मकवानपुर, ८ फागुन ।
मुक्तक मञ्च मकवानपुरले ३ जना मुक्तककारलाई सम्मान गरेको छ ।
सोमबार मञ्चको प्रथम अधिवेशन तथा १४ औँ मुक्तक वाचन श्रृङ्खला कार्यक्रममा मुक्तककार दीपक समिप (पोखरा), हरिकृष्ण काफ्ले(रौतहट) र बिर्खे अन्जान(मकवानपुर)लाई सम्मान गरिएको हो ।
मुक्तक मञ्च मकवानपुर अध्यक्ष डिबी बर्तौलाले आफ्ना पिताको स्मृतिमा स्थापना गरेको ‘बहादुरानन्द स्मृति मुक्तक सम्मान २०८०’ बाट पोखराका मुक्तककार समिप सम्मानित भए । उक्त सम्मानको राशि ७ हजार ७ सय ७७ रुपैयाँ नगद रहेको छ । गत वर्ष उक्त सम्मानबाट सिन्धुलीका मुक्तककार लोकेन्द्र डहरे सम्मानित भएका थिए ।
यस्तै मुक्तक मञ्च मकवानपुरका उपाध्यक्ष किशन पौडेलद्वारा स्थापित तारा स्मृति सम्मान २०८० बाट मुक्तककार काफ्लेलाई प्रदान गरेको छ । उक्त सम्मानको राशि ७ हजार ५ सय रुपैया रहेको छ । गत वर्ष सो सम्मानबाट मकवानपुरका देवराज खरेल सम्मानित भएका थिए ।
प्रलेस मकवानपुरका अध्यक्ष श्रीराम अधिकारीद्वारा आफ्नो हजुरआमाको स्मृतिमा स्थापित नगद ५ हजार पाँच सय ५५ रुपैयाँ राशिको ‘इन्दिरादेवी स्मृति मुक्तक सम्मानबाट २०७९’ थाहा नगरपालिकाका मुक्तककार बिर्खे अञ्जान सम्मानित भए । गत वर्ष उक्त सम्मानबाट माध्यमिक तह स्तरीय मुक्तक प्रतियोगिता विजेता समर्पण न्यौपाने सम्मानित भएका थिए ।
तीनै जना स्रष्टालाई नेपाली मुक्तक लेखनको क्षेत्रमा योगदान गरेकोमा नगदसहित सम्मान गरिएको मञ्च मकवानपुरले जनाएको छ ।
यस्तै मुक्तक मञ्चलाई विभिन्न माध्यमबाट सहयोग गरेको भन्दै पत्रकार सुजन ढकाल र प्याव्सन मकवानपुरका अध्यक्ष बिनोद सुवेदी समेतलाई सम्मान गरिएको थियो । मुक्तक मञ्च मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको अध्यक्षता तथा अग्रज मुक्तककार देवराज खरेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा सम्मानित श्रष्टाले ५/५ वटा तथा किशन पौडेल, अजिता ओझा, देव निर्दोष, अनुसिया खनाल, प्रविना प्रयासीलगायतले मुक्तक वाचन गरेका थिए ।
मुक्तक मञ्च मकवानपुर अध्यक्षमा तिमल्सिना चयन
मुक्तक मञ्च मकवानपुरको अध्यक्षमा सागर तिमल्सिना चयन भएका छन् । सोमबार भएको प्रथम अधिवेशनले तिमल्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
यस्तै मञ्च उपाध्यक्ष मेनु तिमल्सिना, सचिव सुवास सजल, सहसचिवमा स्वस्तिका बाँनिया र अजर फुयाँल, कोषाध्यक्ष मिथिला अधिकारी चयन भएका छन् । यसैगरी सदस्य अनु रोक्का, बैकुण्ठ लामिछाने, कमल नेपाल, देव निर्दोष र प्रयासी प्रविना चयन भएका छन् ।





