँदा आफूलाई घरपरिवार र जागिरको बन्धनबाट केही दिन मुक्त राख्ने र स्वतन्त्र पन्छीजस्तै विचरण गराउन मन लाग्ने गरेको छ ।

म विगत ३६ वर्षदेखि नेपाल संस्कृत विश्वविद्यालयमा विद्यार्थी, कर्मचारी र प्राध्यापक हुँदै बिताइरहेको छु । यस विश्वविद्यालयका १३ वटा आङ्गिक क्याम्पसहरूमध्ये सबैजसो क्याम्पसमा पुगे पनि सोलुखुम्बुस्थित क्याम्पसमा भने पुग्ने अवसर प्राप्त भएको थिएन । स्किन सोराइसिसको समस्यालाई हिमाली क्षेत्रको चिसो मौसमले पनि केही राहत देला र कुनै बेला केही समयका लागि सोलुखुम्बु क्याम्पसमा पुग्न पाए हुन्थ्यो भन्ने लागिरहेका बेला यसपटक करिब महिना दिन जतिको जिम्मेवारी दिएर नेपाल संस्कृत विश्वविद्यालयले मलाई सोलुखुम्बुस्थित विश्वेश्वरप्रसाद कोइराला संस्कृत विद्यापीठ (क्याम्पस) मा खटाएको पत्र इमेलमार्फत मेरा हातमा परÞ्यो । पत्र हातमा परेपछि भने सोलुखुम्बु कसरी जाने अनि कहाँ बस्ने र कहाँ खाने भन्ने जिज्ञासाहरू मेरा मनमा उत्पन्न हुँदै गए । देवघाटस्थित महेश संस्कृत गुरुकुल विद्यापीठमा अध्ययन गरी शिक्षक सेवा आयोगबाट हालै नाम निकालेर सोलुखुम्बुको सल्यानस्थित संस्कृत माध्यमिक विद्यालयमा अध्यापन गर्दै आउनुभएका सन्तोष गौतम गुरुसँग फोनसम्पर्क गरेपछि उहाँकै डेरामा बस्ने अनि घरभेटीकै सात्त्विक भान्सामा खाना खाने बन्दोबस्त उनले मिलाइदिनुभएपछि भने मलाई बस्ने र खाने कुराले निर्धक्क बनायो । सोलुखुम्बु जाने कुरा थाहा पाएर बुवाले त खासै चिन्ता मान्नुभएन तर आमाले धेरै दिन घरबाहिर रहनुपर्दा मेरो स्वास्थ्य समस्यामा थप समस्या निम्तिएला कि भनेर चिन्ता लिनुभयो । आमालाई सम्झाइ बुझाइ गरेर अनि सहोदर भाइ नारायण र पर्यटक बनेर घुमिरहन रुचाउने आस्था छोरीको उत्साहजनक प्रेरणा लिएर म सोलुखुम्बुको यात्राका लागि घरबाट बिदा भएँ ।

घरबाट करिब एक महिनाका लागि बिदाइ भएर निस्किए पनि छोरीसँग भने नारायणगढसम्म सँगै आइपुगेर बिदा भएँ । माइक्रोबसमा नारायणगढदेखि काठमाडौँ पुग्न पाँचघण्टाभन्दा बढ्ता लाग्दैनथ्यो तर बाटो मर्मत भइरहेका कारण गल्छीमा आइपुगेर दुईघण्टा जाममा बस्नुपरे तापनि काठमाडौँको बूढानीलकण्ठ नजिकैको पार्क भिलेज रिसोर्टमा चैत्र १४ गतेदेखि सञ्चालन हुन लागेको त्रिदिवसीय अन्तरराष्ट्रिय सम्मेलनको समुद्घाटन समारोहमा निमन्त्रणा पाएकाले समारोह प्रारम्भ हुनै लाग्दै उपस्थित हुने अवसर पाएँ । नेपाल र भारतका विशिष्ट विद्वान् तथा संस्कृतप्रेमी महानुभावहरूद्वारा समारोह कक्ष भरिभराउ थियो । नेपालका तर्फबाट मन्त्री शक्तिबहादुर बस्नेत, उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछाने, प्रा.डा. काशीनाथ न्यौपाने तथा भारतका तर्फबाट विदुषी शशिप्रभा र दिनेश कामतका मन्तव्यहरूबाट दुवै देशको सम्बन्धसूत्र संस्कृत नै रहेको, नेपालले अप्रकाशित पाण्डुलिपिहरूको अध्ययन अनुसन्धान गरेर प्रकाशमा ल्याउनुपर्ने, पैसामा जीवन खोजिरहेको वर्तमानलाई ज्ञानमा जीवन छ भनेर दिशाबोध गर्नुपर्ने र परम्परागत ज्ञानविज्ञानलाई मानवीय जीवनका आवश्यकताअनुरूप अद्यावधिक गर्दै जानुपर्ने कुराहरू व्यक्त भएका थिए । यसरी व्यक्त भएका कुराहरू साँच्चिकै व्यवहारमा लागू भइदिने हो भने नेपाल संस्कृत र आध्यात्मिक साधनाको केन्द्र बन्दै जाने थियो ।

