काठमाडौँ, फागुन २ ।
त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग आफ्नै भवनमा सरेको छ । केन्द्रीय विभागको बल्खुस्थित नवनिर्मित भवन ‘सरस्वती पूजा’को अवसर पारी बुधबार उद्घाटन गरिएको हो ।
यसअघि केन्द्रीय विभागको सम्पूर्ण प्रशासनिक काम तथा अध्ययनअध्यापन प्रदर्शनीमार्गमा रहेको रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर क्याम्पस)को भवनबाट हुँदै आएको थियो ।

त्रिवि उपकुलपति शिवलाल भुसालले रिबन काटेर केन्द्रीय विभागको उद्घाटन गरेका थिए । उद्घाटन सत्रमा बोल्दै उपकुलपति भुसालले नयाँ भवन बनेसँगै विभागमा नयाँ जिम्मेवारी पनि थपिएको बताए ।
“विगतमा साँघुरो कोठामा खुम्चिएर अध्ययनअध्यापन गर्नुपथ्र्याे । अब भने केन्द्रीय विभागले विशिष्ट सुविधासहितको आफ्नै भवन प्राप्त गरेको छ”, उनले भने, “विभागका साथीहरूलाई अब चुनौती पनि थपिएको छ । दिन प्रतिदिन हुने प्रविधिको विकास र उपलब्धिलाई समेटेर देशभित्र व्यवस्थित शैक्षिक अनुसन्धान भित्र्याउने काम यो विभागको काँधमा आइपुगेको छ ।”
नवनिर्मित भवनको लागत २१ करोड ५५ लाख ९५ हजार ९ सय ७३ रुपैयाँ ७२ पैसा रहेको छ । विभागले भवन निर्माणका लागि २०७६ माघ १० मा भ्याली बाबुरत्न जेभीसँग ठेक्का सम्झौता गरेको थियो ।
२०७८ पुस ३० गते भवनको काम पूरा गर्ने लक्ष्य राखिएको भएपनि कोरोना भाइरस महामारी र लकडाउनका कारण भवनको काम ढिलो गरी सकिएको हो ।

भवन निर्माण समितिका संयोजक समेत रहेका विभागका उप–प्राध्यापक डा. देवराज अर्यालले भवन निर्माणको काम सकिएपछि ठूलो राहतको सास फेरेको उल्लेख गरे ।
“कामको चरणमा रहँदा एक खालको अनिश्चिततासँग पनि जुध्नु परेको थियो । कहिलेकाहीँ लक्ष्यमा पुगिँदैन कि भन्ने सोचाइ पनि नआएका होइनन्”, उनले अगाडि थपे, “शिकारीलाई ठूलो शिकार हात पारेपछि जस्तो चैनको सास मिल्छ, भवनको काम पूरा गरिसकेपछि त्यस्तै खालको आनन्द आएको छ ।”
भवनको डिजाइनको काम त्रिभुवन विश्वविद्यालयकै इन्जिनियरिङ अध्ययन संस्थानको इन्जिनियरिङ कन्सल्टेन्सी सेवा, पुलचोकले गरेको हो । भवन डिजाइनका लागि कन्सल्टेन्सी सेवासँग विभागले २०७५ फागुन १५ गते सम्झौता गरेको थियो ।
कन्सल्टेन्सीका अध्यक्ष सह–प्राध्यापक इन्जिनियर नारायणप्रसाद गौतमका अनुसार भवनमा मल्टिमिडिया कक्ष, सेमिनार कक्ष, वातानुकुलीत कक्षाकोठा, फोटोग्राफी तथा फिल्म स्टुडियो र रेडियो स्टुडियो रहने छन् ।

यस्तै, अन्य मुलुकबाट आउने अतिथिलाई बस्नका लागि भवनमा दुई वटा अतिथि कक्ष पनि डिजाइन गरिएको गौतमले बताए ।
विभागका प्रमुख प्रा.डा. चिरञ्जीवी खनालले पत्रकारिता शिक्षामा आफूहरू अझै खरो रूपमा उत्रन आवश्यक रहेको औँल्याए । “लिफ्ट, स्टुडियो र भवन व्यवस्थापनका केही काम बाँकी नै छन्”, उन अगाडि भने, “तथापि अबदेखि सबै कक्षाको पठनपाठन यहीँबाट हुनेछन् । प्रशासनिक सेवा पनि यही भवनबाट भोलिदेखि नै लिन सकिने छ ।”
नेपालमा स्नातक तहमा पत्रकारिता विषयको पढाइ वि.सं. २०३३ मा सुरु भएको थियो । त्रिविको आंगिक क्याम्पस समेत रहेको आरआर क्याम्पसमा सो शैक्षिक कार्यक्रममा पठनपाठन सुरु गरेको हो ।
त्रिविले पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर कार्यक्रम वि.सं. २०५८ देखि सञ्चालनमा ल्याएको थियो । हाल त्रिविले पत्रकारिता विषयमा विद्यावारिधि (वि.सं. २०६७ देखि) र दर्शनाचार्य (वि.सं. २०७४ देखि) तहका कार्यक्रम पनि सञ्चालन गरिरहेको छ ।






