भरतपुर, १७ चैत ।
शनिबार बिहान काठमाडौँबाट गोरखातर्फ आइरहेको ट्याक्सी त्रिशूलीमा नदीमा खस्यो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक भावेष रिमालका अनुसार पारिवारिक कार्यक्रम सकेर काठमाडौँबाट तीन वटा गाडीमा फर्किंदै गर्दा दुर्घटना भएको हो । अन्य दुई गाडी मुग्लिङ आइपुगेपछि धेरैबेर कुर्दा नआएपछि उनीहरुले प्रहरीलाई खबर गरेको रिमालले जानकारी दिए ।
पशुपतिमा आफन्तको दाहसंस्कार सकाएर गोरखा फर्कँदै गरेकाहरू चढेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी मुग्लिङ नजिकै सिमलधाराबाट बिहान ७:१५ बजेतिर त्रिशूली नदिमा खसेको हो । दुर्घटनामा खस्दा ५ जनाको मृत्यु भएको छ । मृतक मध्ये ४ जना एकै परिवारका हुन् ।
प्रहरीका अनुसार गोरखा नगरपालिका – ७ का ४१ वर्षका हरिमाया रोका, ७० वर्षीया जुनकिरी रोका, २८ वर्षकी अञ्जना रोका र ९ वर्षका बालक आगमन नगरकोटी रहेका छन् ।
१८ वर्षका दिवस रोका भने त्रिशुली नदीमा हराइरहेका छन् । ट्याक्सी चालक गोरखा नगरपालिका ७ का ३५ वर्षका अर्जुन सिर्मल रहेको ईलाका प्रहरी कार्यालय मुग्लिङले जनाएको छ । चालक सिर्मल रोका परिवारका ज्वाइँ भएको प्रहरीले बताएको छ ।
गोरखा नगरपालिका ७ का वडाअध्यक्ष विष्णुप्रसाद श्रेष्ठका अनुसार मृतक एकै परिवारका र उक्त परिवारका आफन्त हुन् । उनीहरू जुनमाया रोकाका छोरा ३९ वर्षीय शंकर रोकाको शुक्रबार राति पशुपतिमा अन्त्येष्टि गरेर शनिबार बिहान घर फर्कर्ने क्रममा दुर्घटनामा परेका हुन् ।