त्रिदिवसीय संस्कृत सम्मेलन काठमाडौँमा चलिरहेको र नेपाल संस्कृत विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयबाट प्राप्त हुने कागजातहरूको प्रतीक्षाका लागि मैले एकदिन काठमाडौँमै बिताउनुपर्ने भएकाले दोस्रो दिनको कार्यक्रममा पनि उपस्थित हुने प्रयास त गरेँ तर सीमित महानुभावहरूलाई दोस्रो र तेस्रो दिनको कार्यक्रममा उपस्थित हुने अनुमति दिइएको देखेर अनिमन्त्रित भएका कारण उक्त कार्यक्रमबाट आफूलाई पृथक् राख्नु नै श्रेयस्कर ठानी फुर्सदको समय प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठको पुस्तकालयमा बिताएँ । वाल्मीकि विद्यापीठको पुस्तकालयमा रहेका संस्कृत व्याकरण विषयका पुस्तकहरू र वाल्मीकि विद्यापीठबाट हालसम्म सम्पन्न भएका संस्कृत व्याकरण विषयका स्नातकोत्तरस्तरीय शोधपत्रहरूको अवलोकन गर्दा अपराह्नको चार बजेको पत्तै भएन । दुईतीन घण्टा पुस्तकालयमा बिताउँदा त्यस विद्यापीठमा अध्यापनरत केकति प्राध्यापक मित्र तथा विद्यार्थीहरूले पुस्तकालयको उपयोग गर्दा रहेछन् भन्ने कुराको स्थालीपुलाकन्यायले जानकारी प्राप्त गर्ने अवसर मिल्यो । २००८ सालदेखिको इतिहास बोकेको वाल्मीकि विद्यापीठको पुस्तकालयमा प्राचीनतम सामग्रीहरूसमेत सङ्कलन भएका भए पनि हाल भवन अभावका कारण एउटै कोठामा प्रतिनिधिमूलक पुस्तकालय सीमित गरिनुपर्दाको बाध्यात्मक परिस्थितिले गर्दा पुस्तकालयले पाठकहरूलाई आकर्षण गर्न नसकेको हो कि भन्ने पनि लाग्यो । मैले जुन सामग्रीको प्रतीक्षा गरेर पुस्तकालयमा बिताइरहेको थिएँ त्यही जिम्मेवारीपूर्ण सामग्री हात परेपछि वाल्मीकि विद्यापीठमा भेटिनुभएका सहप्राध्यापक मित्र गोविन्द पौडेल अनि उपप्राध्यापक मित्र सुदर्शन नेपालको सहयोग पाएर त्यहाँबाट बिदा भएँ ।

