चितवन, १२ मंसिर/
चितवनमा निर्वाचन आचारसंहितमा कडाइ गरिएको छ । निर्वाचन आचारसंहित अनुगमन टोलीका प्रमुख उद्धव पुडासैनीका अनुसार मौखिम आएका उजुरीको समेत सुन्ने गरेको र आचारसंहितामा कडाइ गरेको बताउनुभयो ।उहाँका अनुसार मौखिक उजुरीको समेत तत्कालै अनुगमन गर्ने र त्यस्ता कार्य रोक्ने गरिएको छ । “अहिलेसम्म वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबाट उस्तैउस्तै मौखिक उजुरी आइरहेको छ,” पुडासैनीले भन्नुभयो – “हामीले तत्कालै टोली पठाएर नियन्त्रण गर्ने गरिरहेका छौँ ।” कतिपयले भेटेरै उजुरी गर्ने गरेको र कतिपयले फोनबाट उजुरी दिने गरेको उहाँले बताउनुभयो ।
मौखिक उजुरी आए पनि अनुगमन टोलीद्वारा त्यस्ता कार्य रोक्न टोली परिचालन गर्ने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार आइतबारमात्रै चितवनको पूर्व र पश्चिम क्षेत्रमा सार्वजनिकस्थलमा प्रचार सामग्री राखेको भनेर मौखिक उजुरी आयो ।
चितवनको क्षेत्र नम्बर १ को घट्टेटोलमा सामूहिक भोज लगाइरहेको भन्ने उजुरीसमेत आएको थियो । क्षेत्र नम्बर २ को रत्ननगर नगरपालिका–५ मा खम्बामा प्रचार सामग्री राखिएको भन्ने मौखिक उजुरी आएको थियो ।
ती उजुरी आउने बित्तिकै तत्कालै टोली परिचालन गरेर अवस्था बुझेको र नियन्त्रण गरेको सहन्यायाधिवक्ता समेत रहनुभएका अनुगमन टोली प्रमुख पुडासैनीले जानकारी दिनुभयो ।
आचारसंहितामा टोपी ज्याकेट, झोलामा कुनै पनि दलको स्टिकर, पोष्टर तथा निर्वाचन चिह्न लगाएर हिँड्न नपाइने व्यवस्था छ । सार्वजनिक स्थलमा प्रचार सामग्री राख्न नपाइने, सभाका लागि बाहेक अरु समयमा ध्वनि प्रदूषण गर्न नपाइने, धार्मिक संघसंस्थामा जुलुससभा गर्न नपाइने आचारसंहितामा उल्लेख छ ।
यस्तै बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्रै प्रचार गर्न पाइने, प्रतिनिधिसभाका उम्मेदवारले बढीमा चार वटासम्म हल्का सवारी प्रयोग गर्न पाउने तथा टिभी एवं रेडियोमा विज्ञापन बजाउँदा चौबिस घण्टामा बढीमा चार पटकसम्म एक मिनेट बराबरको मात्रै बजाउन पाउने व्यवस्था छ ।
यस्तै प्रदेशका उम्मेदवारले भने बढीमा दुई पटक अधिकतम ४५ सेकेण्डको प्रसारण गर्न पाउने व्यवस्था रहेको छ । तीनवटा निर्वाचन क्षेत्रमा नौ सिटका लागि जिल्लामा ९५ जनाको उम्मेदवारी छ । जिल्लामा मुख्य गरी वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको चुनावी प्रचार अभियानले तीव्रता पाएको देखिन्छ ।





