भरतपुर, १५ मंसीर ।
वन तथा भूसंरक्षण मन्त्री विक्रम पाण्डेले दुई कार्यकाल प्रधानमन्त्री हुँदा ‘प्रचण्ड’ले चितवन आफ्नो गृहजिल्ला भएको भुलेको आरोप लगाएका छन् । भरतपुर– ब्रहमपुरी तिमिल्सिना चोकमा आयोजित चुनावीकोणसभालाई सम्बोधन गर्दै मन्त्री पाण्डेले विगतमा योजना पार्न कञ्जुस्याई गरेका प्रचण्ड चुनाव जितेर विकास गर्छु भन्दै भ्रम छर्दै हिँडेको आरोप लगाए ।
“३ नम्बर क्षेत्रभरी धुलाम्मे सडक छन्, पुल, सिँचाई लगायतका सुविधा पुगेका छैनन्”, उनले भने, “उहाँ आँफै दुई पटक प्रधानमन्त्री बन्नुभयो, तर त्यो बेला जिल्ला मेरो हो भनेर थाहा पाउनुभएको थिएन र ?” उनले सत्ता बनाउने र भत्काउने खेलमा लाग्दा फुर्सद नभएरै चितवन भुलेको व्यङग्य गरे । “साविक ४ र ५ नम्बर क्षेत्रबाट विगतमा माओवादीले चुनाव जितेकै थियो, उहाँ आँफै प्रधानमन्त्री पनि हुनुभयो, खै विकास आएन, फेरी पनि विकास ल्याउँछु भनेर जनताले पत्याउनेछैनन् ।” मन्त्री पाण्डे चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् । उनका कडाप्रतिस्पर्धिका रुपमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखा परेका छन् ।

“कहिले कांग्रेस, कहिले एमालेको बुई चढेर सत्तामा जाने खेल खेल्दै फुर्सद भएन”, उनले भने, “विगतमा चितवन भुलेको सजाय जनताले यसपालि मतदानबाट गर्नेछन् ।” उनले देशमा अस्थिर सरकार बनाउने मुख्य व्यक्तिनै माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ भएको आरोप लगाए । चुनावी मैदानमा उत्रिएपछि लोकतान्त्रिक अभ्यास गर्न छाडेर प्रतिस्पर्धि उम्मेदवारलाई मैदान खाली गरिदिनुस् भनेर भाषण गर्नु हारको मानसिकता भएको जीकिर गरे । “संविधान कार्यान्वयन गर्नुछ, जनताका थुप्रै समस्या समाधान गर्नुछ”, राप्रपा(प्रजातान्त्रिक) का कन्द्रीय उपाध्यक्ष पाण्डेले भने, “एकदलीय शासन चलाएर सत्तामा रमाउने उहाँको चाल छ, जनताले बेलैमा सहि निर्णय गर्नुपर्छ ।” उनले आफ्ना प्रतिस्पर्धि उम्मेदवार प्रचण्ड विगतका निर्वाचन क्षेत्रमा विकासको गति दिन नसेकेपछि चितवन झरेको आरोप लगाए । “द्वन्दकालमा धेरै अन्यायमा परेका छन्, न्याय दिने काम भएकै छैन”, उनले भने, “इमान्दार बनेर राजनीतिमा लाग्ने व्यक्तिलाई जनताले साथ दिनेछैनन् ।” उनले कांग्रेसको सहारामा छोरीलाई मेयर बनाएका प्रचण्डले एमालेको सहारामा सत्तामा पुग्ने सपना बुनेपनि कांग्रेस र एमालेले त्यो सपनालाई पुरा गर्न नदिने दावी गरे । उनले आँफु निर्वाचन क्षेत्रको विकासका लागि प्रतिवद्ध हुने जनाए । कांग्रेस र राप्रपा(प्रजातान्त्रिक) मिलेर विकासको लहर ल्याउने दावी गरे । चुनाव अगावै हरेक घरदैलोमा जनताका समस्या बुझ्न आँफु पुगिसकेको भन्दै उनले जनताले चुनाव जित्ने आर्शिवाद दिएको बताए ।