सोलुखुम्बु जाने टाटासुमो गाडीका चालकहरूले यात्रीहरूलाई बिहान तीन नबज्दैदेखि सम्बन्धित ठाउँमा उपस्थित हुन ताकेता गरिरहन्छन् भन्ने सुनेको थिएँ । त्यसैले तीन बजेका लागि तयारी हुन रातको दुई बजे नै मोबाइलको अलार्म घन्टीले मेरो निद्रा खुलायो । नित्यकर्मबाट निवृत्त भएर तीन नबज्दैदेखि पठाओ कम्पनीमा ट्याक्सी पठाइदिन अनुरोध गर्ने क्रम सुरु भयो । कीर्तिपुर सल्यानथानस्थित मामाघरको नजिकै पठाओ कम्पनीका कर्मचारीले मलाई फोन गरेर पाँच मिनेटमै आइपुग्ने सूचना दिएपछि मामामाइजूको निद्रा नबिग्रियोस् भनेर गेटको ताला खोली सामान बाहिर राखेर गेटको भित्रबाटै ताला लगाएर अप्ठ्यारोसाथ गेट नाघी बाहिर निस्किएँ । कीर्तिपुर सल्यानथानबाट ट्याक्सीमा टाटासुमो गाडीचालक भाइले तोकिदिएको ठाउँ जडीबुटी पुग्न आधा घण्टा पनि लागेन तर रातका समयमा भएर होला ट्याक्सीभाडा भने काठमाडौँबाट सोलुखुम्बु पुग्ने भाडाको आधा भाडाभन्दा पनि बढी तिर्नुपरÞ्यो । जडीबुटी पुगेर डेढघण्टा प्रतीक्षा गरेपछि मात्र सोलुखुम्बु जाने टाटासुमो गाडी आइपुग्यो । गाडीचालकले मध्यरातदेखि नै यात्रीहरूको निद्रा नखल्बल्याईदिएको भए निश्चय गर्न मजस्ता यात्रीहरू डेढघण्टासम्म सडकछेउमा चिसिएर बस्नुपर्ने थिएन होला । गाडीचालक भाइलाई अघिल्लै दिन फोन गरेर आफ्नो स्वास्थ्य अनुकूल नरहेकाले सकभर अघिल्लो सिट राखिदिन अनुरोध गरेको थिएँ र गाडीचालक भाइले हुन्छ पनि भनेका थिए तर जडीबुटीबाट म चढ्दा गाडीको अन्तिम एउटा सिटमात्र खाली रहेछ । त्यसदिन त के प्रायः सबैजसो दिन काठमाडौँबाट सोलुखुम्बुको नेचासल्यान जाने एउटामात्र गाडी लाग्दो रहेछ । जेजस्तो सिट भए पनि अर्को विकल्प नभएकाले अन्तिम सिटमै बसेर चैत्र १६ गते बिहान ५ः३० बजे काठमाडौँबाट सोलुखुम्बुको नेचासल्यानका लागि मेरो यात्रा अगाडि बढ्यो ।

भक्तपुरको जडीबुटीदेखि सोलुखुम्बुको नेचासल्यानसम्मको मेरो यात्रा नयाँ थियो । त्यसैले मेरा आँखाहरू निरन्तर बाहिरी दृश्यहरू हेर्दै र क्यामेरा हल्लिए पनि बाहिरी दृश्यहरूलाई क्यामेरामा सुरक्षित गर्न अग्रसर हुँदै गए । धुलिखेल आइपुग्दा काठमाडौँ विश्वविद्यालय यहीँ हो भन्ने जानकारी लिन मलाई गाह्रो भएन । काभ्रेभन्ज्याङको पेट्रोल पम्पमा आइपुगेर गाडीले आफ्नो खानाको जोहो गरÞ्यो भने काभ्रेकै भकुन्डेबेसीमा आइपुगेर गाडीले केही समय विश्राम गर्दै आफ्ना यात्रीहरूलाई आफ्नो सानो भोक तृप्त गर्न अनुमति दियो । त्यहाँका सुख्खा रोटी पनि निकै ठूला थालजत्रा र निकै स्वादिला लागेकाले महँगो लागेन । सबैजसो ससाना गाडीहरूले यसै ठाउँमा चियानास्ता गरेर अगाडिको यात्रा तय गर्दा रहेछन् । त्यहाँबाट अघि बढ्दै गएपछि ठूलो बजार देखियो जुन नमोबुद्ध नगरपालिकाभित्र पर्दो रहेछ । त्यसपछि मङ्गलटार र नेपालथोक आइपुगियो । काभ्रेपलान्चोक जिल्लालाई पार गरेर सिन्धुली जिल्लाको नेपालथोक आइँदो रहेछ । नेपालथोक सुनकोशी गाउँपालिकाभित्र पर्दो रहेछ । त्यसपछिको धेरैजसो यात्रा सुनकोशीको किनारैकिनार अघि बढ्दो रहेछ । नेपालथोकबाट अघि बढेपछि भेटिने चैनपुरबाट धुलिखेलको दूरी ७५ किमी रहेको जानकारी राजमार्गमा राखिएको किलोमिटर स्तम्भबाट प्राप्त भयो ।

सुनकोशीको किनारबाट केही उकालो लागेपछि मूलकोटको रिठ्ठेभिरमा सेतीदेवीको मन्दिर भेटिँदो रहेछ । सेतीदेवीका मन्दिरहरू दूधकुण्डमा, कागेश्वरी मनोहरामा, नगरकोटमा इलाममा र बनेपामा पनि पाइँदा रहेछन् । यस किसिमका मन्दिरहरू पश्चिम नेपालमा भेटिँदैनन् । रिठ्ठेभिरमा रहेको सेतीदेवी मन्दिरको मुख्य आकर्षण भनेको विपी राजमार्गका करिब ५०० मिटरजति दूरीका भित्ताभरि ऐनाहरू टाँसिएका देखिन्छन् । सेतीदेवीका नाममा किन त्यसरी ऐनाहरू टाँस्ने गरिएको होला भन्ने जिज्ञासा सबैजसो नयाँ यात्रीहरूका मनमा उब्जनु अस्वाभाविक होइन । गाडीका सहयात्रीहरूकै भनाइअनुसार विपी राजमार्ग खन्ने क्रममा सेतीदेवीको शिला डोजरले खनेर भत्काएपछि धेरै बसहरू दुर्घटनामा परेपछि र एउटी आठवर्षीया बालिकामा देवी उत्रिएपछि सेती देवीको मन्दिर स्थापना गरी देवीलाई मनपर्ने ऐना चढाउने परम्परा बसेको रहेछ । यसरी ऐना चढाउनाले भूतप्रेतले कसैलाई पनि दुःखकष्ट नदिने जनविश्वास रहेछ ।

सेतीदेवी मन्दिर परिसरको राजमार्गमा ऐना नै ऐनाको आकर्षणलाई पार गरेर अघि बढ्दै जाँदा खाल्टे भन्ने ठाउँ आउँदो रहेछ । त्यसपछि आउने खुर्कोट यस क्षेत्रकै ठूलो बजार रहेछ । जहाँ बैँक, यातायात कार्यालय र प्रहरी कार्यालयहरू पनि रहेछन् । खुर्कोट बजार अहिले मात्रै होइन सात दशकभन्दा पहिलेदेखि नै बजारका रूपमा सुप्रसिद्ध रहेछ । खुर्कोट बजार पनि सिन्धुली जिल्लामै पर्दो रहेछ । पूर्वी नेपाललाई राजधानीसँग जोड्ने बाटामा पर्ने खुर्कोट बजारबाट रामेछाप, दोलखा, ओखलढुङ्गा र तराई झर्दा बास बस्ने प्रमुख ठाउँका रूपमा पहिल्यैदेखि चिनिएको रहेछ । विपी राजमार्ग बनेपछि मात्रै खुर्कोटले नयाँ रूप धारण गर्न पाएको रहेछ । खुर्कोट नजिकैको सुनकोशी नदीमा पुल बनेपछि रामेछाप जाने यात्रुहरूको पनि यही बजार सङ्गमस्थल बनेको रहेछ । दशकौँ अघिसम्म यात्रीहरूको वास बस्ने ठाउँका रूपमा परिचित खुर्कोट बजार विपी राजमार्ग बनेपछि यात्रीहरूका लागि खाना खाने ठाउँका रूपमा बढ्ता चिनिन थालेको रहेछ । जसले गर्दा यहाँ पचासवटा भन्दा बढी सुविधासम्पन्न होटेलहरू पनि बनिसकेका रहेछन् । धुलिखेलदेखि बर्दीबाससम्मको सडक जोडिएपछि यस ठाउँमा बसाइसराइ गर्नेहरू बढेकाले खुर्कोट बजारको जग्गाको मूल्य निकै बढेको रहेछ । खुर्कोट बजारलाई कुनैबेला सुनकोशी नदीले बगाएर ध्वस्त बनाएको रहेछ भने २०७२ को महाभूकम्पले पनि अलि अलि उठ्न र तङ्ग्रिन थालेको खुर्कोट बजारलाई ठूलै चोट दिएछ । सधैँ सुनकोशी नदीको बाढीको त्रासमा बाँचिरहे पनि खुर्कोट बजार आफूलाई सुविधासम्पन्न बनाएर मुस्कुराइरहन भने छाडेको रहेनछ ।

खुर्कोट बजारबाट केही अघि बढेपछि क्रमशः रामेछाप जाने र बर्दीबास जाने बाटाहरू छाडेर ओखलढुङ्गा हुँदै सोलुखुम्बु पुग्ने बाटो मोडिँदो रहेछ । सुनकोशी नदीको किनारैकिनारको यात्राका क्रममा बन्दै गरेका पक्की पुलहरूले ओखलढुङ्गाका विभिन्न भागमा पुग्न सहज बनाउन थालेको रहेछ । सुनकोशी नदीकै एउटा पक्की पुल तरेपछि ओखलढुङ्गाको सुनकोशी गाउँपालिका पुग्न सकिँदो रहेछ भन्ने जानकारी पक्की पुलमा राखिएको साइनबोर्ड पढेपछि प्राप्त भयो । सुनकोशीको तिरैतिरको घण्टौँसम्मको यात्रालाई अन्त्य गर्न लाग्नुभन्दा केही अघि सिन्धुली जिल्लाकै फिक्कल गाउँपालिका खाडसाङबाट खोलाको पुल तरेपछि भने सिन्धुली जिल्लालाई बिदाइ गरेर थोरै समय भए पनि उदयपुर जिल्लाको यात्रा गर्न पाइँदो रहेछ । उदयपुर जिल्लाको कटारी नगरपालिकाको वडा नम्बर १४ अन्तर्गत पर्ने घुर्मी बजारबाट कटारी बजारतिर जाने बाटो छुट्टिँदो रहेछ । कटारी बजारबाट तराईतिरको यात्रा गर्न सकिँदो रहेछ । ओखलढुङ्गा र सोलुखुम्बु जिल्लालाई काठमाडौँसँग जोड्ने वर्तमान पहाडी लोकमार्ग बन्नुभन्दा पहिला ओखलढुङ्गा र सोलुखुम्बुका सबैजसो यात्रीहरूले घुर्मी बजार हुँदै कटारीसम्म पैदल यात्रा गरेर गाडी चढ्न पाउँथे । त्यतिबेला घुर्मी बजार पनि पहाडको एउटा मुख्य व्यापारिक केन्द्रका साथै यात्रीहरूको बास बस्ने ठाउँका रूपमा सुपरिचत रहेको रहेछ । आजभोलि भने यही घुर्मी बजार यात्रीहरूका लागि खाना खाने मुख्य ठाउँका रूपमा चिनिन थालेको रहेछ ।

वारिपट्टिको उदयपुर जिल्लाको घुर्मी बजार छाडेर सुनकोशी नदीको पक्की पुल तरेपछि पारिपट्टिको मानेभन्ज्याङ गाउँपालिका वडा नम्बर सातमा पर्ने हर्कपुर बजारबाट ओखलढुङ्गा जिल्ला प्रारम्भ हुँदो रहेछ । ओखलढुङ्गा जिल्लामा रहेका आठवटा स्थानीय तहहरूमध्ये एउटा नगरपालिका र सातवटा गाउँपालिकामध्येमा मानेभन्ज्याङ एउटा गाउँपालिका रहेछ । मानेभन्ज्याङ गाउँपालिकाको केन्द्र भने वडा नम्बर पाँचमा पर्दो रहेछ । हर्कपुर बजारकै राजमार्गमा ’ओखलढुङ्गामा स्वागत छ’ भनेर लेखिएको स्वागतद्वार पनि हालै निर्माण गरिएको रहेछ । हर्कपुरमा हामी आएको गाडी रोकिएर सहयात्रीहरू आफ्नो भोक तृप्त गर्न होटेलतिर पस्नुभयो । म भने बिहान नास्ताका रूपमा खाएका तीनवटा रोटी र सब्जीले नै अघाएको अनुभूति गरेर नास्ताका रूपमा कुनै पसलमा बिस्कुट पाइन्छ कि भनेर खोज्दै हिँडेँ । हर्कपुर बजारमा बिस्कुट पाइने पसल पनि कम रहेछन् । एउटा पसलमा बिस्कुट भेटिएपछि ओखलढुङ्गाको स्वागतद्वारमा पुगेर सम्झनाका लागि केही तस्बिरहरू क्यामेरामा सुरक्षित गरेँ । त्यसपछि हाम्रो यात्रा हर्कपुर बजारबाट ओखलढुङ्गाको उकालो पहाडतर्फ अगाडि बढ्यो ।

ओखलढुङ्गा जिल्लाको यात्रा गर्दैगर्दा कविवर सिद्धिचरण श्रेष्ठको ’मेरो प्यारो ओखलढुङ्गा’ कवितालाई सम्झिएर त्यसलाई मनमनै गुनगुनाउन थालेँ । हर्कपुर बजारबाट ओखलढुङ्गा बजार पुग्न ४७ किलोमिटरको दूरी पार गर्नुपर्दो रहेछ । त्यसक्रममा हर्कपुर बजारबाट करिब छ किलोमिटर अघि बढेपछि मानेभन्ज्याङ गाउँपालिकाकै वडा नम्बर छमा पर्ने हिलेपानी भन्ने ठाउँ आइँदो रहेछ । हिलेपानीबाट मोडिएर ४० किलोमिटर पार गरेपछि खोटाङ जिल्लाको सुप्रसिद्ध हलेसी महादेवको मन्दिर पुग्न सकिँदो रहेछ । यता आइपुगेपछि हलेसी महादेवको मन्दिर पनि पुग्न पाए हुन्थ्यो भन्ने कुरा मनले त कल्पना गरÞ्यो तर ४० किलोमिटर पनि पहाडी राजमार्गका लागि धेरै हुने र आफ्नो गन्तव्यभन्दा अपायक पर्ने भएकाले यतिबेला असम्भव नै होला भनेर आफ्नै मनले आफैलाई चित्त बुझाएँ । हिलेपानीबाट थाक्ले पुग्न पाँच किलोमिटरको दूरी पार गर्नुपर्दो रहेछ । हिलेपानीबाट अघि बढ्दै जाँदा बल्ल पहाडी डाँडाकाँडाको यात्रा गर्न थालेको अनुभूति भयो । थाक्ले पनि सानो बजारजस्तै रहेछ । त्यहाँबाट मित्र लोकनाथ दाहाल पनि हामीसँगै सहयात्री बनेर मिसिनुभयो । त्यतिबेलासम्म सोलुखुम्बु सल्यानका सविन बस्नेत भाइसँग यात्राका क्रममा भेटिएका नयाँ नयाँ ठाउँका बारेमा जानकारी लिइरहेको थिएँ । लोकनाथ सरको जन्मस्थल पनि ओखलढुङ्गाको थाक्ले नै भएकाले उहाँ भेटिएपछि भने मलाई यताका गाउँठाउँका बारेमा क्रमशः जानकारी लिन झनै सजिलो भयो ।

