भरतपुर,१३ मंसिर ।नयाँ शक्ति नेपालको समानुपातिक तर्फका उम्मेदवार दानबहादुर तामाङले पार्टी परित्याग गरेका छन् । २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा पराजय भोगेपछि एमाले छाडेर नयाँ शक्ति पार्टी प्रवेश गरेका तामाङ माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
मंगलबार भरतपुर–२७ पर्साढापमा आयोजित बामगठबन्धनको चुनावी सभामा उनले माओवादी केन्द्र प्रवेश गरेको घोषणा सुनाए । “प्रचण्डलाई जिताउनुपर्छ भनेर पार्टी प्रवेश गरेको हुँ”, उनले भने, “चितवनका मतदाताले मतदान गरेर आफ्नै प्रधानमन्त्री पाउँदैछन्, त्यसैले म बामगठबन्धनलाई जताउन आएको हुँ ।” साविक चितवन क्षेत्र नम्बर ५ बाट एमालेका तर्फबाट तामाङ २ हजार ४ सय ५२ मतान्तरले तत्कालिन राप्रपाका विक्रम पाण्डेबाट पराजित भएका थिए ।
माओवादी केन्द्र प्रवेश गरेका तामाङले नयाँ शक्तिबाट देशको विकास र समृद्धि नहुने देखेरै पार्टी परित्याग गरेको बताए । “परिवारबाट विछोडिएर तड्पीए जस्तो भएको थिएँ, आज पुर्नमिलन भएजस्तो खुसी लागेको छ”, उनले भने, “साना पार्टीबाट देश विकास असम्भव छ ।” उनले वनमन्त्री तथा प्रतिनिधी सभा सदस्य उम्मेदवार विक्रम पाण्डेलाई मैदान खाली गरेर प्रचण्डलाई सघाउन आग्रह समेत गरे । यसै बीच सो कार्यक्रममा राप्रपा, राप्रपा नेपाल, र नेपाली कांग्रेसका २२ जना कार्यकता माओवादीमा प्रवेश गरेका छन् । चुनावी सभा लगतै सोही क्षेत्रको मेघौली ,तेलौली , बनकट्टा , रातापुर, गौचरन र सलौली लगाएतका स्थानमा घर दैलो गरिएको छ । माओवादी केन्द्रका अध्यक्ष तथा चितवन क्षेत्र नं. ३ का प्रतिनिधी सभा सदस्य उम्मेदवार पुष्पकमल दाहाल प्रचण्ड ,प्रदेशसभाका उम्मेदवार कृष्ण भुर्तेलले संयुक्त रुपमा घर दैलो गरेका थिए ।





