विप्लव काफ्ले/कायाकैरन
भरतपुर,१३ कात्तिक ।
भरतपुर महानगरको मुख्य सडक आसपासमा फोहर फाल्ने क्रम रोकिएको छैन । सामाजिक संघसंस्थाले सडक सरसफाइ अभियान चलाउने गरेका छन् । तर, सडक किनार फोहर फाल्ने ‘डम्पिङ साइट’ का रुपमा परिणत हुने गरेका छन् ।
सोमबार मात्रै चौविसकोठीदेखि त्रिचोकसम्मको सडक वे ग्रुप, नेपाल मैत्री समाज, लेट्स डु ईट, टोल विकास संस्था, नेपाली सेना, नेपाल प्रहरीलगायतको टोलीले सरसफाइ ग¥यो । तीन ट्याक्टर फोहर संकलन भयो । तर, मंगलबार सो क्षेत्रमा फेरि फोहरका थुप्रा भेटिन थाले । “सरसफाइ अभियान ग¥यौँ, सडक किनार सफा बन्यो”, वे ग्रुपका नवीन खरेलले भने, “एक दिनपछि नै फोहरका थुप्रा भेटिन थाले, हामीले फोहर केलाएर अध्ययन ग¥यौँ, भेटिएका बिल र रसिदले फोहर फाल्ने व्यक्तिको पहिचान गर्न सहज भयो, कारबाहीका लागि महानगरमा सिफारिस ग¥यौँ ।” बुधबार भरतपुर महानगरपालिकाले सडक छेउमा फोहर फाल्ने कृष्णपुरका दुई जनालाई कारबाही गरेको छ ।
“फोहर फाल्ने व्यक्ति पहिचान गरेर कारवाही अभियान चलाइयो भने सडक छेउमा फोहरका थुप्रा हुनेथिएनन्”, नेपाल मैत्री समाजका वीरेन्द्र पौडेलले भने, “महानगरले पनि निगरानी बढाउनुपर्छ ।” सरसफाइ अभियानका क्रममा सोमबार त्रिचोकदेखि चौबिसकोठीसम्मको सडकखण्डमा सिसा, रक्सीका बोटल, कुखुराका भुत्ला, कपडालगायत फोहर भेटिए । “सरसफाइ अभियानकर्ताले मात्रै सफा गरेर सडक सफा हुँदैन”, वे ग्रुपका शिव घिमिरेले भने, “फोहर फाल्नेलाई कडा कारबाही गर्नुपर्छ, फोहर सडक छेउमा फोहर फालेमा कारवाही हुन्छ भन्ने सचेतनामूलक बोर्ड राखिनुपर्छ ।”

सन् २०१८ सेप्टेम्बर १५ १ सय ५० देशमा सरसफाइ अभियान चलाइदैछ । सडकमा किनारमा फोहर फाल्ने दुई जनालाई ‘जथभावी फोहर गर्दैनौँ, अरुलाई फोहर फाल्नबाट शिक्षित गराउँदछौँ, हामीले अरुलाई पनि सुर्धार्छौँ’ भन्दै प्रतिबद्धतासमेत गराइएको छ । कार्यकारी अधिकृतको कार्यकक्षमा सडक किनारमा जथाभावि फोहर फाल्ने ती व्यक्तिले आफ्नो गल्ती भएको स्वीकारेका थिए ।
“विश्वका धेरै देशमा दैनिक फोहर संकलन गर्ने, सडक सफा गर्ने अभियान हुँदैन”, भरतपुर महानगरपालिकाका कार्यकारी अधिकृत प्रेमराज जोशीले भने, “नागरिकमा सचेतना जरुरत छ, फोहर कसैले फालेका भए सूचना पाए तुरुन्तै हामी कारवाही गर्नेछौँ ।” महानगरपालिको नगरभित्रको फोहर व्यवस्थापनका लागि नीजि क्षेत्र र सरकारी तवरबाट फोहर संकलन गर्ने काम गर्दै आएको छ । “सडक किनारमा राती राती फोहर ल्याएर फाल्ने क्रम अझै रोकिएको छैन”, उनले भने, “नगरपालिका र टोल विकास संस्थाको समन्वयमा यस्ता गतिविधि गर्नेलाई निरुत्साहीत गर्ने, कारवाही गर्ने अभियानै चलाउने छौँ ।” वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रले भरतपुर महानगरमा २५ करोड लागतमा वायोग्याँस तथा जैविक मल बनाउन सकिने योजना सहित छलफल गरेको थियो ।
“साविक उपमहानगर क्षेत्रबाट मात्रै दैनिक ४५ टन फोहर संकलन हुने गरेको छ”, उनले भने, “सो फोहरबाट ४ हजार केजी जैविक मल, ३८ सीलिण्डर ग्याँस वा ७३ किलोवाट विद्युत् उत्पादन हुनसक्ने बारे छलफल भएको छ, हामी यो काम थाल्नुपर्छ भन्नेमा छौँ ।” उर्जा प्रर्वद्धन केन्द्रले दिने १० करोड अनुदानमा नीजि क्षेत्रले १५ करोड थप गरेर फोहरमैला व्यवस्थापन गर्न सकिने बताए । महानगरले तीन विघा बराबरको जग्गा नीजि क्षेत्रलाई उपलब्ध गराएर दीर्घकालिन रुपमै फोहर व्यवस्थापनको काम थालिने बताए । जलदेवी सामुदायीक वनमा प्रस्तावित ल्याण्डफिल साइटमा सो परियोजना सञ्चालन गर्न सकिनेबारे अध्ययन थालिएको जानकारी दिए ।
कार्तिक पहिलो साता नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले समेत प्लाष्टिकबाट इन्धन बनाउने प्लान्ट निर्माणमा अग्रसर बन्न महानगरपालिकालाई सुझाव दिएको थियो । नगरभित्रका अधिकांस प्लाष्टिकजन्य फोहरबाट ७० प्रतिशतको हाराहारीमा डिजेल निकाल्न सकिने अध्ययनले देखाएको नाष्टले बताएको थियो । १० टन क्षमताको डिजल प्लान्टका लागि साढे २ करोड लागत पर्ने अध्ययनबारे जानकारी गराएको थियो । “महानगरभित्रको फोहर व्यवस्थापन चूनौतीपूर्ण बनेको छ”, कार्यकारी अधिकृत जोशीले भने, “घरघरबाट निस्कने फोहर संकलन तथा व्यवस्थापन कार्यलाई सुधार्नुपर्ने देखिएको छ ।” महानगरले हाल कुहिने र नकुहिने फोहर एकैसाथ संकलन गर्ने गरेको छ । संकलित फोहर नीजि खाली जग्गा, नदी किनारमा व्यवस्थापन गर्नुपर्ने बाध्यतामा महानगर छ । जलदेवी सामुदायीक वनमा बनाउने भनिएको स्यानिटरी ल्याण्डफिल साइट निर्माणको काम समेत बजेट अभावमा अलपत्र परेको छ । भरतपुर–२५ मा फोहर संकलन केन्द्र समेत बनेको छ । कुहिने फोहरलाई कम्पोष्ट मल बनाउने र नकुहिने फोहरलाई वर्गिकरण गरेर विक्रि गर्ने काम हुँदै आइरहेको छ । यस्तै भरतपुर–२४ मा समेत फोहर संकलन केन्द्र छ । ग्रामिण क्षेत्रको तुलनामा शहरी क्षेत्रको फोहर व्यवस्थापनको काममा महानगरलाई बढी चुनौती देखा परेको छ । हप्तामा दुई, तीन दिन, मासिक वा पाक्षिक रुपमा नीजि क्षेत्र मार्फत सरसफाई शुल्क लिएर संकलन गर्ने गरिएको छ । भरतपुर महानगरपालिाले स्वयम् फोहर संकलन गर्न दुई÷दुई वटा कम्याक्टर र ट्याक्टर छन् । ११ जना सरसफाईका कर्मचारी छन् भने ३ जना सुपरभाइजर छन् ।
जथाभावि फोहर गरेमा हुने सजाय व्यवस्था
फोहरमैला व्यवस्था ऐन, २०६८ मा जथभावि फोहर फाल्नेलाई सजायँ भएको व्यवस्था गरिएको छ । जथाभावी फोहर गर्नेलाई ५ सय रुपैयाँ देखि १ लाखसम्मको जरिवाना तोकेको छ । ऐनको दफा ३८ मा कसूर र दफा ३९ मा सजायबारे स्पष्ट उल्लेख छ ।
कन्टेनर वा फोहरमैला केन्द्रमा अनाधिकृत रुपमा प्रयोग गर्ने, सरसफाई तथा फोहरमैला संकलन गर्ने क्षेत्रमा सवारी साधन रोकेमा ५ सय रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म जरिवाना छ । फोहरमैला संकलन गर्ने कण्टेण्टरलाई तोडफोड र क्षती पु¥याएमा, अनुमति नलिई फोहर संकलन गरेमा १५ हजार देखि ५० हजार रुपैयाँ जरिवानाको व्यवस्था छ । यस्तै घर कम्पाउण्ड तथा परिसरको फोहरमैला सडक वा अन्य सार्वजनिक स्थानमा राख्ने, फाल्ने वा थुपार्ने, फोहरबाट निस्केको दूषित पानी वा ढल चुहाई अन्य व्यक्तिको घर वा जग्गा प्रदुषित गरेमा, मरेको वा मारेको पशुपंक्षि, सोको लादी, प्वांख, हड्डी तथा माछको कत्ला आदी सार्वजनिक स्थल, गल्ली, चोकमा राख्ने, फाल्ने वा थुपार्ने गरेमा, फोहरमैला संकलन केन्द्र, कण्टेण्टर वा फोहरमैला थुपार्ने ठाउँमा कुनैपनि किसिमको हानिकारक पदार्थ फाल्ने, राख्ने वा थुपार्ने गरेमा ५ हजार देखि १५ हजार रुपैयाँको जरिवाना छ ।
यस्तै, रासायनीक फोहरमैला, औद्योगिक फोहरमैला, स्वास्थ्य संस्थाजन्य फोहरमैला वा हानिकारक फोहरमैला जथाभावि फाल्ने, राख्ने वा निष्काशन गर्ने गराएमा ५० हजार देखि १ लाखसम्म जरिवानाको व्यवस्था छ । यस्तै, प्रतिवन्ध लगाएको कुनैपनि वस्तु उत्पादन र बिक्री वितरण गरेमा ५ हजारदेखि १० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ । स्रोतमै फोहरमैलाको पृथकीकरण नगरी फोहरमैला निष्काशन गरेमा ५ सय रुपैयाँ जरिवानको व्यवस्था छ । स्थानीय निकायले तोकिदिएको समय र स्थान बाहेक अन्यत्र फोहरमैला निष्काशन गरेमा पहिलोपटक ५ हजार रुपैयाँ, दोस्रो पटक सोही कसुर गरेमा १० हजार र बारम्बार दोहो¥याएमा ५ हजार रुपैयाँ र फोहरमैला उठाउँदा लाग्ने खर्चसमेत असुल गर्ने व्यवस्था छ । फोहरमैला संकलन, ढुवानी तथा अन्तिम निष्काशन स्थलमा अवरोध बन्द, घेराउ गर्ने, फोहरमेला व्यवस्थापन सम्बन्धि कार्यमा हड्ताल गर्नेलाई १० हजार देखि ५० हजार रुपैयाँ जरिवाना वा तीन महिना कैदन वा दुवै सजाय हुने व्यवस्था छ ।





