विद्यालयमा सुरु गरिएको ‘जिज्ञासा संग्रहालय’ ले के अर्थ राख्छ ?

प्रत्येक विद्यार्थी आफैमा ‘विशेष’ हुन्छन् । आफूमा भएको त्यो विशेष प्रतिभालाई सबै विद्यार्थीले समयमै पहिचान गर्न सक्दैनन् । धेरै जसो अवस्थामा प्रतिभा पहिचान भइसक्दा विद्यार्थीको समय निकै अघि बढिसकेको हुन्छ । त्यहाँबाट उनीहरू न अघि बढ्न सक्छन न पछि हट्न । कतिले त आफ्नो प्रतिभा जीवनभर थाहै पाउन सक्दैनन् । विद्यार्थी हुर्किएर जतिबेला कामको खोजीमा लाग्छ त्यो बेला ऊ आफ्नो क्षमता र रुचि भन्दा अर्कै काम गर्न बाध्य हुन सक्छ किनभने उसले आफ्नो रुचि समयमै पहिचान गर्न सकेको हुँदैन ।

प्रश्न गर्ने र उत्सुकता जाग्ने उमेरका बालबालिकालाई राम्रा पुस्तक, असल र अध्यनशील शिक्षक, जिज्ञासा जगाउने खालको पढाइ, प्रश्न गर्ने वातावरण, उत्प्रेरण दिने अभिभावक, राम्रो कामको प्रसंशा र खराब कुरा प्रति औँला उठाउने समाज, शैक्षिक अध्ययनमा चासो जगाउने संग्रहालय आदि कुराको आवश्यकता पर्छन् । यस्तै कुराबाट विद्यार्थीले समयमै आफ्नो प्रतिभा पहिल्याउन सक्छन् ।

सबैभन्दा कल्पनाशील र सृजनशील उमेरमा उनीहरुलाई बौद्धिक सामग्री आवश्यक पर्छ जसले उनीहरूको पढाइमा चासो जगाउने काम गरोस् ।

नेपालको सरकारी विद्यालयमा पढ्ने बालबालिकालाई शिक्षामा चासो जगाउन र उनीहरूलाई बौद्धिक सामग्री दिने अभियान हामीले भर्खरै सुरु गरेका छौं । यसलाई हामीले ‘म्यूजियम अफ क्युरियोसिटी’ नाम दिएका छौं जुन ‘दि क्युरियोसिटी फाउण्डेसन–नेपाल’ द्वारा सञ्चालित छ । ‘म्यूजियम अफ क्युरियोसिटी’मा बालबालिकाको उमेर अनुसारका शैक्षिक र विज्ञानसबन्धी विविध सामग्री राखिएका छन् ।

चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर २ मायाटारमा रहेको श्री राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीलाई हामीले विश्वका मुद्रा, हुलाक टिकट, विश्वका वन्यजन्तु सम्बन्धी पुस्तक, वन्यजन्तुको महत्त्व सम्बन्धीका सामग्री, वन्यजन्तुका विविध आकृति, आदि सामग्री प्रधानाध्यापक पदम प्रजाको उपस्थितिमा विद्यार्थीहरूलाई प्रदान गर्‍यौं ।

तनहुँको ऋषिङ गाउँपालिका–३ मा रहेको श्री शान्ति माध्यमिक विद्यालयमा हामीले नेपालसँग सम्बन्धित लेख भएका नेशनल ज्योग्राफिक पत्रिकाका विविध अंक, पुराना टेलिफोन, आविष्कारको समयमा बिजुली बल्ब (प्रतिलिपि), चन्द्रमामा पुग्ने पहिलो व्यक्ति निल आर्मस्ट्रङको जीवनी, सुन-तामा-चाँदी-सिसालगायत विभिन्न खनिज पदार्थका कच्चा धाउ प्रदान गर्‍यौं । नेपालको समाजशास्त्र, मानवशास्त्र, जनजीवन, भाषा, रीतिरिवाज, संस्कार, चाडपर्व, साहित्य, वेषभूषा, रैथाने सिप, कलालगायतका विविध पुस्तकहरू पनि विद्यार्थीले प्रधानाध्यापक ऋषिराम रानाभाटमार्फत प्राप्त गरे ।

बहुभाषा, बहुसंस्कृति हाम्रो समाजका रंगहरू हुन् । समाजको एक समुदायका मानिसले अर्कोलाई सम्मान गर्नुपर्छ । एक अर्कोप्रति सम्मान र चासो भएमा मात्र समाजका विविध आयाम बुझिन्छन् । यसै अभियान अन्तर्गत केही समयभित्रै माथि उल्लेखित विद्यालयलाई राउटे समुदायले बनाएको विविध सामग्री सहित उनीहरुको बारेमा लेखिएको किताब प्रदान गरिने छ ।

विद्यालयमा सामग्री प्रदान गर्दा उनीहरुले विज्ञान र यस सम्वन्धी धेरै जिज्ञासा राखेका थिए । उनीहरुको धेरै चासो विज्ञानमा देखियो ।

खेमराज रानाभाट

हामीले सुरु गरेको यो अभियानबाट विद्यार्थीले आफ्नो स्थानीय संस्कृतिको महत्त्व थाहा पाउन र त्यसलाई संरक्षण गर्ने काममा आफै लाग्न सक्छन् भन्ने हाम्रो सोचाई छ । किनभने बालबालिकाको सोचमा परिवर्तन आयो भने सबै कामको नेतृत्व उनीहरू आफैले लिन सक्छन् ।

बालबालिकाको लागि कुनै एउटा निश्चित समयसम्म शिक्षक नै शेक्सपियर, आइन्स्टाइन र देवकोटा हुन् । शिक्षकले नै बृहत र जटिल कुरालाई सरल र बालसुलभ तरिकाले बताइदिनु पर्छ । कक्षा १ भन्दा माथिका विद्यार्थीले चन्द्रमा र त्यहाँ पहिले को मान्छे गयो भन्ने कुरा बुझन् सक्छन तर नील आर्मस्ट्रङको जीवनी सर्लक्कै पढ्न र बुझ्न सक्दैनन् । त्यसैले हामीले शिक्षक शिक्षिकालाई आफूले पढेको सामग्री विद्यार्थीलाई सजिलो तरिकाबाट बुझाईदिन अनुरोध समेत गरेका छौं ।

हामीले सुरु गरेको यो सानो काम अपुरो हुन सक्छ । विद्यार्थी र विद्यालयले धेरै फाइदा नपाउन पनि सक्छन् । तर कुनै पनि बालबालिकाले म्यूजियममा राखिएका सामग्री हेरेर र पढेर म बिग्रिए भन्ने छैन् । सानै कामले पनि विद्यार्थीलाई जीवनभर भुल्न नसकिने ज्ञान दिन सक्छ ।

(हाल बेलायतमा बस्ने रानाभाट ‘म्यूजिय अफ क्युरियोसिटी’ का संस्थापक हुन् ।)

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट