भरतपुर, ८ फागुन ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अटिजम भएका विद्यार्थीलाई अभिभावकत्व प्रदान गर्न विशेष विद्यालय स्थापना गरिएको बताएकी छन् ।
प्रजातन्त्र दिवस २०८० को अवसरमा मंगलबार भरतपुरमा रहेको अटिजम विशेष विद्यालय भरतपुर–१० मा भएको शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले अन्य सामान्य बच्चाको भन्दा बढी स्याहार गर्नुपर्ने भएकाले महानगरले पनि अभिभावकत्व गर्न प्रयत्न गरेको उल्लेख गरिन् ।
नेपाल सरकारको मन्यता प्राप्त पहिलो अटिजम विशेष विद्यालय भरतपुर महानगरले स्थापना गरे पनि स्तरोन्नति भने पर्याप्त रुपमा नभएको प्रमुख दाहालले बताइन् । विगत र अहिले केही परिवर्तन भए पनि गज्जबको परिवर्तन नभएकाले आगामी दिनमा महानगरपालिकाले प्राथामिकतामा राखेर काम गर्ने उनको भनाइ थियो ।
महानगरपालिकाले महानगरका सबै बालबालिकालाई विद्यालयको पहुँचमा पु¥याउन बालकुमारी सुस्त मनस्थिति विद्यालय, बौद्धिक अपांगता भएकालाई नारायणी मावि विशेष कक्षा, पक्षघात भएकालाई भरतपुर–२६ मा स्रोत कक्षा, आमा बुवा नभएकालाई पिटुसिटु र अनाथ विद्यार्थीलाई एसओएसमा अध्ययनको सुविधा मिलाइएको दाहालले बताइन् ।
कार्यक्रमलाई सम्बोधन गर्दैै चितवनका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले अटिजम भएकालाई राम्रो व्यवहार र विशेष स्याहार गर्नुपर्ने उल्लेख गरे । महानगरपालिका प्रमुख दाहाल र प्रमुख जिल्ला अधिकारी थापाले सामग्रीहरु हस्तान्तरण गरेका थिए ।
विशेष विद्यालयका ४० जना र बालकुमारीका १३ जनालाई सामग्री हस्तान्तरण गरिएको महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौड्यालले जानकारी दिए ।





