प्रमिता ढकाल
भरतपुर, १५ मंसिर ।
भरतपुर महानगरपालिकाले आफ्नो वडा संयन्त्रको दुरुपयोग गर्दै क्षेत्र नम्बर ३ मा वाम गठबन्धनको चुनाव प्रचार गरेको छ । चितवन निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर महानगरपालिकाको १४ देखि २८ नम्बर वडाका वडा अध्यक्षसहित प्रत्येक टोल विकास समिति पदाधिकारीलाई ‘विशेष छलफल’का लागि भन्दैै बोलाएर चुनावी प्रवचन दिई फर्काएको छ । सभाकाे अध्यक्षता भरतपुरका मेयरले गरेका थिए भने कार्यक्रम सञ्चालन वडा नम्बर १० का वडाध्यक्ष अरूण पीडित भण्डारीले गरेका थिए ।
बिहीबार शिवनगरमा आयोजना गरिएको सो भेलामा करिब ५ सय प्रतिनिध सहभागी थिए । जहाँ क्षेत्र नम्बर ३ का वाम उम्मेदवार पुष्पकमल दाहालले चुनावी भाषण गरे र मेयर रेनु दाहालले त्यसैमा समर्थन गरिन् । उनीहरु सबैलाई वडा संयन्त्र प्रयोग गरी मौखिक जानकारीबाट भेलामा सहभागी हुन आह्वान गरिएको थियो । “महानगरपालिकाले चिठीसमेत नकाटी विषयवस्तुबारे गुमराहमा राख्दै छलफलका लागि बोलाएर चुनावी सभा ग¥यो”, सभाका एक सहभागीले भने, “महानगरपालिका कार्यालयले चुनावी आचारसंहिताविपरीत सरकारी संयन्त्रको दुरुपयोग गरेको छ ।”

वडा संयन्त्र र टोलका पदाधिकारीलाई ११ बजे खगेरी सिंचाईको सभाहलमा बैठक बस्ने भनी डाकिएको थियो । बैठकमा सहभागि हुन वडा नम्बर १४ देखि २८ सम्मका वडाअध्यक्षसहितका सदस्य र ती वडाका टोलविकास समितिका अध्यक्षलगायत पदाधिकारी समयमै पुगेका थिए । तर, दुई सय जनासम्म मात्र अटाउने सो हलको क्षमताभन्दा बढी उपस्थिति भएपछि तत्काल शिवनगरको वडा कार्यालय परिसरमा टेन्ट र कुर्सी व्यवस्था गरी कार्यक्रम गरिएको थियो । जहाँ ३ नम्बरका उम्मेदवार दाहाल अघिल्तिर थिए भने सहभागी स्रोताका रुपमा आमनेसामने बसे । दाहालले सम्बोधन गरी आफ्ना चुनावी एजेण्डा सुनाए भने अरुले ध्यान दिएर सुने ।
दिउँसो १ बजे मात्र सुरु भएको कार्यक्रममा महानगरापकिलाका मेयर रेनु दाहालको उपस्थिति थियो । चुनावी प्रचारप्रसार एवं घरदैलोमा हिडिरहेका दाहालले महानगरपालिकाको आह्वानमा बोलाइएको सो वडा भेलाको भरपुर उपयोग गर्दै आफ्ना विकासे योजना प्रस्तुत गरे । आफूलाई विकासप्रेमी नेता भएको बताउँदै भरतपुर महानगरको स्वरुप परिवर्तन गर्न उत्साही भएको उनले बताए । “दाहालले आरामले आफ्ना योजना सुनाए”, अर्का एक सहभागीले भने, “बैठक भनिएको थियो, चुनावी सभा रहेछ ।”
सम्बोधनको क्रममा दाहालले पश्चिम चितवनमा ८ सय २१ किलिोमिटर सडक बनाउन बाँकी रहेकाले सो काम गर्ने, पश्चिम चितवनमा सुविधासम्पन्न वृद्धाश्रम, प्रत्येक वडामा बालउद्यानलगायत विकास निर्माण गर्न सकिने बताए । कार्यक्रममा सहभागी ५ सय जना चुनावी सभा हो वा महानगरको विशेष भेला भन्नेमा अन्यौलमा परे । केहीले विरोध गरेपनि उनका कार्यकर्ताले ठूलो हुन दिएनन् ।
दाहालको सम्बोधनपछि महानगर प्रमुख रेनुले समेत आफ्ना बाबु (पुष्पकमल) प्रधानमन्त्री हुँदा सो क्षेत्रका लागि गरेका विकासका कार्यक्रमबारे जानकारी गराउँदै भरतपुर महानगरअन्तर्गत नै पर्ने ती क्षेत्रमा आगामी दिनमा पनि विकासका काम गर्ने बताइन् । त्यसपछि कार्यक्रम सकिएको घोषणा गर्दा आफ्नो भनाइ राख्न पाइएला वा वडाको विकास योजनाबारे बोल्न पाइएला भनी कुरेका प्रतिनिधिलाई त्यसै फर्काएर भरतपुर महानगरले निर्वाचन आचारसंहिताविपरीत आफ्नो शक्तिको दुरुपयोग गरेको सहभागीको आरोप छ ।
कार्यक्रममा सहभागी भएका भरतपुर वडा नम्बर १६ का वडा अध्यक्ष चतुरमान गुरुङले महानगरले नै आह्वान गर्नु भनी खबर गरेकाले सबै टोल विकास समितिका अध्यक्ष एवं पदाधिकारीलाई खबर गरिएको बताए । “क्षेत्र नम्बर ३ मा पर्ने भरतपुर महानगरका वडाहरुमा आवश्यक विकास निर्माणका परियोजनाबारे छलफल गर्न भन्दैै महानगर कार्यालयबाट फोन आएको हो”, उनले भने, “सोहीअनुसार सबैलाई मौखिक जानकारी गराएर डाकिएको हो ।”
यस्तै वडा नम्बर १९ का वडा अध्यक्ष कर्णबहादुर गुरुङले पनि आफूलाई महानगरपालिका कार्यालयबाट फोन आएको बताएका छन् । “महानगर प्रमुखसँग विकास योजनाका बारेमा छलफल राखिएको भनेपछि एजेण्डाबारे बुझ्न खोज्दा कार्यक्रमस्थलमा नै थाहा हुन्छ भन्ने जवाफ पाएँ”, उनले भने, “कार्यक्रममा पुग्दा चुनावी कार्यक्रम भन्ने बुझियो अनि मसहित ८ जना वडाध्यक्षले कार्यक्रम छाडेर हिडेका हौं ।”
“क्षेत्र नम्बर ३ को विकास योजनाका प्रतिबद्धता र सुझाव संकलनका लागि चुनावी कार्यक्रम भए सबै उम्मेदवार बोलाइनुपथ्र्यो”, उनले भने, “तर, वाम गठबन्धनको उम्मेदवार मात्र बोलाएर कार्यक्रम राखिएको थाहा भएपछि हामी निस्कियौं ।” मेयरसँगको छलफल भनी आफूहरुलाई गुमराहमा राखिएको उनको गुनासो छ ।
तर, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भने निर्वाचन परिचालन कमिटीले आयोजना गरेको उम्मेदवार भेटघाट कार्यक्रममा आफू सहभागी भएको भन्दै महानगरपालिका कार्यालयको बचाउ गरिन् । “क्षेत्र नम्बर ३ को निर्वाचन परिचालन कमिटीले राखेको कार्यक्रम हो”, उनले भनिन्, “उम्मेदवारसँग छलफल कार्यक्रम गरिएको हो ।” कार्यक्रमको ब्यानरमा पनि कुनै आयोजकको नाम राखिएको छैन ।
ब्यानरमा ‘वडाध्यक्ष तथा टोल विकास संस्थाका पदाधिकारीसँग छलफल’ भनिएको छ । तर, मेयरले अध्यक्षता गरेकाे कार्यक्रम आयोजक को हो भनिएको छैन ।






