विनोद रिजाल,कायाकैरन
भरतपुर, १५ मंसिर ।
चितवनमा यो वर्ष एचआईभी एड्स संक्रमणबाट १७ जनाको ज्यान गएको छ । मृत्यु हुनेमध्ये ११ जना पुरुष र ६ जना महिला छन् । भरतपुर अस्पतालमा रहेको एचआईभीको उपचार गर्ने एआरटी सेन्टरका अनुसार सन् २००७ देखि हालसम्म १ सय ३६ जनाको मृत्यु भइसकेको छ । सन् २०१६ मा ५ जना, १०१५ मा ९ जना, २०१४ मा ३२ जनाको मृत्यु भएको थियो ।
“मृत्यु हुनेमध्ये धेरै अन्तिम अवस्थामा उपचारमा आउनेहरु छन्”, भरतपुर अस्पताल एआरटी सेन्टरका प्रमुख डा. उन्नत श्रेष्ठले भने, “बेलैमा रोग पहिचान गरेर नियमित औषधि लिनेको अवस्था सुधारोन्मुख छ ।” सरकारले १० वर्ष पहिलेदेखि एचआईभीको निःशुल्क औषधि व्यवस्था गरेपनि उपचार लिन आउनको संख्या कम रहेको बताए । चितवनमा १० वर्षको अवधिमा १ हजार ४ सय ९१ जना एचआईभी पोजिटिभ देखिएका बिरामीले एआरटी सेन्टरको सेवा लिएका छन् । जसमध्ये ७ सय ८४ जना पुरुष, ५ सय ८४ जना महिला, १ सय २३ जना बालबालिका छन् । अस्पतालमा आएर एचआईभी परीक्षणको संख्या पनि बढ्दो छ ।
“गर्भावास्थामा, कालोनोस्पिक, इन्डोस्कोपी गर्दा अनिवार्य एचआईभी परिक्षण गर्नुपर्ने व्यवस्थाले पनि संख्या केही बढेको हो”, उनले भने, “समुदायमा गएर गरिने परीक्षणको संख्यामा कमी छ, तर एचआईभी पहिचान हुने दर बढेको छ ।” भरतपुर अस्पतालमा सन् २०१७ मा १४ हजार ३ सय जना, सन् २०१६ मा १५ हजार ७ सय २८ जना, सन् २०१५ मा १५ हजार ७ सय ९२ जना, सन् २०१४ मा ९ हजार १ सय ४३ जनाले एचआईभी परिक्षण गरेका छन् । यस्तै समुदायस्तरमा सन् २०१७ मा १ हजार १ सय ५० जना, सन् २०१६ मा २ हजार २८ जना, सन् २०१५ मा २ हजार ४ सय ४० जना, सन् २०१४ मा ६ हजार जनाले परिक्षण गरेका छन् ।
सन् २०१७ को ११ महिनाको अवधिमा ८३ जना नयाँ संक्रमित फेला परेका छन् । जसमध्ये ७३ जना भरतपुर अस्पतालमा र १० जना समुदायस्तरमा परिक्षण गर्दा फेला परका हुन् । यस्तै सन् २०१६ मा ३८ जना पुरुष, २७ जना महिला र ४ जना बालबालिका सहित ६९ जना, सन् २०१५ मा ३१÷३१ जना महिला पुरुष र ५जना बालबालिका सहित ६७ जना, सन् २०१४ मा ३८ जना पुरुष, ४२ जना महिला र ७ जना बालबालिका सहित ८७ जना नयाँ एचआईभी संक्रमित फेला परेका थिए । संक्रमित फेला पर्ने दर बर्षेनी बढेको छ । “विगतमा एचआईभी परिक्षण डर, लाज र आनाकानीले गर्दा कमै आउँथे”, एआरटी सेन्टरका डा. सञ्जय श्रेष्ठले भने, “अहिले कतिपय रोगको उपचार गर्दा अनिवार्य एचआईभी परिक्षण गर्नुपर्ने व्यवस्था, शंका लाग्नासाथ खुलेरै परिक्षण गर्न आउनेको चाप बढेको छ ।”
सन् २०१७ मा१ सय ३५ जना नयाँ एचआईभी संक्रमितले औषधि लिन सुरु गरेका छन् । जसमध्ये ५८ जना पुरुष, ६४ जना महिला र १३ जना बालबालिका छन् । सन् २०१६ मा ९९ जना, सन् २०१५ मा १ सय २७ जना, सन् २०१४ मा ३१ जना एचआईभी संक्रमितले औषधि लिन सुरु गरेका थिए । सन् २०१७ मा नियमित औषधि सेवन गर्ने एचआईभी संक्रमितको अवस्थाबारे पत्ता लगाउन गरिएको भाइरल परिक्षण गर्नेको संख्या ७ सय ६९ जना छन् भने सिडिफोर जाँच गर्नेको संख्या ५ सय ३९ छ ।
भरतपुर एआरटी सेन्टरमा दर्ता भएका २ सय ४१ जनाले अन्य जिल्लाका सेन्टरबाट औषधि लिन थालेका छन् । एआरटी सेन्टरलाई प्राविधिक तथा आर्थिक सहयोग गर्दै आइरहेको अन्तराष्ट्रिय संस्था एड्स हेल्थ केयर फाउण्डेशन (एएफएच) नेपालले एचआईभी एड्स नियन्त्रण तथा रोकथामका अभियान चलाउँदै आइरहेको छ । “एचआईभी परिक्षण निशुल्क हुन्छ, उपचार पनि निशुल्क हुन्छ”, एएफएच नेपालका वरिष्ठ क्षेत्रीय परियोजना कोअर्डिनेटर कृष्णहरि सापकोटाले भने, “अझैपनि जोखिमपूर्ण समूह परिक्षणका लागि आएको पाइदैन ।”
उनका अनुसार लागुऔषध प्रयोगकर्ता, महिला यौनकर्मीका ग्राहक, महिला यौनकर्मी, समलिङ्गिी बढी जोखिमपूर्ण अवस्थामा पाइएको अध्ययनले देखाएको छ । भरतपुर अस्पतालको एआरटी सेन्टरले एचआईभी संक्रमितलाई यातायात सुविधा, संक्रमण पश्चात लागेका अन्य रोगको उपचारमा समेत आर्थिक सहयोग गर्दै आएको छ । यसैबीच विश्व एड्स दिवसको अवसर पारेर चितवनमा आज(शुक्रबार) भरतपुर अस्पताल, मानव सेवा आश्रम र भरतपुर कारागारमा एचआईभी परिक्षण अभियान गरिदैछ । विहान ९ बजेदेखि हुने सो कार्यक्रममा भरतपुर एआरटी सेन्टरले एचआईभी परिक्षण तथा परामर्श दिनेछ । यस्तै अटोरिक्सामा विश्व एड्स दिवसको अवसर पारेर ¥याली निकालिदै छ । ¥याली भरतपुर अस्पताल, मालपोतचोक, हाकिमचोक हुँदै भरतपुर र नारायणगढ बजार परिक्रमा गर्ने कार्यतालिका छ ।





