मकवानपुर, १७ माघ ।
मकवानपुरको हेटौंडामा जारी छैटौं संस्करणको शहीद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा न्यूरोड टिम (एनआरटी) विजयी भएको छ ।
बुधबार भएको खेलमा हिमालयन शेर्पालाई ३-० गोल अन्तरले हराउँदै एनआरटी दोस्रो चरणमा प्रवेश गरेको हो । शेर्पा गत संस्करणको उपविजेता हो । एनआरटीको जीतमा सरोज तामाङ, रोहन खड्गी र सुमित श्रेष्ठले १-१ गोल गरे । खेलको म्यान अफ द म्याच एनआरटीका सरोज तामाङ घोषित भए । उनले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगितामा बिहीबार सशस्त्र प्रहरीको एपीएफ र मच्छिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
मंगलबारको उद्घाटन खेलमा बागमती युवा क्लब सर्लाहीले भुटानको पारो फुटबल क्लबलाई ३–१ गोलले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको थियो ।
जिल्ला फुटबल संघ मकवानपुरको आयोजना भएको प्रतियोगितालाई मकवानपुरका स्थानीय तह प्रायोजन गरेका छन् । प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान बुलेट मोटरसाइकल प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । त्यस्तै विधागत उत्कृष्ट हुने खेलाडी तथा प्रशिक्षकले जनही २५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
प्रतियोगितामा एक विदेशी, नेपालका ८ वटा ए डिभिजन क्लब, आयोजक टोली सहित मोफसलका तीन गरी १२ वटा टोेलीको सहभागिता रहेको छ ।





