विप्लव काफ्ले/कायाकैरन
भरतपुर,१३ मंसिर ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा ५० वर्ष कम्युनिष्ट शासन चल्ने संकेत देखा परेको दावी गरेका छन् । भरतपुर–२७ मेघौली पर्साढापमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, “५ वर्ष हामीले राम्रो काम गरेर देखाउन सक्याँ भने ५० कम्युनिष्टले यो देशमा शासन गर्ने अवस्था आउनेछ ।”
उनले पहिलो चरणमा निर्वाचन भएका ३२ जिल्लामा बामपन्थी पक्षमा दुई तिहाई भन्दा धेरै माथि मत आएको निष्र्कषमा पुगेको दावी गरे । उनले दोस्रो चरणमा निर्वाचन हुने क्षेत्रमा पनि मिहेनत गर्न सकेर जनताले आत्मसाथ गरेभने दुई तिहाई मत आउने संकेत मिलेको जीकिर गरे । “बामगठबन्धनको दुई तिहाई मत आएपछि देशमा राजनीतिक स्थाइत्व हुनेछ, नयाँ युगलाई जन्म दिनेछ”, अध्यक्ष प्रचण्डले भने, “एमाले र माओवादी केन्द्रले बनाएका साझा उम्मेदवारले जितेपछि देशमा विकासले गति पाउनेछ ।” उनले ७० वर्षको राजनीतिक अस्थीरताकाृ अवस्थालाई विश्लेषण गरेरै कम्युनिष्टको एउटै केन्द्र बनाउने निष्र्कमा पुगेको सुनाए । “यो भन्दा बढी राजनीतिक अस्थीरता र राजनीतिक अराजकता जनताका लागि सह्य हुँदैन”, उनले भने, “हाम्रो दुई तिहाई बहुमतको सरकार बन्नेछ, विकास निर्माण र शुुसासन तिर देशलाई लाने संकल्प पुरा हुनेछ ।”
उनले बामगठबन्धन कसैको विरुद्ध भएको बताए । “पहिलो पटक ५ वर्ष चल्ने सरकार बन्नेछ”, उनले भने, “चितवनले राष्ट्रको नेतृत्व लिने अवसर पाउनेछ ।” प्रचण्ड चितवन क्षेत्र ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् । “गणतन्त्रलाई जनताको गणतन्त्र बनाउने, देशलाई समृद्ध बनाउने यो ऐतिहासिक अवसर हो”, उनले भने, “स्थानीय, प्रादेशीक र संघीय सरकार एउटै राजनीतिक प्रवृत्ति र विचार भएकाको पक्षमा हुँदा काम गर्न पनि सहज हुन्छ ।” उनले कम्युष्टि पार्टीको एउटै बनाउने निर्णय कठोर निर्णय भएपनि देशकै आवश्यकताले हुन लागेको बताए । “चितवनका जनताको अभिमतद्वारा चितवनको विकास र समृद्धिको काम गर्न आएको छु”, उनले भने, “चितवनको प्रतिनिधिका हैसियतले राष्ट्रको नेतृत्व लिने ठाउँमा बसेर राष्ट्र समृद्धिका लागि पनि काम गर्नुपर्छ भनेर आएको हुँ ।” उनले गणतन्त्रका लागि ठुलो विद्रोह, शान्ति प्रक्रियामा आउन गरिएको सम्झौता र संविधान निर्माणमा आँफुले खेलेको भूमिकालाई चितवनका जनताले साथ दिने विश्वास व्यक्त गरे ।
उनले मेघौलीलाई केन्द्रीयस्तरको पर्यकटीय स्थल बनाउन लागिपर्ने प्रतिवद्धता जनाए । मेघौली विमानस्थललाई क्षेत्रीयस्तरको विमानस्थाल बनाइने, भरतपुर–मेघौली सडकको स्तरोन्नती, थारु संग्रहालय निर्माण, गोलाघाट पुल निर्माण लगायतका काम आफ्नो कार्यकालमा पुरा गर्ने दावी गरे । नवलपुर र चितवनलाई एकिकृत विकासको मोडेलमा विकास गरिने दावी गरे । चितवन क्षेत्र नम्बर ३ (क) बाट प्रदेशसभा सदस्यका उम्मेदवार कृष्ण भुर्तेलले बाम गठबन्धनले निर्वाचन जितेलगत्तै निर्वाचन क्षेत्रको विकासले काँचुली फेर्ने दावी गरे । कार्यक्रममा हास्यकलाकार मनोज गजुरेल, टंक आचार्य, चलचित्रका द्वन्द निर्देशक राजेन्द्र खड्की, गायक चेतन सापकोटाले आआफ्नो प्रस्तुती दिएका थिए ।





