भरतपुर, २९ फागुन ।
उद्योग वाणिज्य संघ–चितवनको सभाकक्षमा मंगलबार निजी क्षेत्रका रोजगारदातालाई डाटाबेस सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र उद्योग वाणिज्य संघ–चितवनको आयोजनामा कार्यक्रम भएको हो ।
उद्योगी व्यवसायीलाई सिपयुक्त कर्मचारी छनोट गर्न सहज बनाउने उद्देश्यले निजी क्षेत्रका रोजगारदातालाई रोजगारदाता डाटाबेस सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा वोल्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले उद्योगी व्यवसायीहरुले दक्ष कर्मचारी पाउन गाह्रो भएको अवस्थामा यस प्लेटफर्म मार्फत सक्षम व्यक्ती सहज तरिकाबाट पाउने अपेक्षा राखे । उनले उद्योग वाणिज्य संघ–चितवनसँग सहकार्य गरेर उद्योगी व्यवसायीहरुलाई रोजगारदाता डाटाबेस सम्बन्धी सिकाउने कार्य गरेकोमा बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयलाई धन्यवाद ज्ञापन गरे ।
बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख गोपालप्रसाद कँडेलले उद्योगी व्यवसायी र कामदार बिचको दुरी घटाउन यो डाटावेश निर्माण गरेको बताउँदै आगामी दिनमा पनि सामाजिक विकास मन्त्रालय र उद्योग वाणिज्य संघ–चितवन लगायत चिनवनका उद्योगी व्यवसायीहरुसँग सधैं सहकार्य गरेर अगाडि बढ्ने बताए ।
कार्यक्रममा एनभिक्यूएस परियोजनाका प्राविधिक अधिकृत सुरेन्द्रकुमार रायले डाटावेसका फाइदा, डाटावेसमा सूचीकरण हुने तरिका र डाटावेसको बारेमा प्रस्तुतीकरण गरेका थिए । उद्योग वाणिज्य संघ–चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले धन्यवाद ज्ञापन गर्दै उपस्थित सबैलाई डाटावेसमा सूचीकरण हुन अनुरोध गरे ।
कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका उपाध्यक्ष नारायण प्रधान, कार्यसमितिका पदाधिकारीलगायत विभिन्न व्यावसायिक प्रतिष्ठानका प्रतिनिधिहरुको उपस्थिति रहको थियो ।
बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख गोपालप्रसाद कँडेलको अध्यक्षतामा भएको कार्यक्रम बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका चन्द्र श्रेष्ठले सञ्चालन गरेका थिए ।