थाक्लेबाट चार किलोमिटरको दूरी पार गरेपछि मानेभन्ज्याङ गाउँपालिकाको मूल केन्द्रविन्दु मानेभन्ज्याङमा पुगिँदो रहेछ । त्यसपछि केत्तुकेबाट लगलगे जङ्गल पार गर्दै लगलगे गाउँको मिलनचोक पुगिँदो रहेछ । पहाडको शिखरमा जाडाले लगलग कमाउने भएकाले जङ्गल र गाउँको नामसमेत लगलगे राखिएको हुनुपर्छ । त्यहाँबाट केही समय अघि बढेपछि सिद्धिचरण नगरपालिका वडा नम्बर ११ मा अवस्थित ओखलढुङ्गा बजार आइपुगिँदो रहेछ । ओखलढुङ्गा बजारबाट भिन्न बाटो मोडिएर कविवर सिद्धिचरण श्रेष्ठको जन्मस्थल र ओखलढुङ्गाको पुरानो बजार पुगिँदो रहेछ । जुन पुरानो बजारमा ओखल भएको ढुङ्गा देख्न सकिँदो रहेछ भने जिल्ला प्रशासन कार्यालय आदि कार्यालयहरू र लाम्चो आकारमा करिब दुई किलोमिटरको दूरीमा फैलिएको बजार पनि रहेछ । सोलुखुम्बुको सदरमुकाम सल्लेरी र सल्यान जाँदा बाटामा पर्ने ओखलढुङ्गा बजारलाई हाल रमाइलो डाँडा भनिँदो रहेछ तर त्यसको पुरानो नाम भने मुतुवा डाँडा रहेछ । सोलुखुम्बु आउने बाटो खुलेपछि त्यही पुरानो डाँडो रमाइलो बनेकाले त्यसलाई रमाइलो डाँडा भनिएको रहेछ । पुग्न त मलाई कविवर सिद्धिचरणको जन्मस्थलमा पुग्ने रहर थियो तर सल्यान पुग्ने गाडीको यात्रामा रहेकाले यतिबेला मलाई सिद्धिचरणको मूल जन्मस्थल दर्शन र स्पर्श गर्ने अवसर भने प्राप्त हुन सकेन । त्यसका लागि ओखलढुङ्गासम्मकै यात्रा तय गरेर आउनुपर्दो रहेछ । रमाइलो डाँडाबाट करिब चार किलोमिटर जतिको पहाडको चुचुराचुचुरैको यात्रा अगाडि बढेपछि बिब्ल्याँटे भन्ने ठाउँमा आएर हामी चढेको गाडी टक्क अडियो । बिब्ल्याँटेमा आइपुगेपछि सबैजसो यात्रीहरू गाडीबाट ओर्लिएर चियानास्ता गर्न थाल्नुभयो । म भने त्यहाँका केही तस्बिरहरू लिन थालेँ । त्यसै क्रममा राजमार्गकै छेउमा अड्याइएको होडिङ बोर्डमा सोलु र स्वर्ण सगरमाथा लेखिएर दुवैतिर निर्देशक (एरो) चिह्न दिइएको रहेछ । त्यसका बारेमा मित्र लोकनाथसँग सोधपुछ गरेँ । ’सोलु’ भन्नाले सोलुखुम्बु जिल्लाको सदरमुकाम सल्लेरी जाने बाटो यहीँबाट मोडिने र ’स्वर्ण सगरमाथा’ भन्नाले यहाँबाट केही अघि गएपछि भेटिने पत्ताले भन्ने ठाउँबाट सगरमाथालगायतका हिमालहरू टाढैबाट देख्न सकिने सुन्दर र रमणीय ठाउँ भएकाले त्यसलाई स्वर्ण सगरमाथा भनिएको हुनुपर्छ भन्ने जानकारी मलाई प्राप्त भयो ।

