साहित्य सङ्‍गम मकवानपुरले ७ स्रष्टाहरूलाई सम्मान गर्ने

मकवानपुर, २९ फागुन ।
साहित्य सङ्‍गम मकवानपुरले ७ जना साहित्य सर्जकहरूलाई सम्मान गर्ने भएको छ । सङ्गममा स्थापित विभिन्न सम्मान तथा पुरस्कारहरू मध्येबाट वि.सं. २०८० मा प्रदान गरिने सम्मानहरूका लागि सम्मान छनौट समितिले गरेको सिफारिसलाई कार्यसमितिले अनुमोदन गरेको हो ।

रु. १५ हजार ५५५ राशिको ‘मकवानपुर साहित्यश्री सम्मान २०८०’ बाट ईन्द्रजित शर्मा चौलागाईँ सम्मानित हुनु हुनेछ । शर्मा हास्य तथा अन्य टेलिश्रृङ्खलामा अभिनयमा सक्रिय हुनुहुन्छ । साथै उहाँलाई समर्पण गरिने पुरस्कार तत्कालीन जिल्ला विकास समिति मकवानपुर र साहित्य सङ्गम मकवानपुरद्वारा स्थापना गरिएको हो ।

रु. १५ हजार ५५५ राशिको ‘भेषनाथ अधिकारी स्मृति छन्द सम्मान २०८०’ बाट धनकुटाकी स्रष्टा कल्पना काफ्ले सम्मानित हुनु हुनेछ । सो सम्मान साहित्य सर्जक विशाल अधिकारी आशुतोषले स्थापना गर्नु भएको हो । रु. १० हजार राशिको ‘विनोद-सुनिता सुवेदी साहित्य सम्मान २०८०’ बाट ललितपुरका स्रष्टा श्रीराम पाण्डे सम्मानित हुनु हुनेछ । सो सम्मान साहित्यसेवी तथा बालजागृति इङ्लिस सेकेण्डरी बोर्डिङ स्कुलका प्रिन्सिपल विनोद सुवेदी तथा शिक्षक सुनिता सुवेदी दम्पत्तिले स्थापना गर्नु भएको हो ।

रु. १० हजार राशिको ‘सुभद्रादेवी-मदन मुडवरी स्मृति सम्मान २०८०’ बाट मकवानपुरका स्रष्टा विश्वनाथ सञ्जेल सम्मानित हुनु हुनेछ । सो सम्मान हेटौँडाका (हाल अमेरिका निवासी) दीपक मुडवरीले स्थापना गर्नु भएको हो । रु. १० हजार राशिको ‘मङ्गलादेवी श्रेष्ठ नारी स्मृति सम्मान २०८०’ बाट मकवानपुरकी स्रष्टा भावना सापकोटा सम्मानित हुनु हुनेछ । उहाँ आँचल साहित्य कला पुञ्ज मकवानपुरकी अध्यक्ष हुनुहुन्छ । सो सम्मान हेटौँडाका देवप्रसाद श्रेष्ठले स्थापना गर्नु भएको हो ।

रु. १० हजार राशिको ‘मुक्ति-तारा सम्मान २०८०’ बाट मकवानपुरका स्रष्टा सानुभाइ विश्वकर्मा सम्मानित हुनु हुनेछ । सो सम्मान हेटौँडाका साहित्यसेवी मुक्तिगोविन्द वैद्य र तारादेवी वैद्यले स्थापना गर्नु भएको हो । रु. १० हजार राशिको ‘रामहरि-देवु सम्मान २०८०’ बाट मकवानपुरका स्रष्टा किशन पौडेल सम्मानित हुनु हुनेछ । उहाँ लघुकथा चौतारी मकवानपुरका अध्यक्ष हुनुहुन्छ । सो सम्मान हेटौँडाका साहित्यिक स्रष्टा, अधिवक्ता ऋषि केबी र शिक्षक पूण्यशिला श्रेष्ठ दम्पत्तिले स्थापना गर्नु भएको हो । सोमबार बसेको कार्यसमितिको बैठकले आगामी चैत्र १० गते साहित्य सङ्गम तथा सिस्नुपानी नेपाल मकवानपुरको संयुक्त भवनमा एक कार्यक्रमबीच ती सम्मान समर्पण गरिने सङ्‍गमका सचिव मनोज पोखरेलले जानकारी दिनुभयो ।

२५ हजार राशिको निबन्ध पुरस्कार घोषणाः साहित्य सङ्गम मकवानपुरका संस्थापकहरूमध्येका एक केशव श्रेष्ठ ‘ज्योति’ द्वारा स्थापित साहित्य सङ्गम मकवानपुर कृति २०७९ संस्थाको कार्यविधिअनुरुप प्रदान गरिने भएकोले सर्वोत्कृष्ट कृति छनौटका लागि दर्ता आह्वान गरिएको छ । सोका लागि वर्ष २०७९ बैशाखदेखि चैत्र मसान्तसम्म प्रकाशन भएको निबन्ध विधाका मौलिक सङ्ग्रह पुरस्कार छनौट समितिलाई उपलब्ध गराउनुपर्नेछ भने कृति अन्य कुनै पनि राष्ट्रिय पुरस्कारका लागि छनोट नभएको हुनुपर्नेछ । यसका साथै २५ हजार १ रुपैयाँ राशिको सो सम्मान कृति यही चैत्र २० गतेभित्र छनोट समितिसमक्ष पुस्तक, श्रष्टाको नाम, ठेगाना, सम्पर्क नम्बर, प्रकाशित मिति समेत उल्लेख हुनुपर्ने संस्थाका अध्यक्ष डीबी बर्तौलाले जानकारी गराउनुभयो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट