पर्यटन र कृषिको ‘हव’ चितवन १ मा पुरानै नेताबीच प्रतिस्पर्धा

चितवन, १२ मंसिर / विदेशीले चितवन घरभन्दा चिन्दैनन् तर, ‘सौराहा’ घर भनेर परिचय दियो भने सजिलै खुट्याउँछन् । पर्यटन व्यवसायी प्रकाश भट्टराईको अनुभव हो यो ।
त्यही सौराहा नेपालकै तेस्रो पर्यटकीय गन्तव्यको रुपमा परिचित छ । रत्ननगर नगरपालिकामा पर्ने सौराहासँगै अन्य धेरै पर्यटकीय गन्तव्य चितवन क्षेत्र नम्बर १ मा परेको छ ।
अहिले उक्त क्षेत्रमा वाम गठबन्धनबाट नेकपा एमालेका नेता सुरेन्द्र पाण्डे र लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका राजेन्द्र बुर्लाकोटी उम्मेदवार हुनुहुन्छ । “नेताको चुनावी मुद्दा पर्यटकको विकास गरिने छ भन्ने हुन्छ, तर कसरी विकास गर्ने भन्ने ठोस योजना छैन,” भट्टराईले भन्नुभयो – “भोट माग्नेभन्दा नयाँ कुरा केही छैन ।” अहिले मुग्लिन सडकजस्ता पर्यटन मार्गको दुरवस्थामा कसैको ध्यान नगएको उहाँको भनाइ छ ।

क्षेत्र नम्बर १ मा राप्ती, खैरहनी र रत्ननगर नगरपालिका पर्दछ । सौराहासँग महत्वपूर्ण पर्यटकीय क्षेत्र कुमरोज, परेवाकोट र कंकाली कोट छन् । ग्रामीण पर्यटन विकासका दृष्टिले पहाडी इलाका साविक कोराक र लोथर गाविस चेपाङको रहनसहनसँगै सुन्दर प्राकृतिक दृश्यावलोकनका लागि मनमोहक छ ।

उनीहरुको रहनसहन र संस्कृतिको अध्ययनका लागि पनि यो गन्तव्यस्थल हो । विश्व रामसार सूचीमा सूचीकृत बीस हजारी तालले पर्यटकलाई मोहित पार्छ । चित्रसारी, रमाइलो डाँडा, पञ्चकन्या, शान्तिकुञ्ज क्षेत्र नम्बर १ का आकर्षक पर्यटकीय गन्तव्य हो । कतिपय क्षेत्र पर्यटन पूर्वाधारयुक्त भइसकेका छन् भने कतिपय क्षेत्र पूर्वाधारको अभावमा गन्तव्य बन्न सकिरहेको छैन ।

चितवनको सौराहा आएका पर्यटक क्षेत्र नम्बर ३ अन्तर्गतको पटिहानी, जगतपुर, मेघौली घुम्छन् । पूर्वी चितवनको क्षेत्र नम्बर २ अन्तर्गत पर्ने सिंराइचुली, उपरदाङगढी शक्तिखोर, कालिकालगायत सुन्दर पर्यटकीय क्षेत्रमा गएर घुम्ने गरेका छन् ।

चितवन निकुञ्ज घुम्ने दुई लाख पर्यटकमध्ये ८० देखि ९० प्रतिशत चितवन क्षेत्र नम्बर १ बाटै जान्छन् । यसरी हेर्दा चितवनको क्षेत्र नम्बर १ जिल्लाको सबै क्षेत्रको पर्यटकीय केन्द्र हो ।

पर्यटन पूर्वाधारको विकास गरी पर्यटनलाई विकेन्द्रीकरण गर्न जरुरी छ भन्नुहुन्छ पर्यटन व्यवसायी जीतु तामाङ । यसतर्फ चुनावी मुद्दा बनाई व्यवहार मै काम गर्नुपर्ने तर्क व्यवसायीको छ ।

पर्यटनको मुख्य ‘हव’ सौराहा हो । सौराहासँग लुम्बिनी र पोखरालाई समेत जोडेर त्रिकोणात्मक पर्यटक विकासको योजनासमेत अघि सारिएको छ । त्यसैले चितवन क्षेत्र नम्बर १ चुनावी क्षेत्र मात्रै नभई आकर्षक पर्यटकीय केन्द्र हो भनेर नेतालाई बुझाउनु पर्ने खाँचो छ ।

 

निकुञ्ज र बस्तीको सिमाना हुँदै बग्ने राप्ती नदीलाई भरपूर उपयोग गर्न सकियो भने लोथरदेखि सौराहासम्म २० किलोमिटर क्षेत्र आफैँमा सुन्दर पर्यटकीय नगरी बन्छ । यसमा राजनीतिक इच्छाशक्ति र व्यवस्थापनको खाँचो छ ।

त्यसो त यो क्षेत्र पर्यटनसँगै कृषिका लागि पनि महत्वपूर्ण छ । यहाँको रत्ननगर, खैरहनी, भण्डारा, पिप्ले तरकारी र धानखेतीका लागि अब्बल मानिन्छ । उर्बरा भूमि र सिँचाइको पर्याप्तताले यहाँको उत्पादनमा पश्चिम चितवनजस्तो पानीको अभावमा प्रभावित हुनुपर्ने अवस्था छैन ।

त्यसैले कृषि पर्यटनको पनि उत्तिकै सम्भावना देख्नुहुन्छ, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका प्रमुख सोमनाथ घिमिरे । अहिले पनि विभिन्न जिल्लाबाट कृषि पर्यटक यो क्षेत्रमा घुमेर विभिन्न अनुभव लिएर जाने गरेका छन् ।

केरा, माछाखेती, पशुपालन, पोल्ट्रीको विकासले आर्थिक उन्नतिमा ठूलै फड्को मारेको बताउनुहुन्छ रत्ननगर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष ज्ञानबहादुर विसुराल ।
नेताले बोलेका कुरा साँच्चै व्यवहारमा लागू गर्ने हो र ठोस योजना ल्याए यो क्षेत्रको विकास खोज्न कही जानु नपर्ने उहाँको भनाइ छ ।
पाण्डे र बुर्लाकोटीबीच प्रतिस्पर्धा

पर्यटन र कृषिको महत्वपूर्ण क्षेत्र चितवन क्षेत्र नम्बर १ मा यसपालि मुख्य चुनावी प्रतिस्पर्धा वाम र लोकतान्त्रिक गठबन्धनबीच छ ।
विसं २०७० मा कडा प्रतिस्पर्धामा उत्रिएका पूर्व अर्थमन्त्री एवं एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र काँग्रेसका नेता राजेन्द्र बुर्लाकोटी नै यसपालिको प्रतिनिधिसभा सदस्यको चुनावी मैदानमा हुनुहुन्छ ।

विसं २०७० मा पाण्डेको १८ हजार ७६० र बुर्लाकोटीको मत १३ हजार ७४५ थियो । कुल पाँच हजार १५ मतले बुर्लाकोटी पराजित हुनुभएको थियो । अहिले दुवै नेता चुनावी एजेण्डासहित घरदैलोमा हुनुहुन्छ ।

वाम गठबन्धनका उम्मेदवार पाण्डे पर्यटन विकास, सडक निर्माण, पहाडी क्षेत्रको विकासका १० योजना घोषणासँगै चुनावी अभियानमा हुनुहुन्छ । उहाँले सौराहामा पूर्वाधार निर्माण गरी सौराहा लोथरलाई पर्यटन मार्गका रुपमा विकास गर्ने योजना अघि सार्नुभएको छ ।

पूर्वी चितवनमा चक्रपथ, औद्योगिक क्षेत्र, नदीमा तटबन्ध, भण्डारा मलेखुको वैकल्पिक मार्ग, अस्पताल रंगशालालगायतमा आर्थिक स्रोतको समेत परिकल्पना गरिसकेको पाण्डे बताउनुहुन्छ । कतिपय योजना प्रक्रियामा समेत गइरहेको उहाँको दाबी छ ।

उहाँहरुको चुनावी घोषणा भने पर्यटनभन्दा पनि मिश्रित पुरानै एजेण्डामा केन्द्रित छ । यता लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बुर्लाकोटीका योजनामा पनि उस्ताउस्तै नै छ ।

पर्यटन पूर्वाधारको विकास गरी सौराहालाई दोस्रो पर्यटन क्षेत्र बनाउने, सडक निर्माण, ग्रामीण क्षेत्रको चेपाङको आयआर्जन विकासका कार्यक्रम उहाँका योजनामा छन् । उहाँले घर नभएकालाई व्यवस्थित बसोबासको व्यवस्था गर्ने, प्रसूति अस्पताल, बाल अस्पताल, युवा रोजगारीको व्यवस्था गर्ने बताउनुभयो ।

क्षेत्र नम्बर १ को प्रतिनिधिसभातर्फ एक सिटका लागि १३ जनाको उम्मेदवारी छ जसमा तीन जना स्वतन्त्र छन् । वाम गठबन्धनबाट पूर्व अर्थमन्त्री तथा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे तथा लोकतान्त्रिक गठबन्धनबाट काँग्रेस नेता राजेन्द्र बुर्लाकोटी हुनुहुन्छ । काँग्रेस महासमिति सदस्य बुर्लाकोटी व्यवसायी हुनुहुन्छ ।

यस्तै अन्य उम्मेदवारमा राष्ट्रिय जनता पार्टीबाट अर्जुन बर्ताैला, राष्ट्रिय जनमोर्चाबाट ईश्वरी पौडेल, नेपाल मजदुर किसान पार्टीबाट कृष्णबहादुर तामाङ, देशभक्त जनगणतान्त्रिक मोर्चाबाट घननाथ सापकोटा छन् ।

नयाँशक्ति पार्टीबाट जनार्दन दुवाडी, विवेकशील साझा पार्टीबाट नीरज रेग्मी, संघीय समाजवादी फोरमबाट मनोज पोखरेल र मंगोल नेशनल अर्गनाइजेशनबाट वीरबहादुर गुरुङको उम्मेदवारी परेको छ ।

प्रतिनिधिसभा सदस्यमा सिंहबहादुर गोले, श्रीराम कँडेल र केशव रेग्मीले स्वतन्त्ररुपमा उम्मेदवारी दिनुभएको छ । वाम गठबन्धनले क्षेत्र नम्बर १ प्रदेश (क) मा दाबा लामा र (ख) मा कृष्ण खनाललाई उम्मेदवार बनाएको छ । लोकतान्त्रिक गठबन्धनले प्रदेश (क) मा धनबहादुर गुरुङ तथा (ख) मा उत्तम आचार्यलाई उम्मेदवार बनाएको छ ।

जिल्लामा १६१ मतदानस्थलमा ४०८ वटा मतदान केन्द्र रहेको छ । क्षेत्र नम्बर १ मा कुल ५६ वटा मतदानस्थल तोकिएको छ । तीन लाख ५४ हजार ३६ मतदातामध्ये क्षेत्र नम्बर १ मा एक लाख १९ हजार ९९८ मतदाता रहेका छन् । यसमा ५७ हजार ६९९ पुरुष र ६२ हजार २९९ महिला छन् ।(रासस)

 

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट