मकवानपुर, ८ फागुन ।
मकवानपुरको एक विद्यालयले एसईईको तयारी गरिरहेका विद्यार्थीलाई खानाको व्यवस्था गरेकाे छ ।
कैलाश गाउँपालिका-१० मर्याङकोटस्थित रत्नज्योति माविले एसईईको तयारी गरिरहेका विद्यार्थीहरुलाई खानाको व्यवस्था गरी अध्यापन गरिरहेको हो । माघ २१ गतेबाट विद्यालयले उनीहरुलाई खानाको सुविधा दिईरहेको र दैनिक करिब ३ हजार रुपैयाँ खर्च भईरहेको सहायक प्रधानाध्यापक दुलालको भनाई छ ।
विद्यालयबाट २ घण्टासम्मको दुरीबाट विद्यार्थीहरु एसईई तयारी एवं नियमित कक्षा अध्ययनका लागि आउनुपर्ने भएकाले विद्यालयले विहानको खानाको व्यवस्था गरेको सहायक प्रधानाध्यापक निर्जन दुलालले जानकारी दिए । ‘बिहान सबेरैबाट कोचिङ शुरु हुने र दिउँसो नियमित कक्षा पनि हुने भएकाले २ घण्टा दुरीसम्मका विद्यार्थीले घरमा गएर खाना खान नभ्याउने भएकाले विद्यालयले आफ्नो आन्तरिक स्रोतबाट विहानी खानाको व्यवस्था गरेको छ ।’–उनले भने ।
विद्यालयले कक्षा १० मा अध्ययनरत २४ जना विद्यार्थीलाई विहान खानाको व्यवस्था गरेको छ भने दैनिक आउजाउ गर्न नभ्याउने ६ जना विद्यार्थीलाई आवासको व्यवस्था गरेको छ ।
विद्यालयसँग पर्याप्त स्रोत नहुँदा पनि जसोतसो विद्यार्थीहरुको एसईई तयारीमा असर नपरोस् भनेर यस्तो व्यवस्था गरेको विद्यालयले जनाएको छ । यसवर्षको एसईई चैत १५ गतेबाट शुरु हुँदैछ ।