ओखलढुङ्गा जिल्लाकै बिब्ल्याँटेबाट सोलुखुम्बु जिल्लाको सदरमुकाम सल्लेरी जाने र सल्यान जाने बाटो छुट्टिँदो रहेछ । कुनै बेला उल्टो कपडा लगाउने व्यक्तिविशेषको प्रवृत्तिलाई लिएर यस ठाउँको नाम बिब्ल्याँटे राखिएको हुनुपर्छ । सल्यान जानका लागि बिब्ल्याँटेसम्म त पक्की सडक नै भए पनि त्यसपछि तल मोडिने बाटो भने कच्ची रहेछ । बिब्ल्याँटेबाट सल्यान पुग्नका लागि धेरै किलोमिटर त होइन जम्मा २२ किलोमिटर दूरी रहेछ तर कच्ची र अप्ठ्यारो बाटो भएकाले होला यत्ति दूरी पार गर्न पनि डेढ घण्टाजति लाग्दो रहेछ । त्यसैले बिब्ल्याँटे नाम जसरी रहे पनि वर्तमान सडकको अवस्था हेर्दा बिब्ल्याँटेबाट बाटो सब्ल्याँटो हुन छाडेर बिब्ल्याँटो भएको अनुभूति यात्रीलाई हुँदो रहेछ । बिब्ल्याँटेबाट सल्यान पुग्ने क्रममा ठोट्ने खोला हुँदै गैरीडाँडा र आहाले पार गर्नुपर्दो रहेछ । ठोट्ने नामको सागविशेष पाइने खोला भएर होला खोलाको नाम ठोट्ने राखिएको रहेछ ।

सोलुखुम्बु जिल्लाको प्रारम्भ गैरीडाँडाबाट हुँदो रहेछ । गैरीडाँडामा सानो बजार रहेछ र त्यससँगै एउटा माध्यमिक विद्यालय पनि सञ्चालित रहेछ । नाम आहाले भए पनि त्यहाँ वर्तमानमा आहाल वा कुनै पानी जमेको ठाउँ देखिएन । सडक निर्माणका क्रममा आहाल पुरिए पनि त्यसलाई पुरानो नामले वर्तमानमा ’आहाले’ भनिँदै आइएको रहेछ । आहालेमा शेर्पा जातिका दुईचार घरहरू रहेछन् र त्यहाँ मुख्यतः आलु र कोइरे मूलाको बढ्ता उत्पादन हुँदो रहेछ । आहालेबाट केही अघि बढेपछि ख्याम्पू गाउँ आउँदो रहेछ । जहाँ नेचासल्यान गाउँपालिकाको वडा नम्बर एकको वडा कार्यालयसँगै सानो बजार पनि रहेछ । ख्याम्पूबाट सोलु खोला हुँदै पञ्चन भन्ज्याङसम्म मध्य पहाडी लोकमार्गको निर्माणकार्य द्रुत गतिमा चलिरहेको रहेछ । जुन लोकमार्ग निकै फराकिलो र नालीसमेत निर्माण गरिएका कारण ख्याम्पूबाट सोलु खोलासम्मको यात्रा सहज बन्दै जान थालेको रहेछ । ख्याम्पूबाट नेचासल्यान गाउँपालिका वडा नम्बर दुईको दोदी गाउँ हुँदै सल्यान पुग्न सकिँदो रहेछ ।

काठमाडौँबाट सोलु सल्यानको जम्मा दूरी २७० किलोमिटर मात्रै रहेछ तर सामान्यतया बिहान पाँच बजे हिँडेको टाटासुमो गाडी सरसर्ती सल्यान आइपुग्दा अपराह्नको चार बज्दो रहेछ । पहाडी मार्ग र साँघुरो सडक भएका कारण गाडीहरूको जाम लाग्ने समस्या नभए पनि घुमाउरो र निकै सावधानीपूर्वक गाडी चलाउनुपर्ने भएर नै होला सरदर ११÷१२ घण्टाभन्दा अगाडि काठमाडौँबाट सल्यान आइपुग्न नसकिँदो रहेछ । गाडी चढ्ने बेलामा सम्भव भएसम्म गाडीचालक यात्रीहरूका घरघरमा पुग्ने र गाडीबाट ओर्लने बेलामा पनि यथासम्भव यात्रीहरूका घरघरसम्म पुरÞ्याउनुपर्ने बाध्यताले गर्दा पनि छोटो दूरीमा धेरै समय लागेको हुनसक्छ । त्यसका अतिरिक्त गाडीचालक र यात्रीहरू प्रायः चिनजानकै हुने गरेकाले पनि यात्री र चालकका बिचमा पारिवारिक सम्बन्धजस्तै आत्मीयता गाँसिएको हुँदो रहेछ ।

(२०८१ वैशाख ६, नेचासल्यान गाउँपालिका वडा नम्बर–२, सल्यान, दुवाडाँडा, सोलुखुम्बु)

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट